
काठमाडौं । २०४७ सालमा राजनीतिमा सक्रिय प्रवेश गरेकी गायत्री आचार्य अहिले दोलखा मेलुङ गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारीमा छिन् ।
जिम्मेवारीमा पुगेदेखि नै उनको भूमिका सहभागीमूलक योजना, कृषि अनुदान, शिक्षा स्वास्थ्य सुधार, आधारभूत पूर्वाधार विकास, न्याय र सुशासनमार्फत मेलुङलाई समावेशी र विकासमुखी गाउँपालिका बनाउनमा केन्द्रित छ ।
पालिका उपाध्यक्षको जिम्मेवारीबारे भन्छिन्, ‘परिवर्तन सानो आवाजबाटै सुरु हुन्छ । मेरो आवाज पनि त्यही परिवर्तनको एउटा हिस्सा हो ।’
उनले पालिकामा सामाजिक चेतनाको, महिला सशक्तीकरणको र गाउँलाई आत्मनिर्भर बनाउने सपना देखेकी छन्। त्यही अनुसार उनको भूमिकाले पनि देखाउँछन् । सानैदेखि सामाजिक सेवामा सक्रिय, विद्यार्थी राजनीतिबाट सुरुवात गर्दै, पत्रकारिता हुँदै स्थानीय नेतृत्वसम्मको उनको यात्रा प्रेरणादायी नै छ ।
उनको नेतृत्वमा मेलुङले सहभागीमूलक योजना, सुशासन, कृषि र पूर्वाधार विकासमा उल्लेखनीय फड्को मारेको छ ।
मेलुङमा सम्भावनाको खोजी
मेलुङ गाउँपालिका दोलखा जिल्लाको दक्षिण भागमा अवस्थित छ। सदरमुकाम चरिकोटबाट करिब डेढ घण्टाको यात्रा टाढा पर्ने यो गाउँपालिकाको उचाइ ६४४ मिटरदेखि ३१०० मिटरसम्म फैलिएको छ । तल्लो भेगमा पुग्दा तराईको अनुभूति हुन्छ भने माथिल्लो भेगमा पुग्दा हिमालको हावा महसुस हुन्छ ।
यहाँ विभिन्न जातजातिका मानिसहरू बसोबास गर्छन्, संस्कृतिमा विविधता छ, र पर्यटनका लागि असाधारण सम्भावना पनि । फलफूल र कृषि उत्पादनका हिसाबले मेलुङले पहिचान बनाउँदै छ । वडा नम्बर १ को पौडी ‘सुन्तला हब’ का रूपमा चिनिन्छ भने अन्य वडामा केरा, किवी र आलुको व्यावसायिक उत्पादन भइरहेको छ ।
‘हाम्रो गाउँपालिका साँच्चिकै सुन्दर छ, रमणीय छ र आत्मनिर्भर बन्ने दिशामा अघि बढ्दै छ’ उनी सुनाउँछिन् ।
महिलालाई आत्मनिर्भर बनाउन संघर्ष
उनको जन्म वि.सं. २०३५ साल भदौ १५ गते दोलखाको पवटी गाविसमा भएको हो । बुबा इन्द्रप्रसाद घिमिरे र आमा जानुका घिमिरेकी कान्छी छोरी गायत्री सानैदेखि न्यायप्रिय र सामाजिक स्वभावकी थिइन् ।
उनी भन्छिन्, ‘म विवाहित नभएको बेलामै महसुस गर्थेँ कि महिला र पुरुषबीच समानता छैन। त्यो नै मेरो राजनीतिमा आउन प्रेरणाको मुख्य कारण हो ।’
२०७४ सालमा उनले उपाध्यक्षको टिकट पाइनन् । बलियो आर्थिक अवस्था नभए पनि राजनीतिक पहुँच सीमित थियो दोष उनी त्यता देखाउँछिन् । तर, २०७९ को निर्वाचनमा भने टिकट मात्रै पाइनन् सफलता पनि हासिल गरिन् ।
एमालेकी आचार्य चार हजार चार सय ४३ मतसहित पालिका उपाध्यक्षमा विजयी हुँदा कांग्रेसका भक्तबहादुर तामाङले दुई हजार पाँच सय २५ मत मात्रै ल्याएका थिए । उनी थप्छिन्, ‘त्यो क्षण जीवनकै अविस्मरणीय रह्यो ।’
निर्वाचित भएपछि उनको पहिलो लक्ष्य थियो, महिलालाई सशक्त बनाउने । उनी भन्छिन्, ‘जबसम्म महिला आर्थिक रूपमा सक्षम हुँदैनन्, तबसम्म उनीहरूको आवाज न सुन्छ। त्यसैले हामीले आत्मनिर्भर महिलाको अभियान सुरु गर्यौँ ।’
उनको पहलमा गाउँपालिकाभर ११८ भन्दा बढी महिला समूह गठन गरेर कृषि, पशुपालन र साना उद्यममा लगाइएको बताइन् । वडा नं. २ मा महिलाहरूले सञ्चालन गरेको डेरी सञ्चालनमा आएको छ । वडा नं. १ मा महिलाहरूले सुन्तला व्यवसायमा व्यावसायिक प्रगति गरेका छन् ।
तालिमलाई व्यवहारमा जोड्नका केन्द्रित छिन् । उनी भन्छिन्, ‘पहिले तालिम हुन्थ्यो, प्रमाणपत्र लिइन्थ्यो र काम सकिन्थ्यो । अब हामीले नीति बनायौँ तालिम दिएपछि त्यसको प्रयोग अर्को दिनदेखि सुरु गर्नुपर्छ। महिलाहरू अब आत्मनिर्भर छन्, साना खर्चका लागि अरूमा निर्भर रहनु पर्दैन ।’
विकासका प्रयास
उनले पालिकामा विकास निर्माणलाई पनि उत्तिकै ध्यान दिएकी छन्। पहिले धेरै वडा कार्यालय जाने समेत हिँड्नुपर्ने ठाउँमा अहिले १२ महिना नै यातायात पुग्नसक्ने व्यवस्था गरेकी छन् ।
पालिकाकै आधुनिक प्रशासनिक भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । पालिकाका निर्णय प्रक्रियामा जनसहभागिता र पारदर्शितालाई मूल आधार पनि बनाइएको उनले बताइन् । योजना निर्माणदेखि बजेट कार्यान्वयनसम्म निगरानी समितिहरू सक्रिय रहेको बताइन् ।
कृषि र पशुपालनमा अनुदान र उत्पादनअनुसार अनुदानको समेत व्यवस्था मिलाइएको छ ।
मिडियादेखि राजनीतिसम्म
उनी पहिले पत्रकारितामा थिइन्, रेडियोबाट कार्यक्रम चलाउँथिन्। त्यही आवाजको माध्यमबाट अहिले जनताको प्रतिनिधि समेत भएकी छन्।
उनले भनिन्, ‘मान्छेहरूले भन्थे, मेरो आवाजले के हुन्छ र? तर म भन्थेँ, मेरो आवाज नै परिवर्तन ल्याउँछ। नेताहरूको शब्दले होइन, जनताको आवाजले देशमा परिवर्तन आएको हो।’
पत्रकारिताले उनलाई बोल्न नडराउने, तर्क गर्न सक्ने र तथ्यसहित प्रस्तुत हुन सिकाएको उनको अनुभव छ । उपाध्यक्षको हैसियतले गायत्रीले विभिन्न तहमा काम गर्न सक्रिय हुन्छिन् ।
न्यायिक समितिबाट कानुनी ज्ञान, राजस्व समितिबाट आम्दानी बढाउने उपाय, संघ संस्थासँगको सहकार्यबाट निगरानी र मूल्याङ्कनका अनुभव यी सबैले उनको नेतृत्वलाई थप जिम्मेवार र परिपक्व बनाएको छ ।
उनी थप्छिन्, ‘हामीले योजना बनाउन मात्रै होइन, त्यसको प्रभाव हेर्न पनि सिक्यौँ। समन्वय, नीति, मूल्याङ्कन र जनसम्पर्कका साथै मेरो सक्रियताले मेलुङलाई सुशासनतर्फ डोर्याइरहेछ । मेरो ध्यान त्यतातर्फ नै केन्द्रित छ पनि ।’
त्यो भावनात्मक सम्झना
उनलाई २०७९ सालको निर्वाचनमा जित सबैभन्दा अविस्मरणीय हो। तर त्यो खुसीसँगै एउटा गहिरो पीडा पनि गाँसिएको छ, उनका बुबा र आमा त्यो क्षणमा थिएनन् ।’
उनी सम्झिन्छिन्, ‘बुबा सधैँ भन्नुहुन्थ्यो, यो छोरीले सामाजिक परिवर्तन ल्याउँछे, तर जब मैले सफलता पाएँ, उहाँहरू हुनुहुन्थ्यो। त्यसैले अहिले म गाउँका ज्येष्ठ नागरिकहरूसँग समय बिताउँछु। जब म उनीहरूसँग नाच्छु, कुरा गर्छु, तस्बिर खिच्छु, मलाई लाग्छ म आफ्नै आमाबुबासँग छु ।’
मेलुङमा ज्येष्ठ नागरिकका लागि एउटा केन्द्र बनाउने योजना बनाएकी छन् । ‘गाउँहरू अहिले खाली हुँदै छन्। छोराछोरी विदेशमा छन्। हाम्रा बुबाआमाहरू एक्ला हुँदै छन्। त्यसैले एउटा केन्द्र बनाउने मेरो प्रयास रहन्छ जहाँ उनीहरूले धार्मिक ग्रन्थ पढ्न, संगीत बजाउन, आपसमा भेटघाट गर्न र सन्तोषका क्षण बाँड्न सकुन्।’
मेलुङबाट देखेको सपना
गायत्रीले मेलुङबाट राजनीतिमा भर्खरै सपना देख्न थालेकी हुन्। उनको लक्ष्य केबल मेलुङ गाउँपालिका मात्रै सीमित रहने छैन। राजनीतिलाई अझै अगाडि बढाउने र जनताको सपना पूरा गर्ने उनको लक्ष्य छ।
मेलुङबाट गायत्रीले देखेको सपना सुरुवात गर्दै छिन्, संघर्षमार्फत बाटो बनाउँछन् सुशासनमार्फत परिवर्तन ल्याउने उनको लक्ष्य छ।
उनी भन्छिन्, ‘राजनीतिक नेतृत्व केवल पद होइन, परिवर्तन मबाट सुरु हुन्छ। मेरो घरबाट सुरु हुन्छ। र जब हरेक महिलाले त्यसरी सोच्न थाल्छिन्, तब देश नै बदलिन्छ। हामीले त्यही सोचका साथ अघि बढ्नुपर्छ र देश निर्माणमा सहयोग पुर्याउनुपर्छ भन्ने नै मेरो सोच हो।’
(नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

Leave a Reply