
काठमाडौं । मंगलबार राजधानीमा ‘स्टुडेन्ट अफ द इयर’ नामक एक रियालिटी शोको पत्रकार सम्मेलन गरियो। केही समयअघिमात्र तामाझामका साथ प्रोमो सार्वजनिक गरिएको यो रियालिटी शोको पत्रकार सम्मेलन पनि राम्रै हिसावले समापन हुने सायद आयोजक टिमको सोचाइ थियो। तर माहोल सोचे अनुरुप भएन।
शोको जज रहेकी अभिनेत्री प्रियंका कार्की र आयोजक टिमबीच कार्यक्रममै कुरा मिलेन। अनि कार्यक्रम बीचमै भाडिँयो। कार्यक्रमको सुरुवातमै भोटिङको विषय उठेपछि प्रेसमिट गरमागरम बनेर गयो । कार्यक्रममा आयोजकमध्येका एकले भोटिङ हुने कुरा बताएपछि प्रियंकाले तत्कालै विमति जनाइन् र भोटिङ सिस्टम हुने भए आफूले शो नै नगर्ने बताइन्।
ट्यालेन्ट मान्छेहरु भोटिङकै कारण जहाँ पुग्नुपर्ने हो, त्यहाँ पुग्न नसक्ने र ट्यालेन्ट पैसाले मापन हुने भएकाले यस्ता कार्यक्रम नगर्ने प्रियंकाको भनाइ थियो। शोमा होस्ट रहेकी मोडल तथा टिकटकर इभा गिरीले पनि कार्यक्रममा राखिने भोटिङ सिस्टमप्रति आपत्ति जनाएकी थिइन्।
आयोजकले ४० प्रतिशत प्रतिस्पर्धी जुरीले छान्ने र ६० प्रतिशत भोटिङबाट छानिने बताएपछि प्रियंका कड्किइन् र कार्यक्रम राम्ररी सुरु पनि नभइ, समापन भयो। शोको मुख्य जज प्रियंकाले भोटिङ सिस्टमप्रति नै विमति जनाएपछि अहिले शोको भविष्य अन्यौलग्रस्त बनेको छ । कार्यक्रममा अब भोटिङ सिस्टम हुन्छ या हुँदैन अथवा कार्यक्रमले कुन मोड लिन्छ भन्ने धेरैको चासोको विषय बनेको छ।
‘यसैबारे कुरा गर्न हामीले आयोजक टिमसँग सम्पर्क गर्यौ। आयोजक टिमको अनुसार आज केही समयमा कार्यक्रमबारे आधिकारिक नोटिस आउनेछ, जहाँ सबै कुरा उल्लेख गरिनेछ। टिमबबीच छलफल भइरहेको आयोजनकले जनाएको छ । अहिले नै के हुने भन्ने ठ्याक्कै भन्न नसकिने आयोजकको भनाई छ।
भोटिङ सिस्टम हटाउने सोच्नुभएको छ वा जज नै परिवर्तन गर्ने सोचिरहनु भएको छ ? भन्ने प्रश्नको जवाफ दिदै आयोजक भन्छन, ‘त्यस्तो केही सोचेका छैनौ। हामीले हाम्रो कार्यक्रमलाई कसरी सहज ढंगले अगाडी लान सकिन्छ भन्ने सोचेर छलफल गरिरहेका छौ। कुरा रह्यो भोटिङ सिस्टमको, यो भनेको वल्र्डवाइड चलिरहेको प्राक्टिस हो। यो कुरालाई त्यति ठुलो विषय बनाउनु पर्दैन।’
वल्र्डवाइड चलिरहेको प्राक्टिस भएकाले ठुलो विषय नभएको बताउनु नै भोटिङ सिस्टम रहनु संकेत हो। यदि शोमा भोटिङ सिस्टम भए प्रियंकाले के गर्लिनरु उनी यो शोमा बस्लिन वा छाड्लिन। यसबारे बुज्न खोज्दा प्रियंकाको फोन उठेन।
यता ‘स्टुडेन्ट अफ द इयर’ की होस्ट इभा गिरीले भने शोमा पुर्ण रुपमा भोटिङ सिस्टम भए आफूले छाड्ने बताएकी छिन्। उनले सकेसम्म आयोजक टिमलाई मनाउन कोशिस गर्ने बताएकी छिन्। आयोजक टिमले १२ घन्टाभित्र छलफल गरेर आफ्नो प्रतिक्रिया दिने भनेकाले अहिले नै के हुन्छ वा गर्ने भन्ने भन्न नसकिने उनको भनाई छ।

Leave a Reply