
काठमाडौं । आफूलाई ‘जेन-जी अभियन्ता’ भन्ने देव थापाले आज जेन-जी अगुवा मिराज ढुंगानामाथि हातपात प्रयास गरेका छन् । नक्सालमा रहेको आफ्नो कार्यालयमै आएर हुलहुज्जत गरेको ढुंगानाले बताए ।
ढुंगानाले आफ्नो राजनीतिक अभियानका सञ्चालनका लागि खोलेको कार्यालयमा थापा आज साँझ मास्क लगाएर पुगेका थिए । उनीसँग थिए जेन-जी अभियानमा संलग्न डा. जगत डिसी । थापाले ढुंगानासँग ठाडो–ठाडो कुरा मात्रै गरेनन्, विभिन्न धाकधम्की समेत दिए । सुधन गुरुङसँग किन मिल्न गएको भन्दै उनले मिराजलाई थर्काएका थिए ।
मिराजले नेपाल प्रेससँग भने, ‘उनी पहिले सुधन गुरुङको टिमबाट निकालिएका रहेछन् । मलाई बिनाकारण आएर थर्काए । गालीगलौज र दुर्व्यवहार गरे ।’
थापालाई आफूले पहिले कहिले पनि नभेटेको र ऋषि धमलाको अन्तर्वार्तामा देखेको उनले बताए ।
हिजो धमलाले थापासहित तीन जनालाई जेन-जी आन्दोलनको विषयमा अन्तर्वार्ताका लागि ल्याएका थिए । अन्तर्वार्तामा थापा मास्क लगाएरै बसेका थिए । धमलाले पटक पटक मास्क खोल्न आग्रह गर्दा पनि उनले मानेनन् । सरकारको असंवेदनशीलताको विरुद्धमा मुख छोपेर हिँडेको उनको भनाइ थियो ।

Leave a Reply