सुरेन्द्र पाण्डे भन्छन्: भदौ २३ गतेको घटनामा तत्कालीन सरकार दोषी

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जेन-जी आन्दोलनको क्रममा २३ गतेको घटनाको दोषी तत्कालीन सरकार रहेको बताएका छन् ।

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले तत्कालीन सरकारका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘गोली कसले चलाएको थाहा छैन’ भन्नु गलत रहेको जिकिर गरे ।

‘धरहरा कसले बनायो भन्दा तत्कालीन सरकारले बनाएको भन्ने तर, गोली कसले चलायो भन्दा थाहा छैन भन्नु गलत हो । २३ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ’, पाण्डेको माग छ ।

उनले पहिलो दिनको घटनामा सरकार दोषी भएजत्तिकै २४ गतेको घटना पनि अक्षम्य रहेको बताएका छन् । देशमा कानूनी शासन स्थापित गर्न पनि दुवै दिनका घटनाका दोषीले उन्मुक्ति पाउनु नहुने पाण्डेको भनाइ छ ।

उपाध्यक्ष पाण्डेले नेकपा एमाले सरकारमा भएको कारण भएको घटना भएकोले पनि छानबिनमा सघाएर यो घटनाको दागबाट मुक्त भएर नबसे माओवादीका नेता कार्यकर्ता जस्तै कहिले समातिइन्छ भन्ने त्रासमा बस्नुपर्ने बताए ।

जेन-जी आन्दोलन एमालेको भलीभाँति कमजोरीको उपज भएको दाबी गरेका छन् । पार्टी र सरकारका संयन्त्रलाई यति ठूलो आन्दोलन र विध्वंसको सूचना नहुनु ठूलो कमजोरी भएको उनको भनाइ छ ।

अर्को प्रसङ्गमा उपाध्यक्ष पाण्डेले टेको लाउने शक्ति नै नभएको अहिलेको सरकारले चुनाव गराउन सक्नेमा शंका व्यक्त गरेका छन् । चुनावको लागि प्राविधिक, राजनीतिक र मनोवैज्ञानिक तयारी नै नगरेको उनको टिप्पणी छ । पाण्डेले दलहरू चुनावको लागि सकारात्मक भएपनि दलका नेतासँगको संवादमा सरकारको उदासिनता देखिएको बताए ।

‘फागुन २१ मा चुनाव गराउन निकै कठिन छ, चुनावको मनोविज्ञान बनेको छैन । प्राविधिक तयारी नै सरकारको पुग्दैन । तर, चुनाव नभएको अवस्थामा देश अझ अन्यौलतामा जान्छ’, उनले सुनाए ।

एमालेको आसन्न महाधिवेशनका बारेमा भने उनले नेतृत्वको लागि निर्वाचन हुने दाबी गरेका छन् । आठौँ महाधिवेशनबाट प्रतिस्पर्धाको राजनीति थालेको सम्झिँदै उनले भने, – ‘हाम्रो महाधिवेशनमा प्रतिनिधि बराबर हुन् । प्रतिस्पर्धा कसैले रोक्न सक्दैन । प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *