महेश बस्नेतलाई मधेशमा निषेध गर्न सरकारसँग जेन-जी प्रदेश संयोजक शिव यादवको माग

काठमाडौं । जेन-जी प्रदर्शनकारीको अवरोधका कारण आज शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायतका नेता काठमाडौंबाट उड्न लागेको विमानबाट ओर्लनुपर्‍यो । बाराको सिमरा विमानस्तस्थलमै प्रदर्शनकारी र एमाले समर्थित युवाबीच झडप समेत भयो । स्थिति बिग्रन नदिन भन्दै प्रशाासनले कर्फ्यू लगाएको छ ।

आजको सम्पूर्ण घटनाको कारक एमाले र एमालेका कार्यकर्ताहरू रहेको जेन-जी मधेश प्रदेश संयोजक शिव यादवको दाबी छ । उनका अनुसार आज बिहान बाराको सिमरामा जेन-जीहरूको कार्यक्रम थियो । कार्यक्रमको संयोजन बारा जिल्ला संयोजक सम्राट उपाध्याय लगायतले गरिरहेका थिए । पूर्वनिर्धारित कार्यक्रम अनुसार बिहान १० बजे शान्तिपूर्ण कार्यक्रमका लागि उनीहरु भेला भएका थिए ।

यादवले भने, ‘हाम्रो कार्यक्रमस्थलदेखि महेश बस्नेतहरूको कार्यक्रमस्थल परवानीपुर २० किलोमिटर टाढा थियो । तर, हाम्रा साथीहरूले गरेको कार्यक्रममा एमालेका कार्यकर्ताहरु आएर हाम्रा साथीहरुलाई कुटपिट गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।’

आफूहरूले कसैको अभिव्यक्ति स्वतन्त्रतालाई नरोकेको र एमालेका कार्यकर्ताहरूले आफूहरूलाई रोक्न खोजेको संयोजक यादवको भनाइ छ । आफूहरू एमालेको कार्यक्रममा गएर लफडा नगरेको तर, एमालेका कार्यकर्ताहरूले आफूहरूको कार्यक्रम बिथोल्न खोजेकाले प्रतिकार गरेको उनले दाबी गरे ।

यादवले त फेसबुक स्टाटस लेखेर एमाले नेता बस्नेतलाई मधेश प्रदेशमा निषेध गर्न सरकारसमक्ष माग समेत गरेका छन् ।

यस्तो भड्काउ अभिव्यक्ति दिन दिनुभएको ? भन्ने प्रश्नमा उनले भने, ‘उहाँ (महेश बस्नेत) को पछिल्ला अभिव्यक्तिहरू एकदमै अराजक छन्, गालीगलौज मात्रै छन् । त्यस्तो भाषा मधेश जस्तो अति नै संवेदनशील ठाउँमा प्रयोग हुँदा मधेश अशान्त हुनसक्छ । मधेशमा आन्दोलन सुरू भयो भने त्यो धेरै लामो समयसम्म जान सक्छ । त्यसैले उहाँलाई मधेश प्रदेशमा रोक्नलाई सरकारसँग माग गरेका हौँ ।’

एमालेले जेन-जीहरूलाई दबाउन खोज्दा प्रतिकार भएको र त्यसक्रममा बारा जिल्ला संयोजक उपाध्यायसहित चार-पाँच जना जेनजी युवा घाइते भएको यादवले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *