
प्रिय गगन दाइ !
जुन बेलादेखि मैले राजनीतिको बारेमा बुझ्न र चासो राख्न थालेँ, त्यही बेलादेखि नै मैले पछ्याइरहेको नेपाली राजनीतिका थोरैमात्र पात्रमध्ये तपाईं एक महत्वपूर्ण पात्र हुनुहुन्छ । तपाईंको स्पष्ट विचार, विषयवस्तुमाथिको गहिरो अध्ययन, समयअनुकूल परिवर्तनलाई आत्मसात गर्ने क्षमता, दूरदृष्टि, विगतको समीक्षा, वर्तमानको संघर्ष र भविष्यको योजनासहित आफूलाई राजनीतिमा अघि बढाउन सक्ने क्षमताको म प्रशंसक हुँ ।
सँगै, सार्वजनिक खपतका लागि अनावश्यक विषयमा बोलेको वा कहिलेकाहीँ भावनात्मक तथा उत्तेजित अभिव्यक्ति दिएको विषयमा म भद्र आलोचक पनि हुँ । यद्यपि पछिल्लो समय तपाईंमा आफ्ना विगतका कमजोरी स्वीकार गर्ने प्रवृत्ति देखेको छु, जसले तपाईंप्रतिको मेरो सकारात्मक धारणा अझ बलियो बनाएको छ । किनकि नेपाली राजनीतिमा, विशेषगरी उच्च तहका नेताबाट, आफ्ना कमजोरी स्वीकार गर्ने संस्कृति अपेक्षा गर्नु नै व्यर्थजस्तै भइसकेको छ ।
आजसम्म कुनै सार्वजनिक कार्यक्रमबाहेक तपाईंलाई प्रत्यक्ष देखेको वा भेटेको छैन । तर तपाईंका विभिन्न अन्तर्वार्ता, लेख, भनाइ, भाषण तथा सार्वजनिक अभिव्यक्तिका आधारमा तपाईंप्रतिको धारणा बनाउँदै आएको छु । पछिल्लो पटक तपाईंले अहिले जारी केन्द्रीय समितिको बैठकमा राखेको करिब एक घण्टाको भाषण हेरेपछि केही कुरा सार्वजनिक रूपमा लेख्नुपर्छ जस्तो लाग्यो, र यही अनुभूतिको आधारमा यो खुला पत्र लेख्दैछु ।
विगतमा, विशेषगरी पार्टी महामन्त्रीका रूपमा निर्वाचित भएपछि, पार्टीका विभिन्न निर्णयमा फरक मत राख्नुभएको, पार्टीका केही निर्णयको नकारात्मक परिणाम थाहा हुँदाहुँदै पनि स्वीकार्नुपरेको, विरोध गरे पनि विद्रोह गर्न नसकिएको वा आफ्नो मतलाई पार्टीको औपचारिक मत बनाउन नसकिएको थुप्रै उदाहरणहरू तपाईंले स्वयम् प्रस्तुत गर्नुभएको थियो । तपाईंले भन्नुभएन कि ती निर्णयहरू कागजी रूपमा त पार्टीकै थिए, तर वास्तविक निर्णयकर्ता भने पार्टी सभापति शेरबहादुर देउवा थिए, जसका निर्णयलाई केन्द्रीय समितिका ८० प्रतिशत सदस्यले सदर गरिदिन्थे र त्यसैलाई पार्टीको औपचारिक निर्णय बनाइदिइन्थ्यो ।
औपचारिक रूपमा तपाईं संस्थापनकै पक्षमा परे पनि राजनीतिक दलभित्र ‘औपचारिकता’ धेरैजसो केवल औपचारिकताको लागि मात्र हुने रहेछ । शक्तिशाली महामन्त्रीले आफू समावेश दलले अर्को दलसँग मिलेर सरकार बनाउने निर्णय भइसकेको कुरा पत्रिकाबाट थाहा पाउने अवस्था—त्यस्तो परिवेशमा ‘फरक मतलाई पार्टीको मत बनाउन नसक्नु गल्ती’ थियो भन्ने स्वीकारोक्ति व्यवहारिक रूपमा सत्य भए पनि औपचारिक रूपमा त्यसको औचित्य कम देखिन्छ ।
तपाईंको जीवनको सिङ्गो उमेरमा अर्को एक दशक थप्दा मात्रै तपाईंका सभापतिको राजनीतिक अनुभव बराबर पुग्छ । यति लामो राजनीतिक यात्राको बोझ बोक्ने, पार्टीभित्र विभिन्न फोरममा पर्याप्त बहुमत राख्ने, जसको एक शब्दलेै विधान मिच्ने क्षमता राख्ने, र वरिपरि परम्परागत सोच तथा पश्चगामी विचारका घेराले घेरेका व्यक्तिबाट आजको युगले मागेको निर्णयको अपेक्षा गर्नु नै गलत थियो भन्ने मेरो बुझाइ हो ।
प्रजातान्त्रिक मूल्य–मान्यता अवलम्बन गर्ने पार्टीभित्र फरक मत राखेर त्यसलाई प्रजातान्त्रिक प्रक्रियाबाट सबैको मत बनाउन खोज्ने औपचारिक बाटो—तपाईंका सभापतिको निर्णय शैली तथा त्यसलाई अन्तिम सत्य ठान्ने समर्थकहरूको विशाल संख्याले पहिल्यै बन्धक बनाइसकेको थियो । त्यसै गलत निर्णयको परिणाम आज देशले, पार्टीले, र व्यक्तिगत रूपमा तपाईंका सभापतिले समेत भोग्नुपरेको छ ।
गत भदौ २३ र २४ को आन्दोलनपछि देश एकदमै फरक मोडमा प्रवेश गरेको छ । कसैले कल्पना नगरेका घटनाक्रमबाट देश गुज्रिरहेको छ । के हुन्छ भन्ने अनिश्चितता त छ, तर आम जनमानसमा आशा र विश्वास पनि समानान्तर रूपमा बढिरहेको छ । जस्तै, एउटा अध्यारो रातपछि उज्यालो विहान आउँछ, त्यसैगरी नेपालमा पनि तपाईंले कल्पना गर्नुभएको “समुन्नत नेपाल, सम्मानित नेपाली” को आकांक्षा पूरा गर्ने सुनौलो बिहान आउनेछ । तर त्यो बिहान आफैँ आउने छैन—त्यसका लागि प्रमुख राजनीतिक दल, राज्यका संयन्त्र, र विशेषगरी सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले संयम, धैर्य, विवेक र परिपक्व निर्णय गर्नुपर्नेछ । यसको मूल आधार आगामी निर्वाचन हो ।
यो निर्वाचन केवल सामान्य निर्वाचन होइन- सुशासनयुक्त, पारदर्शी, भ्रष्टाचारमुक्त समाज निर्माणतर्फको ऐतिहासिक मोड हो । त्यसका लागि नेपालको सबैभन्दा पुरानो, गौरवशाली इतिहास बोकेको, विभिन्न कालखण्डमा राष्ट्रिय समस्याको समाधानमा महत्वपूर्ण भूमिका खेल्दै आएको दलका रूपमा तपाईंको पार्टी अझ जिम्मेवार र उत्तरदायी हुनुपर्छ, र पार्टीलाई सोहीअनुरूप उभ्याउने जिम्मेवारी आजको दिनमा तपाईंको काँधमा छ ।
हिजो स्वीकार गर्नुभएको गल्तीको प्रायश्चित यही हो- अब अर्को गल्ती गर्ने छुट छैन । पार्टीभित्र वा बाहिर राख्दै आएका तपाईंका फरक मत, विगतमा सुरु गर्नुभएको सुधारका पहल-यी सबैलाई एकमत बनाएर अघि बढ्नुको विकल्प छैन । मूलधारको पार्टीमा आमूल रूपान्तरण हुनु भनेको केवल पार्टीको लागि मात्र होइन, देशकै हितका लागि परिवर्तनको बाटो खोल्नु हो ।
आज तपाईंले ‘रूपान्तरण’ को मुद्दामा आफ्नो अडान सतीसालझैँ कडा रूपमा उभ्याउनुभएको छ-आशा छ, यस अडानमा अडिग रहनुहुनेछ । यो तपाईंका लागि ‘गर या मर’ को घडी हो । तपाईं सफल हुनु भनेको केवल विगतका गल्तीको क्षतिपूर्ति मात्र होइन, देशलाई नयाँ दिशातर्फ डोर्याउने सेतु बन्नु पनि हो ।
तपाईंले विगतमा गरेका कर्म र राखेका फरक मत नै तपाईंको वास्तविक शक्ति हुन् । हिजोका त्यही फरक मत अब सिङ्गो पार्टीको मत बन्नुपर्छ । सम्पूर्ण नेपाली नागरिकले आफू नेपाली भएकोमा गर्व गर्न सक्ने वातावरण बन्नुपर्छ । म जस्ता ‘नेपालमै केही गर्छु’ भन्ने हजारौँ युवाका लागि पर्याप्त अवसर सिर्जना हुनुपर्छ । अहिले जताततै फैलिएको ‘यो देशमा केही छैन’, ‘देश बर्बाद भयो’ भन्ने गलत भाष्य चिर्दै—‘देशमा अपार सम्भावना छ’, ‘पहिचान हामी आफैँले निर्माण गर्ने हो’, ‘देश बन्छ र यसको निर्माता हामी नै हौँ’ भन्ने सकारात्मक सोच बलियो बन्नुपर्छ ।
राजनीति अब सबैको भावनाको प्रतिनिधित्व र अपनत्वसहित अघि बढ्नुपर्छ-र त्यसको नेतृत्व गर्ने अवसर तपाईंलाई प्राप्त होस् ।
तपाईंले देख्नुभएको “समुन्नत नेपाल, सम्मानित नेपाली” को आकांक्षा पूरा होस्- यही शुभकामना ।

Leave a Reply