
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला नजिकै हुन्डाई आई२० कार विस्फोट हुँदा बाह्र जनाको मृत्यु भएको घटनाको अनुसन्धानले नयाँ तथ्य फेला पारेको छ ।
अनुसन्धानले संदिग्ध डा. मोहम्मद उमर अन-नबीसँग सम्बन्धित नयाँ विवरणहरू प्रकट गरेको भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले उल्लेख गरेको छ । समाचार अनुसार नबी विस्फोटको अघिल्लो दिनसम्म हरियाणाको नुहमा बसेको र मोबाइल फोन प्रयोग गरेको तथ्य खुलेको हो ।
उमर उन-नबी ह्वाइट कलर टेरर ग्रुप (श्वेत आतंकवादी समूह) का सदस्यका रुपमा आरोपित छन् । प्रहरीका अनुसार दिल्लीमा विस्फोट हुनुभन्दा एक दिन अघिसम्म उनी नुहस्थित भाडाको कोठामा बसेका थिए । उनका नजिकका सहयोगी डा. मुजम्मिल शकील गनी पक्राउ परेपछि उनी फरीदाबादको अल-फलाह मेडिकल कलेजबाट बाहिरिएका थिए ।
घटना हुनुभन्दा केही दिन अघिको सीसीटीभी फुटेजमा उनी आई२० कारसहित प्रदूषण केन्द्रमा रहेको र मोबाइल फोन मर्मत गरिरहेको देखाइएको थियो । यद्यपि शकील गनीको गिरफ्तारी पछि घटनाको मोड परिवर्तन भएको छ ।
हिन्दुस्तान टाइम्सको अनुसन्धान तथ्याङ्कले नबी अक्टोबर ३० मा अल-फलाह विश्वविद्यालयकी नर्सिङ स्टाफ सदस्य शोबा खानको सहयोगमा नुहतर्फ भागेका थिए । खानले उनलाई आफ्नी भाउजू अफसानाको घरमा ठाउँ खोज्न मद्दत गरेकी थिइन् । जहाँ नबीलाई चार कोठामध्ये एउटा छ हजार भारतीय रुपैयाँमा भाडामा दिइएकी थिइन् । त्यसमध्ये दुई हजार रुपैयाँ मासिक भाडा र चार हजार रुपैयाँ सुरक्षाका लागि लिइएको थियो ।

समाचारअनुसार उमर प्रायः आफ्नो कोठामा बस्थे र रातमा मात्र बाहिर निस्कन्थे । अफसानाकी छोरीले हिन्दूस्तान टाइम्सलाई बताएअनुसार नबी दिनमा कहिल्यै कोठाबाट बाहिर निस्कँदैनथे । उनीसँग दुईवटा स्मार्टफोन थिए र उनी अँध्यारो भएपछि मात्र बाहिर निस्कन्थे । प्रायः सडक किनारका खाना पसलहरूबाट खाना ल्याउँथे ।
‘उनी धेरै गम्भीर देखिन्थे, कहिल्यै कसैसँग बोलेनन्, र एघार दिनसम्म एउटै लुगा लगाएर बसे ।’ अफसानाकी छोरीले भनिन्, ‘नोभेम्बर ९ को रातमा उनी अचानक निस्किए । कोठा गन्हाउँदै थियो, हामी डरायौं । पछि हामीले टिभीमा बम विस्फोटको बारेमा सुन्यौं । त्यसपछि प्रहरी आयो र मेरो काका र आमालाई सोधपुछको लागि लग्यो । उहाँहरु अझै फर्कनु भएको छैन ।’
दिल्ली प्रहरीले सीसीटीभी फुटेजमा विस्फोट हुनुभन्दा करिब एघार दिन अघि उमर उन नबीलाई फरीदाबादको एक मोबाइल फोन पसलमा कम्तीमा दुईवटा फोन बोकेको अवस्थामा देखिएको बताएको छ । यद्यपि प्रहरीले आई२० कारको फोरेन्सिक जाँचमा मोबाइल फोन नदेखिएकाले उनले ती फोन फ्याँकेको हुन सक्ने अनुमान गरेको छ ।
विस्फोटको केही दिन पछि दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी) ले शनिबार लालकिल्ला मेट्रो स्टेशनका दुई प्रवेशद्वारहरू पुनः खोलेको छ । सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टअनुसार लालकिल्ला मेट्रो स्टेशनको गेट नम्बर दुई र तीन यात्रुहरूका लागि खुला छन् । विस्फोट पछि ‘सुरक्षा कारणले’ डीएमआरसीले बन्द गरिएको जनाएको थियो । गत सोमबार साँझदेखि स्टेशन बन्द थियो । अन्य सबै स्टेशनहरू सामान्य रूपमा सञ्चालन भइरहेका थिए ।
नौगाम विस्फोट र फरीदाबाद ‘लिङ्क’
जम्मू कश्मीरको नौगाम प्रहरी चौकीमा भएको ‘दुर्घटनावश विस्फोट’ मा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
पीटीआईका अनुसार हरियाणाको फरीदाबादबाट बरामद गरिएको विस्फोटक पदार्थ नियन्त्रण गर्ने क्रममा विस्फोट भएको अधिकारीहरूको भनाइ छ ।
समाचार अनुसार पक्राउ परेका डा. मुजम्मिल गनाईको भाडाको घरबाट ३६० किलोग्राम विस्फोटक पदार्थ बरामद गरिएको थियो । ‘आतंकवादी मोड्युल’ को अनुसन्धानका क्रममा उक्त विस्फोटक पदार्थको जाँच भइरहेको थियो ।

Leave a Reply