सीमा नाकामा तस्करले आक्रमण गर्न थालेपछि सशस्त्र प्रहरीद्वारा हवाई फायर

रूपन्देही । नवलपरासीको गुठिप्रसौनीस्थित बसैया नाका क्षेत्रमा तस्करले आक्रमण गर्न थालेपछि सशस्त्र प्रहरीले हवाई फायर भएको छ । दशगजा नजिक क्षेत्रमा भारतबाट भारतीय मोटरसाइकलमा आउँदै गरेका व्यक्तिले सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्न थालेपछि २ राउन्ड हवाई फायर भएको हो ।

राति करिब १२ बजेको समयमा दशगजा नजिक पिलर नम्बर ५०२–७ भठ्ठा क्षेत्रमा मोटरसाइकलमा तस्करी गरिरहेको पाइएको थियो । ती व्यक्तिहरूले ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि सुरक्षाका लागि हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी बल नेपाल नवलपरासीका एसपी सन्तोष रायमाझीले जानकारी दिए।

सीमावर्ती भारतीय बजार लक्ष्मीपुरको नाका हुँदै ५–६ वटा मोटरसाइकलमा सुकेका माछाका सिद्रा ल्याउँदै गरेका थिए । चेकजाँच गर्ने क्रममा सामान ल्याउने व्यक्तिहरूले हल्ला गरेपछि भारतीय क्षेत्रबाट थप २५–३० जना व्यक्ति आएर ड्युटीमा खटिएका प्रहरीमाथि हहुलहुज्जत गरी आक्रमण थालेपछि सुरक्षाका लागि २ राउन्ड हवाई फायर गरेको एसपी रायमाझीले बताए । हवाई फायरपछि उनीहरू भारततर्फ भागेका थिए ।

मोटरसाइकलबाट भाग्नेक्रममा खसेका २ बोरा सिद्रा माछासमेत फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। भारतको बिहार राज्यमा चुनाव रहेकाले सीमा नाकामा केही दिनदेखि भारतीय प्रहरीको उपस्थिति कम छ। नाका खुलाजस्तै देखेपछि अहिले भारतबाट नेपालतर्फ माछालगायतका सामानको तस्करी गर्ने व्यक्तिहरू सल्बलाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *