जो सभापति भए पनि मिलाएर टिकट नदिए कांग्रेसको अस्तित्व नरहने बागमती प्रदेशको धारणा

भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको १३औँ पूर्ण बैठक एवम् प्रदेशसभा संसदीय दलको संयुक्त बैठक भक्तपुरको नगरकोटमा आज शनिबार पनि हुनेछ । बैठक शुक्रबारदेखि शुरु भएको हो । कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेको बैठकमा आज पनि विभिन्न विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसको क्रियाशील सदस्यको विवाद टुङ्ग्याएर मात्रै महाधिवेशनको मिति तय गरेर एक ढिक्का भएर जानुपर्नेमा बागमती कांग्रेसको एकमत छ । कांग्रेस केन्द्रीय समितिको बैठकमा निर्वाचन अगाडि र निर्वाचन पछाडिको कार्यतालिका सार्वजनिक भएसँगै दलका नेता तथा कार्यकर्तामा अन्योलता छाएको छ । पार्टीको केन्द्रीय बैठकमा महाधिवेशनको दुई वटा तालिका सार्वजनिक गरेर विवादमा ल्याएर कांग्रेसको अस्तित्व सिद्धिने बताउँदै मुख्यमन्त्री बानियाँले भने, ‘केन्द्रीय समिति बैठकले पहिला विधान समिति बनाओस्, क्रियाशील सदस्य छानबिन समिति बनाओस् र त्यसपछि छानबिन समितिले प्रतिवेदन बुझाएको १५ दिनभित्र महाधिवेशनको मिति तोक्ने काम होओस्, महाधिवेशन निर्वाचन अगाडि र पछाडि भनेर विवाद नगरोस् ।’

चुनावमा टिकट बाँड्न पाइन्छ भन्ने बजारमा अनावश्यक हल्ला चलाएर कांग्रेस अगाडि जान नसक्ने बताउँदै उनले जो सभापति भए पनि सबैलाई मिलाएर अधिकतम सहमतिमा टिकट नबाँडे कांग्रेसले अस्तित्व नरहने बताए । बैठकले घनीभूत छलफल गरेर केन्द्रीय समितिलाई सुझाव दिने बताइएको छ । बैठकमा प्रदेश समितिका १ सय ३० सदस्य, ३७ पार्टीका प्रदेशसभा सदस्य, १३ जिल्लाका सभापतिको सहभागिता छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *