समानुपातिक निर्वाचनको कार्यक्रम मंसिर २० देखि सुरु, बन्दसूची बुझाउने समय ३ दिन

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मनोनयन प्रक्रिया आगामी मंसिर २१ गतेदेखि औपचारिक रूपमा सुरु हुने भएको छ ।

निर्वाचन आयोगले कात्तिक ३० गते बसेको बैठकबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फका निर्वाचन कार्यक्रम स्वीकृत गर्दै विस्तृत तालिका सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगबाट प्रकाशित कार्यक्रमअनुसार, समानुपातिकतर्फ चुनावमा सहभागी हुन चाहने राजनीतिक दलले मंसिर २१, २२ र २३ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म निवेदन दर्ता गर्नुपर्नेछ ।

दर्ता भएका दलको प्रारम्भिक नामावली मंसिर २४ गते सार्वजनिक गरिने आयोगका सहसचिव तथा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार राजनीतिक दलले उम्मेदवारको बन्दसूची पौष १३ र १४ गते बिहान १० देखि अपराह्न ४ सम्म पेश गर्नुपर्नेछ ।

आयोगले दर्ता तथा छानबिन प्रक्रियापछि माघ २० गते बिहान १० देखि साँझ ५ बजेसम्म समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गर्नेछ ।

समानुपातिक प्रणालीतर्फको मनोनयन तालिका सार्वजनिक भएपछि राजनीतिक दल आन्तरिक रूपमा उम्मेदवार छनोट, प्रदेशगत प्रतिनिधित्व, समावेशी कोटा तथा वैधानिक अनिवार्यतासहितको बन्दसूची मिलानमा सक्रिय हुने अनुमान गरिएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म देशभर मतदान हुने कार्यक्रम स्वीकृत गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *