
भोजपुर । नेकपा एससहित १० वाम घटकको एकतालाई लिएर माओवादी रामप्रसादराई गाउँपालिकाको नेतृत्वले असहमति जनाएको छ । यो गाउँपालिका पूर्वममन्त्री एवं एकता प्रक्रियाबाट अलग्गिएका नेता सुदन किरातीको पालिका हो ।
पालिकास्तरीय कमिटीका अध्यक्ष शुरेसचन्द्र राई, उपाध्यक्ष अमर राई, सचिव सोमकुमार राई, सहसचिव विनोद मगर र कोषाध्यक्ष रमेश सुनारले संयुक्त विज्ञप्ति निकाल्दै एकता प्रक्रियामा असहमति जनाएका छन् ।
‘बदलिएको परिस्थितिमा आन्तरिक पाटीलाई रूपान्तरण सहित एकतावद्ध बनाउनु पर्ने थियो । तर, जनता र कार्यकर्ताको भावना विपरित हठात पार्टी एकताको नाममा आफ्नो विचार, इतिहास र पहिचान गुमाउने गरी साथै पार्टीको छवि माथी नै उत्तर दिनु नसक्ने गरी प्रश्न उठेको छ । यो प्रकारले गरिएको एकता प्रति हाम्रो गाउँपार्टीको गम्भिर असहमति रहेको स्पष्ट गर्दछौं’, विज्ञप्तिमा लेखिएको छ ।
यो पालिकामा माओवादी प्रभाव राम्रो मानिन्छ । गाउँपालिका अध्यक्ष थामप्रसाद राई ‘निर्माण’ भने कुन कित्तामा उभिन्छन् प्रष्ट भइसकेको छैन । संस्थापन र सुदननिकट दुवै पक्षले निर्माण आफूहरूसँग रहेको दाबी गर्दै आएका छन् ।


Leave a Reply