
काठमाडौं । प्रेस चौतारी नेपालले नेकपा (एमाले) को आउने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रूपमा पुनः पार्टी अध्यक्ष बनाइनु पर्ने बताएको छ । देशका चुनौतीहरू समाधान गर्न फेरि पनि ओलीकै नेतृत्वमा पार्टी र देश अगाडि बढ्नु अपरिहार्य रहेको निष्कर्ष निकालेको अध्यक्ष गणेश पाण्डेले बताए ।
शुक्रबार बिहान बसेको प्रेस चौतारीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आन्तरिक बैठकमा पाण्डेले समसामयिक राजनीतिक परिस्थितिमा ओलीको सक्षम नेतृत्व नै राष्ट्रिय आवश्यकता भएको बताए । देशलाई स्थिरता, राष्ट्रियता र आर्थिक पुनरुत्थानतर्फ अघि बढाउन ओलीको विकल्प नरहेको चौतारीको जिकिर छ ।
‘अहिले पार्टीभित्र विवाद वा प्रतिस्पर्धा होइन, राष्ट्रिय आवश्यकता बुझेको सर्वसम्मत मान्यता आवश्यक छ’, पाण्डेले भने ।
पाण्डेले भदौ २३-२४ गते भएको आन्दोलन प्रतिक्रान्ति भएको दाबी गर्दै त्यसले मुलुकलाई अस्थिरतामा धकेल्ने प्रयास भएको टिप्पणी गरे ।
चौतारीका निवर्तमान अध्यक्ष गणेश बस्नेतले ओलीको नेतृत्वमा एमालेलाई अघि बढाउने विकल्प नरहेको बताए । ओली र एमालेलाई जनताले विश्वास गरेर दिएको समर्थन तथा नेतृत्व क्षमताका कारण नै विभिन्न कोणबाट आक्रमण हुने गरेको उनको दाबी छ ।
महासचिव हिरामान लामाले संगठनमा बसेपछि अनुशासित हुनुपर्ने भन्दै सदस्यलाई स्पष्ट जिम्मेवारी, आचरण र अनुशासनको व्यवहार देखाउनुपर्ने बताए ।

Leave a Reply