
काठमाडौँ । कात्तिक २२ गतेदेखि अस्तव्यस्त बनेको मधेश प्रदेशको राजनीति अझै संंग्लिएको छैन । प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्ति, प्रदेश प्रदेश केन्द्र सरकारबाट पदमुक्ति, मुख्यमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा र सडकमा दशौँ दिनको आन्दोलन चलिरहँदा सात राजनीतिक दलले सभामुख रामचन्द्र मण्डललाई अविश्वासको प्रस्ताव दर्तासँग प्रदेश सभा बैठक आह्वान गर्न उपसभामुख बबिता राउत ईशरलाई पत्र दिएका छन् ।
आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ । उपसभामुख ईशरले मधेश प्रदेश सभाको बैठक आह्वान गरेकी हुन् । बैठकमा सभामुखले पदअनुकल आचरण नगरेको प्रस्तावमाथि छलफल हुनेसहितको व्यहोराका सूचना प्रदेश सभा सदस्यहरुलाई पठाइएको छ । मधेश प्रदेश सभाको बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले उपसभामुख बबिता राउत ईशरलाई मंगलबार पत्र बुझाएका थिए ।
नेकपा संसदीय दलका नेता भरत साहले प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उपसभामुख बबिता राउतसमक्ष प्रदेशसभा बैठक बुधबार आह्वान गर्न माग गरेका थिए ।
प्रदेशसभा सदस्य साहले २५ प्रतिशत प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गरेर बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेको र प्रदेशसभा बैठकबाटै सभामुखविरुद्धको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडि बढाउने उद्देश्यले यस्तो माग गरेको साहको भनाइ छ ।
त्यसअघि उपभामुख ईशरले २५ प्रतिशत भन्दा बढी सात दलका प्रदेश सभा सदस्यले प्रदेश सभामा भौतिक उपस्थित भई सभा सञ्चालन गर्न आग्रह गरेको र कानूनी बाध्यतासमेत रहेकाले १० बजे कार्य व्यवस्था परामर्श समितिको र १ बजे प्रदेश सभाको बैठकको सूचना प्रकाशन गर्न निर्देशन गरेकी थिइन् ।
सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाको बैठक आह्वान गर्ने जिम्मेवारी सचिवको रहेको बताउँदै बैठक आह्वान विधि र प्रक्रिया मिचेर उपसभामुखले आह्वान गरेको प्रतिक्रिया दिएका छन् । उनीमाथि अविश्वासको प्रस्ताव दर्ता भएको सात दिन पुगेको छ । बहुमत प्रदेश सभा सदस्यहरु एमालेलाई एक्लो पारेर अघि बढेका छन् ।
नेकपा एमाले पक्षधर पनि शक्ति प्रदर्शनसहित सडकमा आएको छ र सात दल पनि आन्दोलनरत रहेको अवस्थामा आजको बैठकको निर्णय कस्तो आउने हो र मधेशको राजनीति कुन मोडमा पुग्ने हो भन्ने चासो सबैतिर छाएको छ ।

Leave a Reply