कुकुरले शव लिएर हिंडेपछि युवती पक्राउ

रुपन्देही । परपुरुषसँगको अवैध सम्बन्धमा जन्मेको शिशु फालेको आरोपमा प्युठान प्रहरीले युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ। प्युठान, गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरकी २१ वर्षीया बिपना सुनारलाई जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको हो ।

मंसिर १ गते बिहान शिशुको शव कुकुरले झुण्डाउँदै हिँडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले दिएको सूचनापछि प्युठान प्रहरीले नवजात शिशुको शव खोसेर अनुसन्धान थालेको थियो । प्रहरीले अनुसन्धानबाट शिशु बिपना सुनारको भएको खुलेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले बताए ।

प्रहरी निरीक्षक भट्टराईका अनुसार कुकुरले डुलाउँदै गरेको नवजात शिशुको शव खोसेर अनुसन्धान गर्ने क्रममा बिपना सुनारले परपुरुषसँगको सम्बन्धबाट छोरीलाई जन्म दिएपछि बुक्तिचौरस्थित गहुँ बारीमा फालेको भन्ने खुलेपछि उनलाई सोही दिन दिउँसो पक्राउ गरिएको हो ।

अनुसन्धानमा बिपनाले चार दिनपहिले छोरीलाई जन्म दिएपछि पोल खुल्ने डरले गहुँ बारीमा फालेको बयान दिएकी छन् । बिपनाकी श्रीमान विदेशमा छन् । नवजात शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवारमा पठाइएको छ। पोष्टमार्टमपछि नवजात शिशुको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *