मजदुर नेता गौतमको श्रद्धाञ्जली सभा, पार्टी महासचिव, उपमहासचिवद्वारा गौतमको योगदान सम्झना

रुपन्देही । मजदुर नेता कमल गौतमको देहवसान भएको १९ औँ दिनसम्म परिवार, आफन्त, साथीभाई एवम् शुभेच्छुकका आँशु अझै रोकिएका छैनन् । जीवनभर मजदुरको अधिकारका लागि संघर्ष गरिरहेका गौतमको कार्तिक १३ गते मजदुरका विषयमा सम्बोधनकै क्रममा ढलेर मृत्यु भएको थियो । गौतम ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय उपाध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य थिए ।

गौतमको सम्मानमा जिफन्टले सोमबार बुटवलमा गरिएको श्रद्वाञ्जली सभामा बोल्ने वक्ता र सहभागी अधिकांशले आँशु थेग्न सकेनन् । कोही सम्बोधनकै क्रममा भक्कानिएका देखिन्थे भने उनको जीवनी संघर्ष सुनिरहेकाहरु डाँको छोडेर चिच्चाइरहेका थिए । उनको सम्मानमा आयोजित सभामा पुगेकी उनकी ९२ वर्षीय आमा, श्रीमती, छोराबुहारी, छोरी तथा नातिनी कार्यक्रमको सुरुवातदेखि अन्तिम समयसम्म आँशु झारिरहेका थिए ।

सभामा उनको जीवनीबारे जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिँदा सबैभन्दा धेरै सहभागी रोइरहेका थिए । श्रेष्ठले गौतमसँगको सहकार्यका अनुभव मात्रै नभएर कठिन समयमा उनले पूरा गरेका विशेष जिम्मेवारी सुनाउँदा धेरैलाई भावुक बनाएको थियो ।

जिफन्टका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले जिफन्टले एउटा सफल योद्धा गुमाएको बताए । उपाध्यक्ष गौतमको निधनको केही घन्टा अघिसम्म नियमित सम्बाद भइरहेको उल्लेख गरेका थिए । उनले गौतमको संगठनको जीवनकाल र व्यक्तिगत जीवनबारे तयार पारिएको डकुमेन्ट्रीसमेत प्रस्तुत गरेका थिए ।

एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरले पार्टी बलियो बनाउने क्षेत्रमा गौतमको भूमिका अतुलनीय रहेको उल्लेख गरे । उनले गौतमको सम्झनामा जिल्ला कमिटीले स्मरिका प्रकाशनको तयारी गरेको समेत बताए । जिफन्ट लुम्बिनी अध्यक्ष हुमाकान्त काफ्लेले कमलको निधनले जिफन्टलाई ठूलो धक्का लागेको बताउँदै अभिभावक गुमाएको महशुस भएको बताए ।

श्रद्धाञ्जली सभामा स्वर्गीय कमलकी ९२ वर्षीय आमा, श्रीमती बिन्दु गौतम, छोराबुहारी, छोरी, नातिनातिनासहित पुगेका थिए । सम्बोधनका लागि मञ्चमा पुगेकी श्रीमती विन्दु केही शब्दमै भावुक बनिन् र भक्कानिइन् । उनले श्रीमानले परिवारभन्दा बढी समय मजदुरको पक्षमा र पार्टीमा दिएको बताउँदै अन्तिम दिन पनि त्यही कार्यक्रममा जान सँगै खाना खाएर छुटेको २ घन्टामै यस्तो घटना भएको र लिएका जिम्मेवारीहरुलाई सदैव पूरा गरेको बताइन् । उनले कमलका सपना पूरा गर्न लाग्न सम्पूर्णलाई आग्रह गर्ने बेलामा बोल्न सकिनन् र कार्यक्रम सञ्चालकसहितका परिवारले बोकेर स्टेजबाट तल ओरालेका थिए ।

एमाले उपमहासचिव तथा जिफन्टका संरक्षक विष्णु रिमालले जहाँ संगठन र पार्टीलाई संकट पर्छ, जहाँ मजदुरलाई समस्या पर्छ त्यहाँ कमल गौतमलाई पठाएर दिएको समयभन्दा पहिले काम पूरा गरेको स्मरण गर्दै आन्दोलनको पर्यायवाचीका रुपमा आफूले चिनेको र बुझेको पात्र नहुँदा निकै ठूलो पीडा भएको सुनाएका थिए ।

उनले जीवनभर मजदुर संगठन र पार्टीमा काम गरेका गौतमको जनप्रतिनिधि बन्ने चाहना पूरा नगरेकोमा निकै पछुतो लागेको बताए । ‘मेरो लामो समयको सहकर्मी, सहयात्री नहुँदाको पीडा त भनिसाध्य छैन नै तर उहाँले एकपटक जनप्रतिनिधि बन्ने धोको सुनाएपनि अझै उमेर बाँकी छ भनेर रोकेको पीडा निकै बढी भएको छ, उहाँ कहिल्यै स्वार्थका लागि काम गर्नुभएन तर एकपटक यो धोको छ भनेको पूरा गर्न सकिएन, आज पार्टीका श्रद्धेय महासचिव शंकर पोखरेल पनि भएको समयमा मैले सुनाउनुपर्छ, यो निकै चिन्ताको विषय हो,’ रिमालले भने ।

रिमालले मजदुर संगठनलाई महत्व दिन र आकर्षण गर्नको लागि गौतमको योगदान निकै रहेको बताए । उनले रिक्सा चालक मजदुरलाई संगठित गर्ने कार्यमा निकै मिहेनत गरेको र असंगठित मजदुरको क्षेत्रमा बलियो आधार बनाउने मेहनतको सधै स्मरण रहने बताए । रिमालले गौतमले स्वदेशमा मात्रै नभई विदेशका कार्यक्रममा जाँदा त्यहाँका राजदूत तथा अन्य सरोकारवालालाई भेला पारेर मजदुरका विषयमा छलफल गराउने, समस्या भएका विषयमा समाधान खोज्ने अनौठा कामहरु गरेर फर्केको स्मरण गरे ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेविरुद्ध चौतर्फी घेराबन्दीमा परेको बेला हजारौँ मजदुरका पक्षमा बोल्दै गर्दा गौतमको मृत्यु भएको बताउँदै सरकारको गलत निर्णय सच्चाउने आन्दोलनको योद्धा भएको स्मरण गरे । गौतमले मजदुर आन्दोलनकै क्रममा अकल्पनीय निधन भोग्नुपरेको पोखरेलले बताए । उनले गौतमले पार्टी पंक्तिमा र मजदुरको क्षेत्रमा निरन्तरता कार्य गरेको स्मरण गरेको बताए । उनले पार्टीको सबैभन्दा कम बाहुल्यता रहेको क्षेत्र रुपन्देही ४ मा निकै काम गरेको बताउँदै प्रशंसनीय कार्य गरेको बताए । महासचिव पोखरेलले गौतमको निधनलाई निधन भयो भनेर पीडा मात्रै लिनुभन्दा पनि उनको सकारात्मक अभियानबाट प्रेरणा लिएर संकल्प गर्नुपर्ने बेला आएको बताए ।

पार्टीको अहिलेको अभियानमा कमल गौतमजस्ता योद्धा अझै आवश्यक पर्ने अवस्थामा देश रहेको बताउँदै पोखरेलले कमलको निधनले पार्टी र मजदुरको क्षेत्रमा ठूलो क्षति पुगेको बताए । उनले एमालेले श्रमिक मजदुरलाई एकीकृत गर्दै आएको उल्लेख गरेका छन् । एमालेले मजदुर बर्गको समेत पार्टी रहेको उल्लेख गर्दै मजदुरलाई सम्म्मानजनक ब्यवहारको अवस्था रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *