
काठमाडौं । मंसिर १ देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा नामिबियाका जेजे(जोहानेस जोनाथान) स्मिथ र रुबेन ट्रम्पलम्यानले लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । लायन्सले जेजे र रुबेनलाई भित्राएको जानकारी शनिबार सामाजिक सञ्जालमार्फत दिएको हो ।
नामिबियाको टी–२० खेलमा कप्तानी गरिसकेका जेजे बलिङ अलराउन्डर हुन् । ३० वर्षीय जेजेले नामिबियाका लागि टी–२०आई र ओडिआईमा उत्कृष्ट प्रर्दशन गरेका छन् । उनले ६७ टी–२०आईमा १ हजार १८९ रन बनाउँदै ६४ विकेट लिएका छन् । यस्तै ५२ ओडिआईमा ५६ विकेट र एक हजार ७१ रन बनाएका छन् ।
२७ वर्षीय रुबेन पेस बलर हुन् । उनले नामिबियाका लागि ४८ ओडिआई र ४४ टी–२० आई खेल खेलेका छन् । ओडिआईमा ७३ र टी–२०आईमा ४८ रन बनाएका छन् । उनी १४० किमि प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्छन् ।
लुम्बिनीले यसअघि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको थियो । अस्ट्रेलियका ब्याटर डार्सी सर्ट, इटलीका पेस बलर थोमस ड्राका र अफगानिस्तानका अलराउन्डर गुल्बादिन नहब लुम्बिनीमा अनुबन्ध भइसकेका छन् ।
पोखरा एभेन्जर्सले इंग्ल्याण्डका ओपनर जेसन रोय र जनकपुर बोल्ट्सले श्रीलंकाका अलराउन्डर लाहिरु समाराकुनलाई अनुबन्ध गरेका छन् । ३५ वर्षीय जेसनका उत्कृष्ट ओपनिङ ब्याटर हुन् ।
उनले इग्ल्याण्डबाट ५ टेष्ट, ११६ ओडिआई र ६४ टी–२०आई खेल खेलेका छन् । उनले सन् २०१४ देखि २०२३ सम्म इग्ल्याण्डको राष्ट्रिय टोलीबाट खेलेका थिए । आइपिएल, बिपिएल, पिसिएल, बिबिएल जस्ता विश्वको चर्चित लिग खेलेको अनुभव जेसनसँग छ ।
श्रीलंकाका लाहिरुले श्रीलंकाको राष्ट्रिय टोलीबाट एकमात्र खेल खेलेका छन् । उनले केही दिनअघि हङकङ सिक्सेस खेलेका थिए । २८ वर्षीय लाहिरु अलराउन्डर हुन् ।

Leave a Reply