
काठमाडौं । नेपाल सरकार, लगानी बोर्ड र नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनी लिमिटेडका बीच काभ्रेपलाञ्चोकको पाँचखालमा पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज) को विस्तृत परियोजना प्रतिवेदन (डिपLआर) तयार गर्ने सम्बन्धमा महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ।
लगानी बोर्डको कार्यालयमा आयोजित एक कार्यक्रममा समझदारी पत्रमा बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनीका तर्फबाट आधिकारिक प्रतिनिधि यिन लिउबिङले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार, प्रस्तावक कम्पनीले लगानी बोर्डबाट सर्वेक्षण अनुमति पत्र प्राप्त गरेपछि करिब १० महिनाभित्रमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरी बोर्डको कार्यालयमा पेश गर्नेछ। यो परियोजना नेपालमा सार्वजनिक(निजी साझेदारी ढाँचामा विकास तथा सञ्चालन गरिनेछ।
हस्ताक्षर कार्यक्रममा बोल्दै प्रस्तावक कम्पनीका आधिकारिक प्रतिनिधि यिन लिउबिङले यस परियोजनालाई सफल बनाउनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी अधिकृत छत्रबहादुर कटुवालले प्राधिकरणको तर्फबाट परियोजनामा पूर्ण सहयोग रहने र आवश्यक सेवा सुविधा उपलब्ध गराउने बताउँदै परियोजनाको सफलताको लागि शुभकामना दिए ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले समापन मन्तव्य प्रस्तुत गर्दै यस परियोजनाको विस्तृत प्रतिवेदन निर्दिष्ट समयमा गुणस्तरीय तयार हुने र सबै आवश्यक मापदण्ड पूरा गरी परियोजना अघि बढ्ने विश्वास व्यक्त गरे ।
नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनी लिमिटेड चीनको कानुन अन्तर्गत स्थापित हेहेहुई ग्रुप कम्पनी लिमिटेडको पूर्ण स्वामित्वमा रहेको कम्पनी हो। यस कम्पनीले मिति २०८१ चैत्र २८ मा लगानी बोर्डको कार्यालयमा प्रस्ताव पेश गरेको थियो । बोर्डको ६५औं बोर्ड बैठकले उल्लिखित प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो।

Leave a Reply