
रुपन्देही । रुपन्देहीमा श्रीमतीको हत्या गरी फरार रहेका एक युवक बुटवल बसपार्कबाट पक्राउ परेका छन्। बागलुङ निसीखोला गाउँपालिका-६ का ३२ वर्षीय विजय भन्ने वीरबहादुर कुँवरलाई प्रहरीले पक्राउ गरेको हो।
कार्तिक २७ गते बिहान करिब ८ बजे सिद्धार्थनगर नगरपालिका–८, लुम्बिनी गेटमा रहेको होटल लुम्बिनी गेटमा काम गर्दै आएकी २० वर्षीया मेलिना परियार आफ्नै स्टाफ क्वार्टरभित्र मृत भेटिएकी थिइन्। घटनास्थलमा अनुसन्धान गर्न पुगेको प्रहरीले मेलिनाको मृत्यु नेपालको फौजदारी कानुनअनुसार ‘कर्तव्य गरी हत्या’को श्रेणीमा पर्ने प्रारम्भिक तथ्य पुष्टि गरेको छ।
प्रहरीका अनुसार मेलिना परियार र उनका श्रीमानबीच सामाजिक सञ्जाल प्रयोग गर्ने विषयमा विवाद हुँदै आएको थियो। श्रीमानले मेलिना अन्य पुरुषसँग कुरा गर्छिन् भनी बारम्बार शंका गर्ने, झैझगडा गर्ने गरेको प्रारम्भिक बयानबाट खुल्न आएको छ। घटनाको दिन पनि दुवैबीच सोही विषयमा वाद-विवाद भएको र मादक पदार्थ सेवन गरेकाे अवस्थामै प्रतिवादीले श्रीमतीको हत्या गरेको प्रहरी अनुमान छ।
घटनापछि वीरबहादुर कुँवर घटनास्थलबाट फरार भएका थिए। प्रहरीले विभिन्न सूचनाको आधारमा खोजी तीव्र पार्दै उनलाई रूपन्देहीको बुटवल उपमहानगरपालिका-९ स्थित बसपार्क क्षेत्रमा लुकिछिपी भाग्ने तयारीमा रहेको अवस्थामा कार्तिक २८ गते साँझ ६ बजे पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिएका छन् ।
पक्राउ परेका कुँवरलाई नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेका कारण आवश्यक थप कानुनी प्रक्रिया अघि बढाइने उनले जनाए ।

Leave a Reply