
रुपन्देही । प्यूठानको गौमुखी गाउँपालिकाले तीन वर्षसम्म आफै बिरुवा खरिद गरेका किसानको १२ लाख रकम नदिएपछि अहिले सार्वजनिक रूपमा आलोचना भएको छ ।
लिबाङका कृषक पदमबहादुर केसी र दीपक वलीले लगाएका बिरुवा खरिद गरेको गौमुखी गाउँपालिकाले १२ लाख रुपैयाँ अझै भुक्तानी नगरेको विषय सार्वजनिक भएसँगै अहिले सबैतिरबाट पालिकाका आलोचना सुरु भएको हो ।
बिरुवाको ढुवानी समेत आफैँ गरेका केसीले ७ लाख ५० हजार, र वलीले ४ लाख ५० हजार भुक्तानी नपाएको र यसको भुक्तानीका लागि धेरै पटक पालिका धाए पनि नपाएको बताएका छन्।
तीन वर्ष बितिसक्दा पनि पैसा नपाएपछि कृषक केसीले फेसबुकमा गुनासो लेख्नुपरेको जनाएका छन् । ‘मैले सकेसम्म यो विषय सार्वजनिक गर्नु रहर थिएन, पालिका आफैले मागेर दिएको हो तर अहिलेसम्म भुक्तानी पाइएन, अरू काम गर्नेलाई १२ लाख ठूलो हुँदैन होला तर किसानलाई यो ठूलो रकम हो, त्यसमाथि ढुवानीसमेत आफैले गरेका छौँ, पालिकामा रकम छैन भनौँ अनेक शीर्षकमा भ्रमण गरिएका छन्, कार्यक्रम गरिएका छन् तर हामीलाई रुवाइएको छ।’ केसीले भनेका छन् ।
यस विषयमा पालिका उपाध्यक्ष महावीर रानाका अनुसार, टिमुर–कागती प्रवर्धन कार्यक्रमको लागि मागअनुसार बजेट नआएपछि तत्कालीन मुख्यमन्त्री र अर्थमन्त्रीसँग सम्पर्क गरी कार्यक्रमको महत्त्व बुझाइएको र दोस्रो चरणमा पठाउने तयारीमा रहेको थियो।
विगतमा बन कार्यालयबाट वितरण भएका टिमुरका बेर्ना उच्च पहाडी भूभागमा नजाने भएकाले स्थानीय नर्सरीमा अर्डर गरेर बिरुवा रोपिएको हो। तर विविध परिस्थितिका कारण बजेट पछि आएको थिएन र लिखित सम्झौताबिना मौखिक विश्वासमा योजना कार्यान्वयन गर्नु कमजोरी भएको उपाध्यक्षले स्वीकार गरेका छन् ।
उनले भने–‘यो कमजोरी संस्थाको नेतृत्वबाट नभएर व्यक्तिगत अनुभवजन्य र अपरिपक्व कारणले भएको हो। नेतृत्व र कार्यपालिकालाई सबै विवरण अवगत गराइएको छ, र यसबाट महत्त्वपूर्ण सिकाइ प्राप्त भएको छ।’
पीडित किसानले मंसिर १ गतेसम्म नपाए आन्दोलन गर्ने घोषणा गरेका छन् ।

Leave a Reply