
बेलबारी । ‘साहुले जाल गरेर बढाएको ऋण चाँडै चुक्ता गराउन ‘चुडेल्नी’ बनाइएकी पात्र मनिषा जो एक सामन्तको आर्थिक, मनोवैज्ञानिक र शारीरिक शोषणमा पर्दछे । नायक पात्र मोदनाथले उनीमाथि सहानुभूति राख्नु मानवीय संवेदनाको उपल्लो नमुना हो ।’ कथाकार ईरानराईको कथासङ्ग्रह ‘चुडेल्नी’ को मोरङको बेलबारीमा परिचर्चा गरिएको छ ।
कथा सङ्ग्रहको शीर्ष कथा ‘चुडेल्नी’ ले सामन्तवादको विरोध गरेको बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीले परिचर्चा गरिन् ।
‘दलित समुदायको झले कामी गरिब थियो तर परिश्रमी थियो, इमानदार थियो । उसले राति राति पहाडको एउटा थुम्को सम्यायो र उर्वर खेत बनाएर धान उमार्यो । गाउँलेको दिमागमा भूतले सम्याएको जमिन भन्यो । तर भूतले नभएर झले कामीले सम्याएको सन्देश दिएर कथाकारले भूतप्रेतलाई अन्धविश्वासका रुपमा उजागर गरेका छन् । अर्कातिर श्रम–संस्कृतिको उदाहरण दिएर प्रगतिशील लेखनको धार पक्रेका छन् ।’ कथासङ्ग्रहमाथि परिचर्चा गर्दै बेलबारी प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष धनजित पराजुलीले भने ।
‘बोक्सी’ शब्दलाई लैङ्गिक विभेदका रूपमा पनि लिनुपर्दछ, पुरुषलाई खराब देखाउने ‘बोक्सो’ भन्ने शब्द हत्तपत्त नभेटिने विषय संविधान सभाको महिला तथा बालबालिका समितिमा छलफल भएको संविधान सभा सदस्यसमेत रहेकी परिचर्चाकार मधु गुरुङ (रत्नदेवी) ले बताइन् । राजनैतिक, आर्थिक, सामाजिक र शारीरिक रूपमा कमजोर महिलाहरूलाई मात्र ‘बोक्सी’ भनेर दुर्व्यवहार गर्ने, विभेद गर्ने र दिसा-पिसाब खुवाउने जस्ता घृणित कुकार्यलाई कथाले उजागर गरेको उनको भनाइ थियो ।
कथाकार राईको सङ्ग्रहभित्र ‘मुर्कुटा’ कथाले सशस्त्र द्वन्द्वको चित्रण गरेको छ । कथा सङ्ग्रहमाथि परिचर्चा गर्ने क्रममा साहित्यकारहरुले ‘बोक्सो’ कथाले नारीप्रति पुरुषहरूको घृणित मनोविज्ञानलाई उजागर गर्दै व्यङ्ग्य गरेको उल्लेख गरे । अशिक्षित र कमजोर महिलाहरूलाई होच्याउने, विभेद गर्ने र विद्यमान कुरीतिको भण्डाफोर गर्ने काम ‘डाइनी’ कथाले गरेको छ । सामर्थ्य हुनेहरुले मात्र न्याय पाउने अमर्यादित मानसिकताको विपक्षमा ‘डङ्किनी’ कथा उभिएको छ । अन्धविश्वासलाई हटाउनुपर्ने सन्देश ‘राक्षसनी’ कथाले दिएको छ । ‘किचकन्नी’ कथाले मनगढन्ते मनोदशामाथि व्यङ्ग्य गरेको परिचर्चा गरिएको छ ।
कथासङ्ग्रहमाथि स्रष्टा समाज बेलबारीका अध्यक्ष जे.बी. थुलुङ, प्रलेस केन्द्रीय सदस्य तिला लेकाली, कोशी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, बेलबारी साहित्य विकास समितिकी उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदी, बेलबारी प्रज्ञा–प्रतिष्ठानकी सदस्य निरू गौतम, कण लघुकथा मञ्च, कोशी प्रदेशका अध्यक्ष दीप मङ्ग्रातीलगायतले परिचर्चा गरेका थिए ।

Leave a Reply