
जनकपुरधाम । मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डललाई ७ दलले महाअभियोग लगाउने तयारी गरेका छ्न् । प्रदेश प्रमुख पदमुक्तपछि मुख्यमन्त्री र सभामुखविरुद्ध खनिएको नेपाली कांग्रेससहितको सात दलले सभामुख रामचन्द्र मण्डललाई महाअभियोग लगाउने तयारी गरेका हुन् ।
जनकपुरमा बिहीबार दिउँसो बसेको सात दलको बैठकले प्रदेश सरकार गठनमा तटस्थ भूमिका नखेलेको र लचकता अपनाएर प्रदेशसभा सञ्चालन गर्नु पर्नेमा महाअभियोग आए सामना गर्न तयार छु भन्ने अभियव्यक्ति दिएर प्रदेशसभाको गरिमा नै बिगार्न खोजेको उनीहरूको आरोप छ ।
महाअभियोग दर्ताका लागि सभामुखको सचिवालय पुगेको सात दलको टोलीलाई नेकपा एमालेका नेता कार्यकर्ताले अवरोध गरिरहेका छन् । महाअभियोग दर्ता गर्न पुगेको टोली र एमालेका कार्यकर्ताहरुको अवरोधले सभामुखको सचिवालयमा तनावको स्थिति बनेको छ ।
बिहीबारको बैठकमा प्रदेश सभाका ७४ सदस्यहरूले सभामुखलाई महाअभियोगका लागि हस्ताक्षर गरेका छन् । मधेश प्रदेश सभामा १०४ सदस्य छन् । १ निलम्बन र सभामुखसहित एमालेको २५ सदस्य छ । सभामुखलाई महाअभियोग लगाउन कांग्रेस, जनमत, जसपा नेपाल, लोसपा नेपाल, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहित दलहरुले दुई तिहाइ मत पुग्ने भएपछि महाअभियोगको तयारी गरेका हुन् ।
शनिबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले विश्वासको मत लिने समयमा नेकपा माओवादी केन्द्रका दुई सांसद रहबर अन्सारी र माला कर्णलाई बोल्ने मौका दिएर सभामुखले मुख्यमन्त्रीले विश्वासको मत लिने वातावरण बिगारेको र त्यसपछि विश्वासको मत परीक्षण गर्ने वातावरण नै नबनाएको सात दलको आरोप छ ।
माओवादीका दुई सांसदको आक्रोशपछि विश्वासको मत पाउने अवस्था नदेखेर मुख्यमन्त्री सोनलले राजीनामा घोषणा गरेका थिए । सहमतिको वातावरण बनाउन खोज्दा सभामुख मण्डलले हठात् प्रदेशसभा स्थगित गरेर राजनीतिक विश्वासको वातावरण बिगारेर एमालेलाई मुख्यमन्त्री बन्न सजिलो बनाएको उनीहरूको जिकिर छ ।
सोमबार मधेश प्रदेश सरकारमा ठूलो दलको नाताले प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेर उपचारका लागि काठमाडौँ हिँडेकी थिइन् । उनलाई संघीय मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरिसकेका छन् । नयाँ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ लिइसकेका छन् ।

Leave a Reply