रुपन्देहीमा पहिलोपटक भेटियो किङ कोब्रा, सर्प उद्दारकर्ताद्वारा उद्दार

रुपन्देही । पहाडी भेगमा मात्रै पाइने मानिएको किङ कोब्रा (राज गोमन) सर्प रूपन्देहीमा भेटिएको छ । यसका जानकारहरुका अनुसार यो रुपन्देहीमा पहिलोपटक भेटिएको छ ।

देवदह नगरपालिका वडा नं १० चरङ्गेकी लेमकुमारी रानामगरको घरमा सो दुर्लभ सर्प फेला परेपछि परिवारले तत्काल सर्प उद्धारकर्तालाई खबर गरेका थिए ।

सर्प उद्धारकर्ता विशाल पाण्डेका अनुसार चरङ्गेमा भेटिएको किङ कोब्रा १२ फिट ३ इन्च लामो र ७ किलो २०० ग्राम तौलको रहेको छ । तीन घण्टासम्मको प्रयासपछि बुटवल स्नेक रेस्क्यु टीमका सदस्य नवीन पौडेल, सागर पाण्डे, विश्वास पाण्डेलगायतको टोलीले सुरक्षित रूपमा सर्प उद्धार गरेको हो ।

उद्धारपछि किङ कोब्रालाई डिभिजन वन कार्यालयको रोहवरमा सर्जमिन गरी जिल्लाकै घना जंगल क्षेत्रमा पुनः छोडिएको देवदह–१० का वडाध्यक्ष एकबहादुर सुनारले बताए ।

नेपालमा अत्यन्त दुर्लभ प्रजातिको मानिने किङ कोब्रा पछिल्ला वर्षहरूमा मध्यपहाडी क्षेत्रमा मात्र छिटफुट रूपमा देखिँदै आएको छ । सर्पसम्बन्धी विज्ञहरूका अनुसार यो प्रजाति अत्यन्त विषालु भए पनि नेपालमा यसले मानिसलाई डसेको आधिकारिक जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।

नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ कोब्राको संख्या अत्यन्त न्यून रहेको र यसले अन्य सर्पहरूलाई आहाराका रूपमा खाने गरेको उद्धारकर्ता नवीन पौडेलले बताए । १४ वर्षअघि बुटवलको फूलबारीमा मृत अवस्थाको एउटा किङ कोब्रा फेला परेको तथ्य रहेको छ ।

उद्धारकर्ता विशाल पाण्डेको नेतृत्वमा रहेको टिमले यस वर्ष मात्रै रूपन्देहीको तिलोत्तमा लगायत स्थानबाट २३ वटा कमन कोब्रा, ६ वटा रसल्स भाइपरसहित करिब ४०० भन्दा बढी विषालु सर्प उद्धार गरी सुरक्षित स्थानमा छोडिसकेको जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *