
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिम प्रदेशको सञ्चार क्षेत्र बलियो बनाउन प्रदेश सरकार प्रयत्नशील रहेको बताएका छन् ।
पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशको सहकार्य र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा धनगढीमा सुरु भएको सार्वजनिक उत्तरदायित्व प्रवर्द्धनका लागि एफ।एम। रेडियोकर्मीहरूलाई असल अभ्यास सम्बन्धी अनुशिक्षण कार्यक्रममा मुख्यमन्त्री शाहले सञ्चारकर्मी र सञ्चार क्षेत्रको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
‘सञ्चार माध्यमहरू भन्दा सामाजिक सञ्जाल बलियो हुँदै गएको गुनासो आइरहेको छ त्यो राम्रो होइन प्रदेश सरकार यहाँको सञ्चार क्षेत्र र सञ्चारकर्मी बलियो भएको हेर्न चाहन्छ ’ मुख्यमन्त्री शाहले भने, ‘विश्वसनीय भरपर्दो र बलियो सञ्चार क्षेत्र बनाउन हामी प्रतिबद्ध छौँ ।’
सञ्चारकर्मीलाई प्रोत्साहित गर्दै उनले मुलुक जोगाउने दाइत्व तपाइ हाम्रै काँधमा रहेको बताएका थिए । मिडियाको संरक्षक र संवर्द्धनमा राज्यले अझै धेरै गर्न बाकी रहेको मुख्यमन्त्री शाहको भनाइ थियो । आम सञ्चार नीतिको अन्तिम छलफल जारी रहेको उनको भनाइ थियो ।
‘आम सञ्चार नीतिको विषयमा छलफल भइरहेका छन् । विधेयक तयार भएर मन्त्रालयको सहमतिको लागि अर्थ मन्त्रालयमा गएको छ ’ मुख्यमन्त्री शाहले भने, ‘ढिलासुस्ती मात्रै भएको रोकिएको होइन । ’प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटबारे प्रस्ट पार्दै मुख्यमन्त्री शाहले लोकतन्त्र संविधान र सङ्घीयताप्रति निकै राम्रो संवाद भएको बताए ।
‘संस्थागत संरचनागत सुधारको हामी चुकेका छौँ । यस्ता धेरै कुराको रिफर्म गर्नु छ ’ उनले भने, ‘यी सबै कुरामा हामीले सुधार नगर्ने हो भने फागुन २१ पछिको सांसदले पनि केही दिने छैन । ’
गत वर्षको विनियोजन विधेयकमा उपभोक्ता समितिबाट कुनै पनि योजना नराख्ने भन्ने राखिएको तर, त्यो कार्यान्वयन हुन नसक्नु दुर्भाग्य रहेको मुख्यमन्त्री शाहको भनाइ थियो ।
‘संस्थागत संरचनागत रूपमा सुधार गर्नु पर्छ । मुख्यमन्त्री र कर्मचारीको टेबलमा आएको फायल सम्बोधन हुनुपर्छ ’ उनले भने, ‘विकासको पाटोमा अवरोधको धेरै विषय छन् । यसमा सामूहिक आवाज उठ्न जरुरी छ ।’
मुख्यमन्त्री शाहले मुलुक बनाउन साझा प्रतिबद्धता आवश्यक रहेको बताएका थिए ।‘राष्ट्रिय एकता राष्ट्रिय संवाद गर्नुपर्छ । त्यो संवादबाट मुलुक विकास निर्माण र सुशासनको पाटोमा खुल्ला संवाद र छलफल गरेर साझा निर्णयको साथ संविधान संशोधन आवश्यक छ । ऐन नियम र कानुनहरूको परिमार्जन आवश्यक छ ’ उनले भने ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न रेडियो तथा एफएममा कार्यरत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा विभिन्न व्यक्तिहरूले सञ्चार क्षेत्र जोगाउन मुख्यमन्त्री शाहलाई आग्रह गरेका थिए । पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाहको अध्यक्षतामा उद्घाटन कार्यक्रम समापन गरिएको थियो ।

Leave a Reply