सबै दल प्रचण्डपन्थी भए, देशमा बलियो मध्यदक्षिणपन्थी पार्टी अत्यावश्यक छ : रविन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले देशमा एउटा विश्वासिलो र बलियो मध्यदक्षिणपन्थी पार्टी अत्यावश्यक रहेको बताएका छन् ।

पुरानादेखि नयाँसम्म सबै राजनीतिक दल र नागरिक समाज अहिले ‘प्रचण्डपन्थी’ बनेको उनको टिप्पणी छ ।

नेपाल मूलतः मध्यदक्षिणपन्थी समाज भएको मिश्र बताउँछन् । तर यसमा अति वामपन्थी र मध्यवामपन्थी विचार लादिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा मिश्र लेख्छन्, ‘अति’ हुँदै ‘मध्य’ मा आइपुगेका प्रचण्ड गत ३० वर्षदेखि वामपन्थी राजनीतिको केन्द्रमा छन् । उनले पुरानादेखि नयाँसम्म सबै राजनीतिक दल र नागरिक समाजलाई ‘प्रचण्डपन्थी’ बनाइदिए । ती सबै प्रचण्डपन्थीहरू प्रचण्डलाई गाली गर्न चाहिँ छोड्दैनन् । उनीहरू सबै ‘प्रचण्डभन्दा महान् परिवर्तनकारी हामी हौँ’ भनेर पुष्टि गर्न सङ्घर्षरत छन् ।’

हरेक समाज र राजनीतिलाई सन्तुलनमा राख्न त्यहाँ मध्यदक्षिणपन्थी र मध्यवामपन्थी दुवै धार बलियो हुनुपर्ने मिश्रको विश्लेषण छ ।

उनी थप्छन्, ‘दु:खको कुरा नेपालमा समाज मध्यदक्षिणपन्थी छ तर देशमा एउटा पनि विश्वासिलो र बलियो मध्यदक्षिणपन्थी पार्टी छैन । त्यसैकारण नेपाली समाज अन्यौल र विरोधाभासग्रस्त छ । पैँतीस वर्षे राप्रपालाई आजको सबैभन्दा ठूलो चुनौती त्यो विश्वासिलो र बलियो मध्यदक्षिणपन्थी पार्टी हामी नै हौँ भनेर प्रमाणित गर्नु हो ।’

देश बचाउन र बनाउन ‘पृथ्वीपथ’ लाई अङ्गाल्ने र जनताले विश्वास गर्नसक्ने मध्यदक्षिणपन्थी पार्टी कसरी बनाउने भन्ने अहिलेको प्रमुख विषय भएको मिश्रले बताएका छन् । व्यक्तिगत अहं र स्वार्थभन्दा माथि उठेर सबैले त्यसमा गम्भीर चिन्तन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘अन्यथा, विश्वासिलो र बलियो मध्यदक्षिणपन्थी पार्टीको अभावमा समाज, राजनीति र देशलाई ‘विकृत र विषाक्त वामवादले’ गाँजेर अस्तित्वको सङ्कट सिर्जना गर्नेछ,’ उनले लेखेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *