भैरहवामा सुरु भयो सातौं लुम्बिनी महोत्सव

रुपन्देही । रुपन्देहीको भैरहवामा बुधबारदेखि सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्धन) सुरु भएको छ । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा महोत्सव सुरु भएको हो ।

‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सव मंसिर २१ गतेसम्म सञ्चालन हुने चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले बताए ।

महोत्सवले उद्योगी–व्यवसायी र उपभोक्तालाई जोड्न पुलको काम गर्ने अध्यक्ष रोक्काले बताए । उनले महोत्सवमा झण्डै ३ सय वटा स्टल रहेको जानकारी दिए । ‘महोत्सव सञ्चालनका लागि अस्थायी संरचना निर्माणमा करोडौं रुपैयाँ खर्च हुने गरेको छ, ’उनले भने–‘भैरहवामा स्थायी मण्डप आवश्यक छ । महोत्सवलाई अझै परिमार्जन र परिस्कृत गर्दै अघि लैजानुपर्ने आवश्यकता छ ।’

महोत्सवको बुधबार लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय र सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले संयुक्त रुपमा उद्घाटन गरे ।

मन्त्री पाण्डेयले सरकारले गर्नुपर्ने काम निजी क्षेत्रले गरेको र अहिलेसम्म सबैभन्दा पीडित उद्योगी–व्यवसायी रहेको बताए । ‘नेपाललाई पर्यटन क्षेत्रको माध्यमबाट नै आर्थिक समृद्धितर्फ लैजान सकिन्छ, ’उनले भने–‘नेपाललाई पर्यटनको देश प्रकृतिले नै बनाइदिएको छ । आर्थिक समृद्धिको आधार पर्यटन हो ।’

पर्यटकलाई सहज रुपमा नेपालमा भित्र्याउनुपर्नेमा उनले जोड दिए । ठाउँठाउँमा चेकिङका नाममा पर्यटकलाई दुःख दिन नहुने मन्त्री पाण्डेयको भनाइ छ । उनले मेला–महोत्सवका बेला मात्रै स्थायी मण्डपका कुरा नगर्न आग्रह गर्दै स्थानीय सरकारले जग्गाको खोजी गरे प्रदेश सरकारले मण्डप निर्माणका लागि बजेट बिनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले सिद्धार्थनगर, रोहिणी, ओमसतिया, मायादेवी र सियारी मिलेर उपमहानगरपालिका÷महानगरपालिका बनाउनुपर्ने बताए । उनले आर्थिक मन्दीको बेला पनि चेम्बर अफ कमर्श, रुपन्देहीले महोत्सवको आयोजना गर्ने हिम्मत गरेर उद्योगी–व्यवसायीलाई उर्जा प्रदान गरेको बताए ।

लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.) ले स्थानीय बजार प्रवद्र्धनका सामान स्थानीय बजारमा नै खरिद गर्न आग्रह गर्दै उद्योगी–व्यवसायीका मर्का बुझ्ने गरी सरकारले निर्णय गर्नुपर्ने बताइन् । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले हरेक आन्दोलनको पहिलो शिकार निजी क्षेत्र हुने गरेको र आन्दोलनको नाममा निजी संस्थामाथि प्रहारले कसैलाई हित नगर्ने जनाए ।

महोत्सवको उद्घाटन समारोहअघि भैरहवाको देवकोटाचोकदेखि औद्योगिक जनचेतना र्‍याली निकालिएको थियो । उक्त र्‍याली बैंक रोड, मिलनचोक, नारायणपथ, बुद्धचोक हुँदै अञ्चलपुर (महोत्सवस्थल) मा पुगेर समापन भएको संस्थाका सचिव कृष्णप्रसाद पाण्डेले बताए । र्‍यालीमा विभिन्न संघ–संस्था तथा विद्यालयहरुको सहभागिता थियो ।

सातौं लुम्बिनी महोत्सवमा करिब १ करोड खर्च हुने र करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएका छन् । त्यस्तै महोत्सवमा करिब ५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *