
काठमाडौं । कुलमान घिसिङको पार्टीका रुपमा चर्चामा रहेको प्रस्तावित दल हो ‘उज्यालो नेपाल पार्टी’ । यो दलले अनुपकुमार उपाध्याय अध्यक्ष रहनेगरी गत साउन २७ गते निर्वाचन आयोगमा दल दर्ताको निवेदन दियो । बलेको चिम निर्वाचन चिह्न प्रस्ताव गरेर ५१ सदस्यीय केन्द्रीय समिति रहनेगरी निवेदन दिएको तीन महिना बितिसकेको छ । तर अझै उक्त दलले दर्ता प्रक्रिया पूरा गर्न सकेको छैन ।
दल दर्ताका लागि अध्यक्षसहित ५१ जना केन्द्रीय सदस्यले आयोगमा पुगेर सनाखत गरिसकेको छ । यद्यपि ७७ जिल्लाबाट पाँच सय जनाको सनाखतको पूरा गर्न नसक्दा ‘उज्यालो नेपाल पार्टी’ दलका रुपमा कायम हुन सकेको छैन ।
आयोगका अनुसार बुधबार दिउँसोसम्म तीन सय ५९ जनाको मात्रै सनाखत भएको छ । अझै उक्त दलले दर्ता प्रक्रिया पूरा गर्न १४१ जनाको सनाखत पुर्याउनुपर्ने छ । ७७ जिल्लामध्ये जुनसुकै जिल्लाबाट भएपनि पाँच सय जनाको सनाखत सकिएपछि बल्ल आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गर्छ ।
श्रममन्त्रीमा प्रस्तावित अभियन्ता खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ ले गत कात्तिक १८ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दियो । गोलो घेराभित्र राम्रो जनाउने ‘लाइक’ चुनाव चिह्न प्रस्ताव गर्दै २१ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको थियो । २१ जना केन्द्रीय सदस्यले आयोगमा पुगेर सनाखत गरिसकेका छन् । तर, ७७ वटै जिल्लाबाट पाँच सय जनाको सनाखत अहिलेसम्म पुग्नसकेको छैन । आयोगका अनुसार बुधबार दिउँसोसम्म ३६३ जनाको सनाखत पुगेको छ । अझै दल दर्ता प्रक्रिया पूरा हुन १३७ जनाको सनाखत बाँकी छ ।
रत्नप्रसाद श्रेष्ठ अध्यक्ष रहनेगरी ‘नागरिक सर्वोच्चता पार्टी नेपाल’ दल दर्ताका लागि निर्वाचन आयोग पुग्यो । कात्तिक २१ गते निवेदन परेको यो दलले निर्वाचन चिह्न मुठीमा धानको वाला प्रस्ताव गरेको छ । केन्द्रीय समितिको सनाखत भएपनि ७७ वटै जिल्लाबाट पुर्याउनुपर्ने पाँच सय जनाको सनाखत पुर्याउन सकेको छैन । आयोगका अनुसार दल दर्ताका लागि निवेदन दिएको १२ दिन पुग्दा बुधबार साँझसम्म १९८ जनाको मात्रै सनाखत भएको छ । अन्य ३०२ जनाको सनाखत बाँकी छ ।
६ दल दर्ता दुई दल प्रमाणपत्र पाउने तयारीमा
यी तीन दलसहित निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएका र प्रक्रियामा रहेका दलको सङ्ख्या २९ छ । त्यसमध्ये अकबर खान नेतृत्वको ‘राष्ट्र निर्माण दल नेपाल’ र प्रशान्त सिंहको नेतृत्वमा रहेको ‘पिपुल फर्स्ट पार्टी’ पाँच सय जनाको सनाखत पुर्याएर दल दर्ताको अन्तिम चरणमा पुगिसकेका छन् ।
यीबाहेक बाँकी २७ दलले ७७ वटै जिल्लाबाट पाँच सय जनाको सनाखत गरेर पठाउनुपर्ने भएपनि सनाखत आइनसकेको आयोगका कानून तथा राजनीतिक दल महाशाखा प्रमुखसमेत रहेका सहसचिव यज्ञप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार जे-नजी आन्दोलनपछि मात्रै दल दर्ताका लागि निवेदन दिएका ६ दल दर्ता भएका छन् । दर्ता भएका दलमा पहिलो नम्बरमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टी, दिनेशराज प्रसाईं नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी, कबिर सोप नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, रियाज अहमद शेख नेतृत्वको राष्ट्रिय जनमत पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) रहेका छन् ।
रमणकुमार कर्ण अध्यक्ष प्रस्ताव गरिएको पत्रकार ऋषि धमला-पत्नी एलिजा गौतम र जेन-जी अभियन्ता जस्मिन ओझाको जनादेश पार्टी, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेतृत्वको समुन्नत पार्टी नेपाल, जेन-जी आन्दोलनका घाइतेलाई बोकेर चर्चामा आएकी जेन-जी अभियन्ता किशोरी कार्की नेतृत्वको नवनिर्माण पार्टी, दुर्गा प्रसाईं संरक्षक रहेको माधवप्रसाद खतिवडा नेतृत्वको नागरिक बचाउ दल नेपाललगायत २७ वटै दललाई भने ७७ वटै जिल्लाबाट पाँच सय जनाको सनाखत पुर्याउनै सकस देखिएको छ । दल दर्ताको प्रक्रियामा रहेका २७ दलमध्ये झण्डै आधा दर्जन दलले पाँच सय जनाको सनाखत पुर्याउन सक्ने आयोगको अनुमान छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद २ को दफा ५ मा दल दर्ता सम्बन्धी व्यवस्था छ । जसमा दलको विधान, घोषणापत्र, झण्डा, चिह्नको नमुना, कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता पत्र र उनीहरुको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपि सहितको हस्ताक्षर, प्रतिबद्धता जनाउने व्यक्तिले अर्को दलको सदस्य नभएको भनी गरेको उद्घोषण पत्र, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था र आयोगले आवश्यक ठानेका अन्य विवरण तथा कागजात अनिवार्य पेश गर्नुपर्नेछ ।
त्यसपछि निर्वाचन आयोगले प्राप्त गरेको निवेदनमाथि आयोगले आवश्यक जाँचबुझ गर्नेछ । दल दर्ता प्रयोजनका लागि आयोगले प्रस्तावित दलको प्रमुख पदाधिकारी वा केन्द्रीय समितिका सदस्यसँग छलफल गर्न, थप कुनै विवरण वा आवश्यक कागजात माग गर्न वा तोकिएको ढाँचामा सनाखत गराउन सक्नेछ । जाँचबुझबाट प्रस्तावित दल संविधान र ऐनबमोजिम दर्ता हुन सक्ने देखिएमा आयोगले निवेदन परेको ४५ दिनभित्र त्यस्तो दल दर्ता गरी दल दर्ता प्रमाणपत्र र दर्ता हुन नसक्ने भए त्यसको कारण खुलाई निवेदकलाई जानकारी दिनुपर्नेछ ।

Leave a Reply