
काठमाडौं । कञ्चचनजङ्घा हिमालको फेदमा उत्पति भएर विस्तारै फैलिंदै दक्षिण-पूर्वतर्फ बसाइँ सर्दै आउने क्रममा सिक्किमको नाम्चीदेखि इलामको पूर्वी दक्षिणभागसम्म बसोबास गर्दै आएका लोपोन्मुख जाति हुन् लाप्चा । तीन हजार पाँच सय ७८ कुल जनसङ्ख्यामध्ये पुरुष एक हजार सात सय ६८ र महिला एक हजार आठ सय दश रहेका छन् ।
लाप्चा समुदायका आफ्नै रैथाने अभ्यास छ जुन अन्य समुदायको भन्दा पृथक, रहरलाग्दा र ऐतिहासिक छन् । समाजमा महिलाको स्थान पुरुषको भन्दा उच्च छ । घरपरिवारमा सबै मातृसत्तात्मक अभ्यास हुन्छ तर नेपाली समाज पितृसत्तात्मक भएकाले सामाजिक रुपमा भने पुरुषले नै परिवारको नेतृत्व गर्दछन् ।
यिनै लोपोन्मुख लाप्चाजातिको बारेमा समाजशास्त्र, मानवशास्त्र विषयका उपप्राध्यापक अर्जुन उप्रेतीले तीन-चार वर्षसम्म सामाजिक तथा सांस्कृतिक अभ्यासको अध्ययन गरेर ‘द लाप्चा’ (द डिसापियरिङ पिपल अफ इस्ट नेपाल) पुस्तक प्रकाशन गरेका छन् । पुस्तकमा लाप्चा समुदायको भाषा, जन्म, मृत्यु र विवाह संस्कार, लोकरीति र परम्परा, धार्मिक विश्वास र सामाजिक सांस्कृतिक मूल्यमान्यता जस्ता विषयलाई बहुआयामिक रुपमा समेटिएको छ ।

‘लाप्चा नेपालका सीमान्तकृत लोपोन्मुख आदिवासी जननजाति हुन् । यिनीहरुको मुख्य बासस्थान पूर्वी नेपालको इलाम जिल्लाका पूर्वी-दक्षिण गाउँपालिका तथा नगरपालिका क्षेत्र र झापा जिल्लाको बुद्धशान्ति गाउँ पालिका हो । सोझो सरल स्वभाव, अन्य समुदायको भन्दा फरक, भाषा, संस्कार र शैली भएका लाप्चाहरु हिंसा विरोधी र अत्यन्त मिजासिला र सामाजिक सौहार्दता बोकेका जातिमा पर्दछन् ।’ उपप्राध्यापक उप्रेती भन्छन्, ‘ उनीहरु हिंसा विरोधी हुनुमा उनीहरुको ऐतिहासिक पृष्ठभूमि महत्वपूर्ण छ । जहाँ अन्तिम लाप्चा राजा सिगम (पुनु) ले कोच समुदायसँग युद्धविराम सम्झौता गरे । थप द्वन्द्वबाट टाढा रहने प्रतिज्ञा गरे । यो प्रतिबद्धताले लाप्चा समुदायभित्र उच्चस्तरको सामाजिक सद्भावलाई बढावा दियो ।’
उनका अनुसार लाप्चा समुदायभित्र एक विशिष्ट विवाह प्रचलन प्रचलित छ । जहाँ विवाह गर्न चाहने युवाले विवाहलाई अनुमति दिनुअघि आफ्नो रोजेको दुलहीको घरमा एक वर्ष बिताउनु पर्छ । उनको परिवारले उनीहरूको विश्वास कमाउन तोकेका कार्यहरू गर्नुपर्छ । समुदायको नेतृत्व बुङथिङ (पुजारी) र याबा (शमन) द्वारा प्रदान गरिन्छ । जसले समाजको सांस्कृतिक अभ्यास र परम्पराहरूलाई मार्गदर्शन गर्छन् । तिनीहरूको निरन्तरता र पालना सुनिश्चित गर्छन् ।

लाप्चाका लोकनृत्यहरू केवल प्रस्तुतिका लागि मात्र होइनन् । समुदायको सांस्कृतिक पारिस्थितिकीको अभिन्न अङ्क हुन् । तिनीहरूले ऐतिहासिक कथाहरू, कृषिलयहरू र सामाजिक मूल्यहरूलाई समेट्छन् । लाप्चा सम्पदाको मूर्त अभिलेखको रूपमा काम गर्छन् ।
तथ्यअनुसार इलाममा बसोबास गर्ने लेप्चा जातिहरु नेपाल एकीकरणमा गोर्खाली फौजलाई सघाउँदै १८५६ देखि लालमोहर पाएर इलाम जिल्लाको सूर्योदय नगरपालिकामा बसोबास गर्दै आइरहेका छन् । अगुवा लेप्चालाई १८९५ मा काजी सुब्बाको दर्जा दिइएको पाइन्छ ।
मञ्जरी प्रकाशनद्वारा प्रकाशित पुस्तक एक सय ३० पृष्ठको छ । पुस्तकको मूल्य तीन सय रुपैयाँ रहेको छ ।

Leave a Reply