
रुपन्देही । हरेक व्यक्ति दलीय जिम्मेवारीमा भएसँगै सामाजिक संस्थामा पनि दलहरुकै सकृयतामा नेतृत्व चयन गर्ने परम्परा बसेको छ । यस्ता संस्थामा पुराना दलविरुद्ध नयाँ दलहरुको मोर्चाबन्दी हुन थालेको छ । पुराना दलको सिको गरेर नयाँ दलले पनि सामाजिक संस्थाहरुमा आफ्नो उपस्थिति देखाउन दलीय सहभागिता खोजिरहेका छन् ।
बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्यानलले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनलाई पराजित गरेको छ । चुनावी परिणामअनुसार १४ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष, सहसचिव र एक सदस्यबाहेक सबै पद रास्वपाले जितेको हो । बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४, १५ र १९ का १ हजार ७ सय उपभोक्ता रहेको निर्वाचनमा १० धारा बराबर एकजना परिषद् सदस्यका दरले १ सय ७१ मतदाता थिए ।
निर्वाचन समितिका संयोजक अधिवक्ता जोखबहादुर खत्रीका अनुसार, अध्यक्षमा रास्वपाका कृष्ण थापाले ८८ मत पाएर निर्वाचित हुँदा गठबन्धनबाट नेपाली कांग्रेसका नरबहादुर मल्ल ७५ मत पाएर पराजित भए । थापा पहिले कांग्रेसकै कार्यकर्ता तथा संस्थालाई जग्गादातासमेत हुन् भने मल्ल बुटवल उपहानगरपालिका९ १४ का कांग्रेस वडा सभापति हुन् ।
वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर पौडेल, उपाध्यक्षमा शंकर पौडेल, सचिवमा मधुप्रसाद घिमिरे, कोषाध्यक्षमा छत्रबहादुर खत्री र सहसचिवमा पृथबहादुर थापा निर्वाचित भएका छन् । यस्तै महिला सदस्यहरुमा राधा कार्की खाण र सीता बस्नेत, अन्य सदस्यमा राजकुमार गौतम र हरिप्रसाद खनाल विजयी भए भने लिलाधर दंगोरिया थारु गोलाप्रथाबाट निर्वाचित भएका छन् ।
यस्तै, आन्तरिक लेखा समिति संयोजकमा विष्णुप्रसाद पाण्डे तथा सदस्यमा लक्ष्मण सेन निर्वाचित भए भने महिला सदस्यमा सरस्वती बुढा गोलाप्रथाबाट निर्वाचित भएको निर्वाचन समिति संयोजक खत्रीले जानकारी दिए । समितिमा स्थानीयले जग्गादातालाई नेतृत्वमा ल्याउन माग गरेपनि कांग्रेस एमालेका कार्यकर्ताले नमानेपछि यस्तो प्यानल बनाएर जानुपरेको उपभोक्ताहरु बताउँछन् ।

Leave a Reply