
मोबाइललाई जस्तै मान्छेलाई पनि चार्ज चाहिन्छ।
मोबाइलको ब्यालेन्स सकिएझैँ मान्छेको पनि ऊर्जा सकिन्छ।
प्रकृतिमा पुग्न नपाउँदा म आफै चार्ज नभएको मोबाइल जस्तै हुन्छु।
प्रकृतिमा नपुग्दा म आफै ब्यालेन्स सकिएको मोबाइल जस्तै हुन्छु।
यो थोत्रो सहर हेर्दाहेर्दै, धुलाम्मे प्रदूषणमा सास फेर्दाफेर्दै, र मान्छेका अनावश्यक गफहरू (जस्तै: ‘म’, ‘मैले’, ‘मजस्तो अरू को ?’ किसिमका, गर्न र गरेको केही होइन फेरि) सुन्दासुन्दै चिडचिडाहाट हुन्छ र त्यसैले हाईकिङ वा ट्रेकिङ जान्छु।
अनि ब्यालेन्स र ब्याट्री थपेर आउँछु र फेरि चल्ने मोबाइल जस्तै हुन्छु।
हामी प्राकृतिक जीव हौं।
जन्म आमाबुबाबाट भए पनि, हामी प्रकृतिका सन्तान हौं। हाम्रो भित्र प्रकृति छ, पञ्चतत्व छ। त्यो पञ्चतत्व प्रकृतिको विशालतामा गएपछि रिचार्ज हुन्छ, रिब्यालेन्स हुन्छ। जीउ थाके पनि मुहार तेजिलो हुन्छ। अरूलाई ‘कल’ लगाउन मोबाइलले पाएझैँ, अरूसँग हाँसी-हाँसी बोल्न सक्ने भइन्छ। शरीर थाके पनि मन रिचार्ज भएपछि मान्छे मस्त र मनमग्न हुन्छ।
त्यसैले म हिँडिदिन्छु।
सहरका स्वार्थी मान्छेहरूभन्दा गाउँका सादा र सरल जीवन भएका मान्छेको चित्र दिमागले खिच्छ। सास फेर्न नसकिने प्रदूषणभन्दा जतिबेर पनि फेरिरहुँ लाग्ने खुल्ला हावाले मन छुन्छ। अनेक टाँटाँटुटु (ध्वनि) भन्दा चिरबिरमा पुगिन्छ। खोलाको मुहानमा पुग्दा पो थाहा हुन्छ, नदी त खोला, नाला र खोल्सा-खोल्सीहरू मिलेर बनेको हुन्छ। अनि नयाँ ज्ञान हुन्छ: सानो मुहानको पानी जसरी खोला बन्छ, मान्छे पनि एक-अर्कासँग मिलेर पो एक बन्ने रहेछ।
मान्छेभित्र रहेको हार्दिकता हराइसक्नु हरेक सहरको विशेषता नै हो। मानव सागर बोकेको हरेक महानगरमा मान्छे जस्तो मान्छे नै पाइँदैन। अझ, आजकल त सहरमा माटो नै छैन भन्दा पनि हुन्छ। भएको थोरै पार्कको माटो पनि विशुद्ध बनिसक्यो।
पहाडको माटोको महकले मन नै प्रफुल्लित हुन्छ। रङ्गीचङ्गी फूल र फलहरूले क्यामेराले खिचेभन्दा बढी हृदयमा चित्र बनाउँछ। जङ्गलको औराले असाध्यै आनन्द आउँछ। अग्ला घर भएका साना मनका मान्छेभन्दा साना घर र ठूला मन भएका मान्छे हेर्दा हिजोको आफू हुर्केको गाउँमा पुगेझैँ हुन्छ। धान लगाएका खेतहरूले किसानलाई नमस्कार गर्न सम्झाइरहेका हुन्छन्। देख्न छाडिसकेको दृश्य देखेपछि, त्यो दृश्यले अन्तर्दृष्टि बदलिदिन्छ।
यसैले नै म हिँडिदिन्छु।
कहिले कहाँ, कहिले कहाँ ?
यो पाला पनि नसुनेको नाम धुसकोट सेलतापगढी पदयात्रा थियो। लैजाने उही ह्याप्पी हाईकर्स थियो। सदाझैँ चप्पल कारखानामा ५:२५ मा गाडी आयो। सिंगो सहर चक्कर लगाएर गाडी बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट, सुकुटे हुँदै बलेफी पुग्यो।
बलेफीको मूल बाटो छाडेर देब्रेपट्टिको ‘गोले वंश उत्थान’ लेखिएको मूल गेटबाट गाडी भित्र छिऱ्यो। धान काटेर सुकाइरहेको, कोदो लडिरहेको, पहेँलपुर हलुवाबेद फलिरहेको, केराको घारी राताम्मे भएर पाकिरहेको जीवन्त गाउँ हेर्दै पिच बाटो गाउँ उक्लियो। केही पर गएपछि पिच पनि थिएन। डोजरले कोरेको सानो बाटो मात्रै थियो।
गणतन्त्रपछि गाउँपालिकाहरू बने। गाउँ-गाउँमा पिच उकालो उक्लिए। तर एउटा समस्या के छ भने, सानो बाटो भएकाले उताबाट गाडी आयो भने आपत आइलाग्ने किसिमका बाटोहरू बनेका छन्। घुमाउँरो बाटोमा अर्को गाडी आए कसरी पास हुने भन्ने लागिरहेथ्यो। ठ्याक्कै अर्को गाडी आइहाल्यो। बिञ्जयालमा बस्ती थियो, त्यहीँ भएको स्कुलको गाडी रहेछ। कनिकनी पास भए दुई गाडी। मलाई त ‘ओर्लिऊँ कि क्या हो?’ फेरि दुई गाडीले हुक्का-चिलिम (दुर्घटना) हुने हो कि भन्ने पनि लाग्यो। तर केही भएन। उकालो लाग्दै-लाग्दै गएपछि बिञ्जयालबाट चिलाउनी हुँदै चौताराबाट उत्तर-पूर्वको डाँडो धुसकोट आइपुग्यो।
कालो ज्याकेट, आकाशे जिन्स र सेतो टी-सर्टमा सजिएका हाँसिला मान्छेले परैबाट नमस्कार गरे। उनी रहेछन् प्रितम गोले तामाङ। दुवै गालामा डिम्पल भएका उनी त्यो समाजका चल्तीका मान्छे रहेछन्। सानैमा विवाह गरिसकेका उनको पत्नी बलेफी गाउँपालिकाको उपाध्यक्ष रहिछन्। उनी भने पत्रकार, कलाकार र समाजसेवामा जोडिएका रहेछन्। ह्यान्डसम प्रितम प्रियकर लाग्यो। मेमे ट्रेकिङका गाइड इन्सुहाँङ राई यो हाईकका जुइनो (संयोजक) रहेको उनले बताए।

जुगल हिमाल अगाडि रहेको सुन्दर गुम्बा अगाडि उनको टोली स्वागतको लागि तयार भएको रहेछ। त्यो गाउँमा हाईकिङको लागि गएको पहिलो टोली हाम्रै रहेछ। त्यहीँ भएर गाउँका धेरै मान्छेहरू त्यहीँ जम्मा भएका रहेछन्। उनीहरूले तामाङ सेलो गाए। आमाहरूले डम्फु बजाउनुभयो। गुम्बा पछाडि हिमाल हाँसिरहेको थियो। गुम्बा अगाडि आमाहरू हाँसिरहनु भएको थियो। ती दुवै देख्दा हाईकर्सहरूको मन हाँसिरहेको थियो।
डम्फु बजिरहँदा मैले भक्त स्याङ्तानले लेखेको “डम्फुको आत्मलाप” किताब पढिरहेको झैँ लाग्यो। तामाङ संस्कृति र सभ्यता मिलाएर हामीलाई कागजको टीका र फूल दिएर स्वागत गरियो। बलेफी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रितेश तामाङ त्यहीँ थिए। उनी पनि खुब खुसी भए। भने, “तपाईं आएर शुभ पाइला राखेकोमा धन्यवाद, पर्यटकीय र सांस्कृतिक बुझ्न चासो दिएकोमा धन्यवाद।”
गोलेहरूको गोलो रहेको धुसकोटमा पाख्रिन, स्याङ्तान, घिसिङ, स्याङ्बो लगायत ६ सय धुरी तामाङ रहेको जानकारी पाइयो।
स्वागत मन्तव्य सकिएपछि राताम्मे लुगामा सजिएका लामा गुरुज्यूबाट मन्त्र पाठ गरियो। गुम्बाको चहलपहल सकिएपछि हामी खाजा खाने ठाउँमा चल्यौँ।

नयाँ ठाउँ, नयाँ खाजा, नयाँ मान्छेहरूसँग घरको पिँढीमा बसेर रोटी, चना, अण्डा र कालो चिया खायौँ। अनकन्टार त्यो ठाउँमा यसरी बसेर खाइरहँदा पुरातन समाजको फिल्ममा अभिनय गरिरहेझैँ लाग्दै थियो। नजिकै धारो कलकल बगिरहेको थियो। चराहरू कराइरहेका थिए। गाउँका सामुदायिक कुकुरहरू हामीलाई पनि केही दिन्छन् कि भनेर नजिकै आएर बसेका थिए। गाईवस्तु कराइरहेका थिए। चराहरू सुसेली हालिरहेका थिए।
खाजा खाइसक्दा बिहानको ११ः०० बज्न लागिसकेको थियो। आर्मीको टोली जस्तै छिटो खाएर हामी हाईक गर्न थाल्यौँ। बाफ्रे! उकालो हेर्दा टोपी झर्ने थियो। एक जोडी हाईकर त ‘अब सकिँदैन’ भनेर बसमा आएर बसेको माथि पुगेपछि थाहा पाइयो। अरू साथी पनि कति पछि हो कति! माथि उकालोमा आफू हुँदा तलको मान्छे हेर्दा कमिलाको ताँती जस्तो देखिन्थ्यो। उत्तर-पूर्वमा गौरीशंकर हिमाल चिहाइरहेको थियो। दक्षिणमा चौतारा, ‘म कति भिड भइसकेँ, हेर्नु’ भन्दै थियो।

जस्तोसुकै चिसो होस्, उकालोले पसिना छुट्टाइहाल्छ। पसिनाको पानीले पानीढल भइसकेका थियौँ। बस्दै पसिना सुकाउँदै, आफ्नै स्वाँस्वाँ रोक्दै हिँड्दै डेढ घण्टा ठाडो उकालो लागेपछि पुगियो सेलताप मंगला देवी मन्दिर। रुखको टोड्कामा रहेको मंगला माई साक्षात् भएको र उहाँले सबैको रक्षा गर्नुभएको बताउँदै हुनुहुन्थ्यो स्थानीय मिङमार गोले तामाङ।
भन्दै थिए, “हेत्तेरी! माईको शक्तिको कुरै नगर्नुस्, साक्षात् हो साक्षात्! तपाईंलाई थाहै छैन, परबाट डढेलो लाग्दै आयो, सेलताप माईको वरपर आएपछि आफैँ निभ्यो। अर्को कुरा, बन्दुक पड्काए पनि पड्कँदैन यो ठाउँमा। बुझ्नुभयो? जे माग्यो त्यही वर पुग्ने देवी हो उहाँ।”
उनको कुरा परीक्षण गर्ने समय थिएन। बन्दुक पनि थिएन। डढेलो लगाउने हामी हुँदै होइनौँ। वर केही मागिएन। देवता भए थाहा पाएर दिइहाल्नुहुन्छ भन्ने लाग्यो। देवीको थानसम्म बाटो पनि आइपुगेको रहेछ। हामी पुग्दा जिप बसिरहेको थियो। गाह्रो-साह्रो परेकोलाई जिपले तल लगिदिने व्यवस्था रहेको प्रितमले भन्दै थिए।
पिकनिक खाने ठाउँ जस्तै बनोस् भनेर मज्जाले जस्ताको छानोको पाटीहरू बनाइँदै रहेछ। रुखको छेउमा बलि दिने प्रचलन रहेछ। पोथी बलि एक ठाउँमा र भालेको बलि एक ठाउँमा दिइने चलन रहेछ। भारतीय संस्कृतिको प्रभाव स्थानीयभन्दा बढी त्यहाँ पुगिसकेछ। ढुङ्गाका खम्बाहरूको ठाउँमा फलामे कवाडी जस्तै खम्बाहरू हालिएछ। त्रिशूल र घण्टले हाहाकार गरिरहेका थिए। टोड्कामा स्थापना गरिएको साक्षात् देवीलाई प्रतिस्थापन गरेझैँ गर्दैथियो भारतीय शैलीको दुर्गाको मूर्तिले। यो कुरामा स्थानीय स्तरकै भए राम्रो भनेर नमागेको सुझाव दिए हाईकर्सले।
मन्दिर दर्शनपछिको पालो थियो सेलताप गढी। जहाँ पृथ्वीनारायण शाहले उतिबेला बनाएको किल्लाको आकृति गाउँपालिकाले संरक्षण गरेर राखेको रहेछ। १८औँ शताब्दीका पृथ्वीनारायण शाहको जस्तो बुद्धि कुनै राजाको भएन भन्ने लाग्यो। २० वर्षमा राजा भएका उनले बनाएको साँगाचोक गढीमा यसअघि पुगेका थियौँ।
चिसापानी गढी, साँगाचोक गढी, सेलताप गढी, मुन्दला गढी र जुगुना गढी गरेर एकीकरण मार्ग वा गोर्खाली ट्रेल्स बनाउन सकिने रहेछ। गोर्खाली सेनाले पानी खान बनाएको धारो देखियो। हामीसँग हिँडेका तामाङ दाइ भन्दै थिए, “हामी कहिलेकाहीँ आवेशमा क्षेत्री-बाहुनलाई गाली गर्दछौँ, उतिबेला यो ढुङ्गा ल्याएर यसरी क्षेत्री-बाहुनले बनाएको बाटोमा अहिले हिँड्दैछौँ, कत्ति मेहनत गरेको होला है?”

हुन पनि शत्रु पक्ष आयो भने एक गढीले अर्को गढीलाई मद्दत गर्दै उतै रोक्दै राजधानी आउन नदिने कस्तो राम्रो योजना पृथ्वीनारायण शाहको भन्ने लाग्यो। त्यसै नेपाल देश बचेको होइन भन्ने लाग्यो। यसरी बनेको देश आज अरूको एजेन्ट बनेर थोरै पैसाको लागि लागेर आफ्नो राष्ट्रको इतिहास धरापमा पार्ने कुलङ्गारहरूलाई गाली पनि गरे साथीहरूले।
अबको पालो थियो भुसुने झरनाको। जङ्गलभित्र हराउँदै, रमाइलो कुराकानी गर्दै, बाटो नभएको बाटो हुँदै लड्दै, पड्दै, जुकालाई रगत चुसाउँदै पुगियो झरना। कात्तिकमा भुसुने झरना भुसुना झैँ भएको रहेछ। भिर मौरीले पारेको मह एक चराले खाँदै गरेको सुन्दर दृश्य हेर्दा लाग्यो, एक-अर्कासँग मिलेर जङ्गलका जीवनहरू बाँचेका छन्।
आएकै बाटो फर्कनु जीवनकै नियम नै हो। हामी आएको बाटो फर्कँदै डोजरे विकासको बाटो आइपुग्यौँ। भुसुने झरनाबाट डेढ घण्टा हिँडेपछि पहिलेकै ठाउँमा आएर खाना खाइयो। ११ः०० बजे बिहान हिँडेको हामी कहीँ-कहीँ सुस्ताउँदै, वाटर ब्रेक, गढी ब्रेक, देवी थान ब्रेक, खाजा ब्रेक, झरना ब्रेक गर्दै सात घण्टामा खाना खाने ठाउँमा पुगियो। गाडीमा बस्न जाँदा सूर्यले राताम्मे भएर बिदा भन्दै थियो। हामी सूर्यलाई बाइबाई गर्दै धुसकोटबाट कच्ची बाटो हुँदै बलेफी आइपुग्यौँ।
बलेफीमा आएपछि फेरि गाडी बिग्रियो। ‘स्टार्ट’ नै नहुने रोग लाग्यो। यसले अर्को ३० मिनेट खायो। गाडीमा गुड्दा पेट्रोल सकिँदै थियो। बाटोमा बियर साथीहरू थप्दै थिए। बियर खाने र फाल्ने गर्दा अर्को एक घण्टा ढिलो भयो। ६ः०० बजे रात परिसकेको थियो। घर पुग्दा १०ः३० भइहाल्यो। यसरी बिहान ४ः३० उठेदेखि रातीको १०ः३० सम्मको १८ घण्टाको दिन छिनभरमै सकिए जस्तै भयो।
०००
त्यो १८ घण्टा एक हप्ताको रिचार्ज कार्ड थियो।
गाडीमै ६/७ घण्टा बिताउँदा र बियर पिउनेहरूको बकवास समयले हैरानी भए पनि हानि भएन। गाडीका ‘बुझ्नुभयो, मैले त पहिले नै भनेको होइन र?’ किसिमको गफ मनले नमाने पनि कानले सुनिरहेको थियो।
यी सबै बाहेक सुन्दर धुसकोटका मनोहर गुम्बा, मन्दिर र गढी मनमा बसिरहेछ। त्यहाँको स्थानीयले तामाङ सेलो शैलीमा प्रितम गोलेको रचना, डम्फुको सङ्गीत र संयुक्त गायन गुञ्जिरहेको छ:
देवताको रूपमा पाल्नुहुने पाहुना ज्यू,
फूलले गर्दछु स्वागत, जलले गर्दछु स्वागत।
जुगल हिमाल हिउँझूसी,
भयो भयो हाम्रो मनखुसी।
सुनको औँठी गाड्नुभयो,
टाढाको पाहुना पाल्नुभयो।
जुगल हिमाल हिउँझूसी,
भयो भयो हाम्रो मनखुसी।
हामी पनि फरक ठाउँ, फरक गाउँ, फरक मान्छे र फरक खाना खाएर फर्कँदा मोबाइलमा ब्याट्री चार्ज भएझैँ भएका छौँ। ब्यालेन्स सकिएर फोन नलाग्ने जस्तो भएको शरीरमा धुसकोटको ब्यालेन्स रिचार्ज गरेका छौँ। यो हप्ताको रिचार्ज किन्न जम्मा १२ सय लिएको थियो ह्याप्पी हाईकर्सले। यसरी ब्यालेन्स र ब्याट्री शरीरमा थप्नेहरू निम्न थिए:

राजाराम फुयाँल, भुवन ढकाल, अनुज ढकाल, नमन फुयाँल, नीकीता केसी, नम्रता योगी, निराकार श्रेष्ठ, राजेन्द्र भण्डारी, राजु बस्नेत, रामेश्वर फैजु, राम श्रेष्ठ, राम थापा, सुरेन्द्र फुयाँल, सनत कुमार रेग्मी, सरिना महर्जन, सुदिप अधिकारी, सुमन कार्की, सन्तोष रिजाल, सावित्री रिजाल, ध्रुव रिजाल, शंकर आचार्य, प्रदीप कँडेल, प्रमिला सापकोटा, प्रविण अर्याल, पुजा जिरेल, एमि जिरेल, बाबुकाजी महर्जन, लक्ष्मणकाजी श्रेष्ठ, जेपी दाहाल, आनन्द चापागाई, भोला खनाल।

Leave a Reply