राजदूत शिवमायाबारे सरकारका प्रवक्ताको टिप्पणीले कोरियाका नेपालीबीच खैलाबैला

सिओल । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले दक्षिण कोरियाका लागि नेपाली राजदूत डा.शिवमाया तुम्बाहाम्फेका बारेमा गरेका टिप्पणीलाई लिएर कोरियाका नेपालीहरुबीच खैलाबैला र आरोप प्रत्यारोप चलेको छ ।

गत साता कोरिया भ्रमणमा रहेका बेला मन्त्री खरेलले राजदूत शिवमाया ‘कामको आधारमा नभई प्रधानमन्त्रीकै आग्रहमा महिला राजदूतलाई फिर्ता नबोलाउने नीतिबमोजिम जोगिएको’ बताएका थिए । सरकारले विभिन्न देशका राजदूत फिर्ता बोलाउने क्रममा डा.शिवमायालाई भने यथावत राखेको थियो ।

उनी एमाले स्थायी कमिटी सदस्य भए पनि महिला भएको र कुनै विवादित गतिविधिमा संलग्न नरहेकाले फिर्ता नबोलाएको प्रधानमन्त्रीले केही दिनअघि बताएकी थिइन् ।

कोरियाको भ्रमणका क्रममा त्यहाँ रहेका नेपाली संघ–संस्था, व्यापारी, मजदुर तथा विद्यार्थीहरूसँग गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा मन्त्री खरेलले दिएको यो अभिव्यक्तिले त्यहाँका नेपालीहरुबीच आरोप प्रत्यारोप समेत चलेको थियो । राजदूतवको बारे कोरियाका नेपालीहरु राजनीतिक आधारमा विभाजित छन् ।

खासमा मन्त्री खरेल कोरियास्थित नेपाली राजदूतावाप्रति सन्तुष्ट नभएको उनका अभिव्यक्तिले प्रष्ट पारेको थियो । आफूले कोरियामा आयोजना हुने कार्यक्रमको पत्र तीन साता अगाडि पठाए पनि कुनै मन्त्रीस्तरीय भेटघाट वा सम्झौता तय गर्न नसकिएको भन्दै राजदूत र दूतावासप्रति मन्त्रीले असन्तुष्टि जनाएका थिए ।

तर दूतावासले भने मन्त्री आउने जानकारी पत्र नोभेम्बर ५ तारिखमा मात्र प्राप्त गरेको जनाएको छ । मन्त्रीको भ्रमणबारे जानकारी आए पनि कुनै द्विपक्षीय सम्झौता वा सहयोगबारे परराष्ट्र मन्त्रालयबाट कुनै जानकारी नआएकाले त्यसबारे दूतावासले कुनै पनि समन्वय गर्न आवश्यक नरहेको जनाएको छ।

दूतावास र मन्त्रीबीचको यो असमझदारीको असर मन्त्री सहभागी कर्यक्रममा देखिएको टिप्पणी गैरआवासीय नेपाली संघका नेताहरुले बताए । कोरियामा समानान्तर गतिविधि सञ्चालन गरिरहेको महेश श्रेष्ठ समूहको एनआरएनले सरकारलाई बुझाएको विज्ञप्तिका क्रममा समेत केही तनावपूर्ण वातावरण बनेको थियो।

विज्ञप्तिमा “राजदूतले एमाले संगठनको मात्र काम गरे” भन्ने आरोप आएपछि एक सहभागीले खुलेर प्रतिवाद गरेका थिए। उनले आफू एमाले प्रवास संगठनको उपसचिव भएको भन्दै प्रतिवाद गर्दा मन्त्रीले “पछि बोल्नुस” भन्दै रोकेका थिए ।

मन्त्री सहभागी उक्त कार्यक्रममा राजदूत शिवमाया भने उपस्थित थिइनन् । यसअघि मन्त्री र राजदूतसहितको टोलीबीच कोरियामा रहेका नेपालीहरुको समस्यालगायतका विषयमा छलफल भने भएको थियो । तर दूतावासले उच्चस्तरीय भेटघाटको चाँजो नमिलाएकोमा मन्त्री असन्तुष्ट थिए भने दूतावासले भने परराष्ट्रमार्फत हुनुपर्ने प्रोटोकलको विषय उठाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *