
काठमाडौं । चलचित्र ‘धागो’ फ्लप भएको छ । गत शुक्रबारबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको यो चलचित्र अहिले हलबाट उत्रिसकेको छ । सुरक्षा पन्त अभिनित यस चलचित्र आएको र गएको दर्शकलाई पत्तै भएन ।
चलचित्रको प्रचारप्रसारमा पनि निर्माण टिमले उस्तो जाँगर देखाएको थिएन । एकैपटक हलहरुमा लागेको भनेर फाट्टफुट्ट समाचारहरु बाहिरिएका थिए । सुरक्षा पन्तले फेसबुकमार्फत् झण्डै दुई मिनेटको भिडियो सार्वजनिक गर्दै आफ्नो चलचित्र लागेको जानकारी दिएकी थिइन् ।
सुस्त प्रचारप्रसार भएको यो चलचित्र फ्लप भएपछि सुरक्षा पन्तलाई गम्भीर धक्का लागेको छ । यस वर्षको सुरुवात नै पन्तले फ्लप चलचित्रबाट गरेकी थिइन् । गत वैशाख १२ मा प्रदर्शनमा आएको उनको ‘खेल’ नामक चलचित्र सुपरफ्लप भएको थियो । त्यसबेला चलचित्रले भन्दा सुरक्षाको कन्ट्रोभर्सीले चर्चा पाएको थियो ।
यो बीच पन्तका अन्य दुई चलचित्र पनि प्रदर्शन भए, ‘कोसेढुङ्गा’ र ‘जेरी अन टप’ । ‘कोसेढुङ्गा’ ले अपेक्षित व्यापार गर्न सकेन भने ‘जेरी अन टप’ बाट अनमोल केसी र जसिता गुरुङले सम्पूर्ण क्रेडिट लिएर गए । यसपछि आएको उनको चौथो चलचित्र ‘धागो’ हलबाट पानी समेत भन्न नपाई उत्रिएको छ ।
‘धागो’ मा पन्तका अलवा उदिप राना थापा, सुरभी थापा, प्रभात थापा, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको थियो । अहिले हलहरुमा ‘परान’, ‘जारी २’, ‘मनबिनाको धन’ र ‘जेरी अन टप’ प्रदर्शनरत छन् ।

Leave a Reply