दल दर्ताको तयारीमा एमाले, निर्वाचन विभाग प्रमुख भन्छन्- अध्यक्षको निर्देशन पर्खाइमा छौँ

काठमाडौं । सरकारले फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गराउने कुरामा शंका व्यक्त गरिरहेको नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ताको तयारी भने गरेको छ ।

एमालेका केन्द्रीय निर्वाचन विभाग प्रमुख निरज आचार्यले दल दर्ताका निम्ति आवश्यक पर्ने सम्पूर्ण कागजात तयार रहेको बताएका हुन् । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट निर्देशन पाएपछि मात्रै आफूहरू आयोगमा जाने उनले बताए ।

‘अध्यक्षलाई सोधेर, उहाँलाई सबै डकुमेण्ट देखाएर हामी जान्छौँ, सबैथोक तयार छ’, उनले भने ।

एमालेले विघठित प्रतिनिधिसभाका सदस्यहरूको बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बोलाएको छ । उक्त बैठकमा अध्यक्ष ओली पनि सहभागी छन् । निर्वाचन विभागका पदाधिकारी र कानून क्षेत्रका अगुवाहरु पनि दल दर्ता प्रयोजनका लागि अहिले पार्टी कार्यालयमै रहेको आचार्यले बताए ।

उनले भने, ‘हामी निर्वाचनमा भाग लिदै लिन्नौँ भनेका छैनौँ, यो सरकारको काम, कारवाही निर्वाचन गराउने नियतका साथ अगाडि बढेको छैन भनेका हौँ’, उनले भने, ‘यदि निर्वाचन भएछ भने त्यसमा एमाले सहभागी नहुने भन्ने कुरै हुँदैन ।’

फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्नका लागि निर्वाचन आयोगले मंसिर १० गतेसम्म राजनीतिक दलहरुलाई दर्ताको समय दिएको छ । मंगलबारसम्म आयोगमा १२ दल दर्ता भएका छन् । बुधबार पनि दल दर्ताका निम्ति विभिन्न दलका प्रतिनिधि आयोग पुगिरहेका छन् । त्यसमध्ये एमालेले पनि कागजात तयार पारेको आचार्यले बताए ।

विघठित प्रतिनिधिसभाका मुख्य दलमध्ये नेपाली कांग्रेस र नेकपा एमालेले हालसम्म दल दर्ता नगर्दा उनीहरुले निर्वाचनमा भाग लिन्छन् कि लिँदैनन् भन्ने प्रश्न उठ्ने गरेको थियो ।

विघठित प्रतिनिधिसभाको तेस्रो दल नेकपा माओवादी केन्द्रले विभिन्न वामपन्थी दलसँग एकता गर्दै नेपाली कम्युनिष्ट पार्टीका नाममा नयाँ दल दर्ता गरेर चुनावमा भाग लिने भएको छ । रास्वपाले मंगलबार दल दर्ता गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *