‘भोटिङ हुन्छ भने म बस्दिनँ’ भन्दै प्रियंका कड्किएपछि भाँडियो नयाँ रियालिटी शोको प्रेसमिट

काठमाडौं । केही समयअघि तामाझामका साथ एक रियालिटी शोको प्रोमो सार्वजनिक गरियो, ‘स्टुडेन्ट अफ द इयर’ । तीन साता अगाडि ओएसआर रियालिटी नामक युट्युब च्यानलमार्फत् कार्यक्रमको प्रोमो सार्वजनिक गरियो भने हिमालयन टेलिभिजनमार्फत् प्रशारण हुने बताइयो।

यस रियालिटी शोको जज थिए, अभिनेत्री प्रियंका कार्की, बैंकर अनिल केशरी शाह र युवा वैज्ञानिक दाबी गरिएका आरिफ अलि । १३ देखि २१ वर्षसम्मको उमेरका विद्यार्थी सहभागी हुन पाउने यस कार्यक्रमको प्रस्तोता थिइन् टिकटकर इभा गिरी ।

हिजो आयोजकले एक प्रेसमिटको आयोजना गर्‍यो। कार्यक्रममा जजमध्येकी एक कार्की उपस्थित थिइन् । अनिल शाह र आरिफ अलि उपस्थित थिएनन्। कार्यक्रमको सुरुवातमै भेटिङको विषय उठेपछि प्रेसमिट गरमागरम बनेर गयो । आयोजक सदस्यले भने, ‘भोटिङ हुन्छ, शीर्ष २०० जनाबाट शीर्ष ४० मा आइपुगेपछि भोटिङ सुरु हुन्छ ।’

भोटिङ हुने विषयमा कार्कीलाई जानकारी गराइएको रहेनछ । तत्कालै कार्कीले विमति जनाइन्, ‘भोटिङ हुन्छ भने यो शो म गर्दिनँ । मैले पहिले पनि तीन चारवटा अन्तर्वार्तामा पैसामा भोटिङ हुने रियालिटी शो गर्दिनँ भनिसकेकी छु ।’

यसपछि पत्रकारहरु आयोजकतिर तेर्सिन्छन् । सोध्छन्, ‘तपाईंहरुले क्लियरली भनिदिनुपर्यो, भोटिङ हुन्छ या हुँदैन ?’ आयोजक सदस्यले भन्छन्, ‘सुरुवातमा खल्ती युजरले केही भोट फ्रिमै गर्न पाउने व्यवस्था छ । त्यसका लागि तपाईं खल्ती युजर हुनुपर्छ ।’

पत्रकारले पुनः सोध्छन्, ‘त्यो त सबै रियालिटी शोमा हुन्छ नि । पैसा हालेर भोट गर्ने हो कि होइन, त्यो चाहिँ भन्दिनुस् ।’

आयोजक सदस्य बोल्छन्, ‘जुरीले ४० प्रतिशत छान्छन् । ६० प्रतिशत भोटिङबाट छानिन्छन् ।’

यसपछि कार्की कड्किइन्, ‘यदि यहाँ भोटिङ हुन्छ भने म यो शोमा रहन्नँ । दुई तीनवटा भोटिङवाला शो गरेपछि मेरो मन मरेको छ । ट्यालेन्ट मान्छेहरु भोटिङकै कारण जहाँ पुग्नुपर्ने हो, त्यहाँ पुग्न सकेनन् । म प्रतिस्पर्धीसँगै रोएकी छु । मैले भाइ बहिनी बहिनीका लागि धेरै फाइट गरेकी छु । मैले अहिले गरिरहेको एउटा शो रोडिज हो । त्यहाँ पैसाको चलखेल छैन । यदि यहाँ पैसाको चलखेल छ भने म यो शो गर्दिनँ ।’

यसपछि आयोजक सदस्यले प्रेसमिट समापन गर्छन्, ‘यो विषयमा हाम्रो टिम बसेर जजहरुलाई जानकारी गराएका थिएनौं । यस विषयमा हाम्रो टिम फेरि बसेर थप निर्णय लिनेछ । यति भन्दै आजको पत्रकार सम्मेलन यहीँ सकिएको घोषणा गर्दछु । धन्यवाद ।’

यसपछि उनी सबैलाई खाजा खाएर जान अनुरोध गर्छन् । बुझिए अनुसार यस रियालिटी शोले झापाको बिर्तामोडमा एउटा अडिसन सकाइसकेको छ । अन्य सहरहरुमा पनि अडिसन लिने योजना आयोजकको थियो । तर, मुख्य जज कार्कीले भोटिङ सिस्टमप्रति नै विमति जनाएपछि शोको भविष्य अन्यौलग्रस्त बनेर गएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *