
काठमाडौं । केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको समिति बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गरेको गृह मन्त्रालयका प्रवक्ता सह सचिव आनन्द काफ्लेले जानकारी दिए ।
चार वटै सुरक्षा निकायका प्रतिनिधि सम्मिलित कार्यदलले तयार गरेको प्रतिवेदनमाथि छलफल गर्दै त्यसलाई स्वीकृत गरिएको उनले बताए ।
प्रवक्ता काफ्लेले सुरक्षा निकायको भूमिका र जिम्मेवारी विभाजन, राजनीतिक गतिविधि, सीमा क्षेत्रमा हुन सक्ने घुसपैठ लगाएतका लागि आवश्यक सुरक्षा योजना तयार भएको बताए ।
त्यसैगरी निर्वाचनमा सेना परिचालनका लागि एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रस्ताव भएअनुसार रक्षा मन्त्रालयमार्फत राष्ट्रिय सुरक्षा परिषद्मा सिफारिस गर्ने निर्णय भएको उनले बताए ।
हिंसा भड्काउने र जनतालाई आतङ्कित पार्ने गतिविधिहरुलाई निस्तेज गर्नका लागि कडाइका साथ कानूनी कारबाही अघि बढाउने निर्णय भएको बताए ।
त्यस्तै केन्द्रीय सुरक्षा समितिले निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्ने समेत निर्णय गरेको छ । मङ्सिर ९ गते लुम्बिनी प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा गोष्ठीको सुरुवात गर्ने प्रवक्ता काफ्लेले बताए ।

Leave a Reply