
काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमालेले कात्तिक २९ गते देशभर आयोजना गरेको जनप्रदर्शनका सिलसिलामा गृहजिल्ला गुल्मी पुगेकी रामकुमारी झाँक्री त्यतै अल्मलिएकी छन् । ३० गते नै गुल्मीबाट फर्किने योजनाका साथ गए पनि उनको बसाइ ३–४ दिन लम्बिएको छ ।
जिल्लाभरका एमाले कार्यकर्तादेखि एमाले फर्किन चाहने पूर्वसमाजवादीहरुसँग भेटघाटमा व्यस्त रहेकाले झाँक्री फुत्किन नपाएकी हुन् । उनी आइतबार तम्घासबाट पाल्पा हुँदै बुटवल झर्ने तरखरमा थिइन् । तर, एमाले कार्यकर्ताहरुले बाटै छेकेर फर्किन दिएनन् । पार्टीमा फर्किन चाहने पूर्वएकीकृत समाजवादीका कार्यकर्ताले पनि ‘हाम्रा कुरा नसुनी जान पाउनुहुन्न’ भन्दै रोकेको बुझिएको छ ।

झाँक्रीसँग पार्टीमा फर्किनुपूर्व भेट्न चाहनेमध्ये कसैले बुटवल त कसैले भैरहवामा समय मागेका थिए । सोमबार र मंगलबार ती भेटघाटमा सरिक हुने उनको योजना थियो । उनलाई भेट्न विभिन्न जिल्लाबाट काठमाडौं पुग्न चाहनेलाई बुधबार र बिहीबारको समय दिएकी छन् । तर, सोमबारसम्म गुल्मीबाट उम्किन सकेकी छैनन् ।

नेपाल प्रेसले सम्पर्क गर्दा भनिन्, ‘भोलिचाहिँ भागेर भए पनि बुटवल पुग्नुछ, त्यहाँ ५०–६० जना साथीहरु पर्खिरहेका छन् ।’
रामकुमारीको धपेडी त्यतिमा सिमित छैन । साथीहरुसँग भेटेर, कुरा गरेपछि पनि उनको काम सकिँदैन । जो–जोसँग भेट्यो, उहीसँग एउटा टिकटक बनाउनु पर्दा समय बढी खर्च भइरहेको उनले सुनाइन् ।

उता, बारा पुगेका कृष्णकुमार (किसान) श्रेष्ठको व्यस्तता पनि कम छैन । २०७४ को आमचुनावमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई पराजित गरेका उनले एमालेमा फर्किएसँगै तनहुँमा रहेको आफ्नो मतदाता नामावली बारा जिल्लामा सारेका छन् । एकीकृत समाजवादीको उम्मेदवारका रुपमा उनले २०७९ को निर्वाचनमा त्यहाँको क्षेत्र नं. ४ बाट चुनाव जितेका थिए । बाराको सिमरामा होटलसहित उनका विभिन्न व्यापारिक कारोबार सञ्चालित छन् ।
पार्टीमा फर्किएको भोलिपल्टै उनी बारा पुगेका हुन् । पार्टीमा फर्किएर पुनर्जीवन पाएको भन्दै उनले आफू इमान्दार भएर पार्टी काममा लाग्ने संकल्प गरेको सुनाए ।

जेन–जी आन्दोलनका क्रममा किसानको सिमरास्थित औराहा, शान्ति फाराममा रहेको घर ‘खण्डहर’ बनेको छ । त्यही खण्डहरलाई ‘मुकाम’ बनाएर शुभचिन्तक, समर्थकसँग भेट्नमा उनी व्यस्त छन् । त्यहाँ मानिसहरुको आवतजावत बाक्लिएको छ । घर बस्न लायक नभए पनि कम्पाउण्डमा भेला भएर विभिन्न किसिमका छलफलमा जुटेका हुन् । सोमबार विहान पार्टीमा फर्किन चाहने सिराहाका तत्कालीन नेकपा एसका कार्यकर्ता पुगेपछि चहलपहल बढेको थियो ।
उनलाई नेपाल प्रेसले सोध्यो, ‘यो केको व्यस्तता हो ?’ उनको जवाफ थियो, ‘मधेसभरिबाट एमालेमा फर्किन चाहने साथीहरु भेट्न आएका छन् । मलाई बाराकै साथीहरुलाई भेट्दैमा फुर्सद छैन । केपी बाले त मलाई राष्ट्रकै नेता बनाइदिनुभयो, त्यसपछि ज्यादै व्यस्त भएँ ।’
नेकपा एमालेले चलाएको ‘घर फर्क अभियान’ अन्तर्गत श्रेष्ठ र झाँक्रीहरु एक साताअघि मात्रै निःशर्त पार्टीमा फर्किएका हुन् । उनीहरुसँगै पूर्वसांसद राजाराम स्याङताङ, युवा आन्दोलनबाट अगाडि बढेका पिताम्बर तिम्सिना, कर्मचारी पृष्ठभूमिबाट पार्टी राजनीतिमा सक्रिय भएका गम्भीरलाल श्रेष्ठ, रेडियोकर्मी र युवा आन्दोलनमा एकसाथ अगाडि बढेका अर्जुन राईहरु एमालेमा फर्किए । त्यसपछि उनीहरुको दैनिकी नै बनेको छ, फर्किन चाहनेहरुलाई भेट्दै र फर्काउँदै हिँड्नु ।
फर्किनेमध्ये धेरैजसोले होहल्ला नगरी फर्किन चाहेका छन् । ‘आफ्नै पार्टीमा फर्किन लागेको हो, किन तामझाम गर्नु भन्ने साथीहरु धेरै छन्’, सुनसरी पुगेका पिताम्बर तिम्सिनाले सुनाए ।

किसान श्रेष्ठको स्थिति अरुको भन्दा फरक छ । यदि प्रतिनिधिसभा पुनस्र्थापना भएमा उनको सांसद पद जाने अवस्था छ । पार्टीमा फर्किने घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा उनले त भनेकै थिए, ‘जे पर्ला–पर्ला ।’
विगतमा एकीकृत समाजवादीमा रहेर एमाले फर्किन चाहनेहरुको खोजीका मुख्यपात्रमा रामकुमारी झाँक्रीपछि किसान श्रेष्ठ नै बनेका छन् । बुधबार बाराको परवानीपुरमा आयोजना गरिने मधेस प्रदेशस्तरीय युवा जागरण अभियानको तयारीमा पनि उनको व्यस्तता छ । उक्त कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल, युवा इञ्चार्ज महेश बस्नेतसहितका नेताहरु उपस्थिति हुँदैछन् ।
एकीकृत समाजवादीबाट मात्रै हैन, अन्य पार्टीको एक जिल्ला कमिटी नै एमालेमा ल्याएर ‘सरप्राइज’ दिने योजनामा छन् किसान । कुन जिल्ला भन्ने चाहीँ उनले खोल्न चाहेनन् । दुई दिन पर्खिन आग्रह गरे ।
यसअघि कात्तिक २९ मा सदरमुकाम कलैयामा आयोजित जनप्रदर्शन देशभरका भव्य जनप्रदर्शनमध्ये पनि उत्कृष्ट रहेको उनको दावी छ ।
‘पार्टीमा किसान श्रेष्ठ फर्कियो भन्ने कुरा जनतालाई पनि थाहा दिने गरी काम गर्दैछु’, उनले भने ।

Leave a Reply