
काठमाडाैं । बाराको सिमरामा जेनजी प्रदर्शनकारीहरुले गरेको अवरोधका कारण एमाले नेताहरु शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायत नेताहरु काठमाडौंमै रोकिए । उनीहरु उड्न लागेको विमानबाट ओर्लिनुपर्यो ।
उता बारा जिल्लाको सिमरामा रहेको विमानस्थलमै जेनजी प्रदर्शनकारी र एमाले समर्थित युवाहरुबीच झडप समेत भयो । झडपमा बारा जिल्ला जेनजी संयोजक सम्राट उपाध्यायसहित पाँच-सात जना जेनजीहरु घाइते भए । एकजनाको वीरगन्जमा उपचार भइरहेको छ भने उपाध्याय लगायत जेनजी युवाहरू स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अहिले सिमरामा स्थिति बिग्रन नदिन प्रशासनले कर्फ्यू लगाएको छ ।
बिहान भएको के हो त ? बिहानको झडपको घाइते तथा जेन-जीको बारा जिल्ला संयोजक उपाध्यायले विस्तारमा बताएका छन् । उपाध्यायको भनाइ यस्तो छ:-
‘सिमरामा हाम्रो कार्यक्रम पूर्वनिर्धारित थियो । ‘निवर्तमान केपी शर्मा ओली नेतृत्वको हत्यारा सरकारलाई कारबाही गर’ भन्दै प्रदर्शन गर्ने कार्यक्रम थियो । हामी ठूलो संख्यामा पनि थिएनौं । जम्मा १०÷११ जनाको टोली थियौं ।
सिमरा बजारको मेन चोकमै सांकेतिक विरोध प्रदर्शन गर्ने तय भएको थियो । उनीहरुको कार्यक्रम हाम्रो कार्यक्रमबाट २० किलोमिटर टाढा परवानीपुरमा थियो ।
हामीले प्रदर्शन गरिरहँदा शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतहरु पनि बारा जिल्लामा आउँदैछन् भन्ने थाहा पायौं । के कसो गर्ने भनेर सरसल्लाह गर्दै थियौं । यही बेला एमालेको २०÷२५ जना कार्यकर्ता आए । उनीहरुले हाम्रो प्रदर्शन बिथोल्न खोजे । सरसल्लाह गरौं भन्दै थियौं, अचानक हात हाले ।
उनीहरु ठूलो संख्यामा भएकाले हामीलाई पिटे । पाँच सातजना घाइते भयौं । एकजना सौरभ भन्ने साथी त गम्भीर घाइते भएकाले वीरगन्ज लगेर उपचार भइरहेको छ । उसको पेटमा छुरा रोपेजस्तो देखिन्छ । छुरा नै हानेको भनेर यकिन त भएको छैन, तर एक पिस मासु नै छैन उसको पेटमा ।
हामीमाथि एमाले कार्यकर्ताले कुटपिट गरिरहँदा प्रहरीले पनि हामीलाई नै पिट्यो । यसपछि सिमराबासी दाजुभाइहरु भेला भए । उहाँहरुले हामीलाई साथ दिनुभयो । अनि एमालेका कार्यकर्ताहरु भागेर एयरपोर्टभित्र छिरे ।
हामी जेनजी साथीहरु र सिमराबासी भएर एमालेका कार्यकर्ताहरुलाई लखेट्दै एयरपोर्टसम्म पुग्यौं । उनीहरु भित्र छिरिहाले । हामीले बाहिरैबाट नाराबाजी गर्यौं । कोही पनि गेटभित्र छिरेका छैनौं । तर, अहिले हामीलाई बदनाम गराउने काम भइरहेको छ ।

Leave a Reply