विशेष महाधिवेशन पक्षधरको पत्रकार सम्मेलनमा आउँछु भनेर गएनन् गगन

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज आकस्मिक पत्रकार सम्मेलन गरेर तत्काल महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ । अब नियमित महाधिवेशनको तालिका नस्वीकार्ने विशेष महाधिवेशन पक्षधर नेताहरूको चेतावनी छ ।

अनामनगरमा भएको पत्रकार सम्मेलनमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर सङ्‍कलन गर्न अगुवाइ गरेका नेता गुरुराज घिमिरे, लेखनाथ पोखरेललगायत नेताहरू सहभागी थिए ।

आजको पत्रकार सम्मेलनमा महामन्त्री गगन थापा पनि आउने भनिएपछि अन्तिम समयमा नआएको एक नेताले बताए । उनी निकट नेता मधु आचार्यलगायत नेताहरू पनि पत्रकार सम्मेलनमा गएनन् ।

कांग्रेसमा महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्नेबारे चर्को विवाद छ । तर, महामन्त्री थापा पुसभित्र नियमित नभए विशेष महाधिवेशन गर्ने पक्षमा उभिएका छन् । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र इतर पक्षका नेता डा. शेखर कोइरालाको पनि साथ छ ।

संस्थापन पक्ष भने वैशाखमा चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा छ । चर्को विवादका बीच भोलि केन्द्रीय समिति बैठक बस्दै छ । केन्द्रीय समितिलाई दबाब दिनको लागि आज विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन राखेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *