राजस्व अनुसन्धान विभाग चाहिँदैन- अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजस्व अनुसन्धान विभाग आवश्यक नरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको समसामयिक अर्थतन्त्रबारे वृहत् छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘राजस्व अनुसन्धान विभाग अथवा त्यस्तो किसिमको निकाय चाहिँदैन । जब हामी विश्वासमा आधारित प्रणाली निर्माण गर्नुपर्छ’, अर्थमन्त्री खनालले भने, ‘जुनसुकै समाजमा गलत कार्य गर्ने केही तत्त्वहरू पक्कै हुन्छन् । सरकारी, निजी क्षेत्र र समुदायमा पनि हुन्छ । त्यसलाई कानूनले र कारबाही गर्न निकायले नियन्त्रण गर्ने हो । अनुशासनमा राख्नका लागि बाध्य पार्ने हो । त्यसका लागि सम्बन्धित निकायमै हुनुपर्छ ।’

अन्य मुलुकहरूमा जुन निकायमा गलत भइरहेको छ सोही निकायमै कारबाही गर्ने निकाय रहेको समेत अर्थमन्त्री खनालले स्मरण गराए ।
अर्थमन्त्रीमा आफ्नो कार्यकाल लामो नरहेकाले छोटो समयमै भएपनि सुधारका कामहरू गर्ने उनले बताए ।

त्यस्तै, कार्यक्रममा अर्थमन्त्री खनालले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण सिर्जना गर्नु आफ्नो पहिलो दायित्व भएको बताए । लगानी मैत्री वातावरण, रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै अर्थमन्त्री खनालले कर तिर्ने प्रणालीलाई सहजीकरण गर्ने प्रयास भइरहेको उल्लेख गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *