
गिरिजाप्रसाद कोइरालाले सत्ता-शक्तिको अभ्यासमा आएपछि यति धेरै नातावाद, कृपावाद र व्यक्तिवाद चलाए कि, समस्त कांग्रेसजन आजित थिए। गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता कांग्रेस निर्माणमा बीपीपछिका विकल्प थिए । जब गिरिजा शक्तिमा आए, उनको कार्यशैलीगत विमतिका कारण जीवनको आखिरी समयमा ‘कांग्रेस रहिनँ’ भन्ने स्थितिमा पुगे। शेरबहादुर देउवाले त पार्टीलाई विभाजन गर्नुपर्ने स्थिति बन्यो ।
तर, राजनीतिमा समयले अवसरहरू उत्पन्न गरिरहेको हुन्छ। २०४८ सालदेखि गिरिजाले कमाएका तमाम बदनामीको एकमुष्ट निराकरण गर्नका निम्ति समय आइदियो, २०५९ असोज १८ पछि। तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा विघटन गरे। जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरेर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री नियुक्त गरे।
राजाको कदमबाट २०४६ सालका उपलब्धि अपहरित हुने भएपछि गिरिजाप्रसाद कोइरालासँग राजनेता बन्ने अवसर आयो। लोकेन्द्रबहादुर चन्दपछि सूर्यबहादुर थापा प्रधानमन्त्री बनाइए । क्रमशः अनुदार बन्दै गएका राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा त राजकीय सत्ता नै आफूमा निहित गरी मन्त्रिपरिषद्को अध्यक्ष बने। प्रतिगमन विरूद्ध जनतालाई जगाउन हम्मे परेको थियो। जनताले राजनीतिक दललाई ‘नपत्याउने’ तहमा विसङ्गतिहरू झाँगिएका थिए।
राजनीतिक दलहरूले जनतालाई जगाउन एक वर्ष कुर्नुपरेको थियो। र, २०६२ साल फागुन–चैतदेखि दोस्रो जनआन्दोलन सुरू भयो। त्यसको कमान्डर गिरिजा थिए। २०६३ मा जनआन्दोलन सम्पन्न भएपछि उनै ‘बदनाम गिरिजा’ नयाँ संस्करणमा प्रस्तुत भए। उनले पहिलो संविधानसभाको निर्वाचन गराए। देशमा गणतन्त्र ल्याउने अभियानमा अग्रमोर्चामा उभिए। राजालाई दरबारबाट बिदा गरे। आज उनै स्व. गिरिजाप्रसाद कोइराला गणतन्त्रको जननीका रूपमा सम्झिनुपर्ने पात्र बनेका छन्। जीवनको आखिरी समयमा सच्चिएर नश्वर शरीरबाट उनी बिदा भए।
जेन–जी आन्दोलनका नाममा निहत्था विद्यार्थी दिनदहाडै मारिएका छन्। ‘गोली प्रहरी हान्यो, मैले किन जिम्मा लिने ?’ भनेर सुख पाइने कुरा होइन यो। देशको प्रधानमन्त्री भइसकेपछि चरा र मुसाको अनाहकमा ज्यान लिइयो भने पनि जिम्मा लिनुपर्छ।
जेन–जी आन्दोलनपछि नेपाली राजनीतिमा पहिलो पुस्ताका राजनीतिक व्यक्तित्वका निम्ति रूपान्तरणको अवसर उपस्थित भएको छ। उनीहरूले चाहँदा सच्चिने ठाउँहरू छन्। ७५ देखि ८२–८३ वर्ष उमेरका ती व्यक्तिहरू आज सच्चिए भने, रूपान्तरणको कार्यभारअन्तर्गत पुस्तान्तरणतर्फ अग्रसर भए भने इतिहासले उनीहरूलाई सदैव ‘महापुरुष’ र ‘राजनेता’ नै भनेर सम्झिरहनेछ। अन्यथा, ‘खलपात्र’ कै रूपमा जीवन विसर्जित हुन्छ।
केवल उनीहरूमात्र विसर्जित हुँदैनन्। उनीहरू जुन विरासत थामेर दम्भ, अहंकार र शक्तिका साथ उभिएका छन्, ती संस्थाहरू पनि क्रमशः ‘खलपात्र’ को मतियारीका नाममा क्रमशः विसर्जित हुनेछन्। त्यसबेला इतिहासका कस्ता कस्ता गौरवहरू बोकेर यहाँसम्म आएका कांग्रेस, कम्युनिस्ट कोही पनि बाँकी रहँदैनन्, एक-एक विसर्जनतिर लाग्नुपर्ने खतरा रहन्छ। त्यसैले आजका ‘मूल नेतृत्व’ हरू स–सम्मान बिदाइका निम्ति तयार हुनैपर्छ। यो समयले ल्याएको अवसर हो। फेरि–फेरि यो मौका आउँदैन।
यति भनेपछि ती पात्रका नाम पाठकका मनमा त्यसै पनि आइसकेका छन्। लेख्नु पनि पर्छ कि, शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल र उनीहरूजस्ता अरू सबै। त्यसमध्ये पनि पंक्तिकारका निम्ति सम्मानित व्यक्तित्वको नाम हो, केपी शर्मा ओली। इतिहासले ‘सुखी नेपाली, समृद्ध नेपाल’ का परिकल्पनाकार भनेर सधैँ–सधैँ सम्झिरहने व्यक्तित्वका रूपमा उहाँलाई स्थापित गर्छ कि गर्छ भन्ने चिन्ता सबै एमालेजनमा छ। त्यसैले अहिले प्राप्त अवसरको उपयोग कमरेड केपी ओलीले गरिहाल्नुहुन्छ, गरिहाल्नुपर्छ, ढिलो गर्नुहुँदैन भन्ने अपेक्षा व्यक्त गर्नु वाञ्छनीय हुन्छ।
मानौँ–नमानौँ, केपी ओली नेपाली राजनीतिमा स्थापित एक मौलिक व्यक्तित्वसहितको पात्र हो। उहाँले राजनीतिमा स्थापित गर्नुभएका विभिन्न मूल्य, मान्यता र अभ्यासहरू ऐतिहासिक छन्। काम गर्ने क्रममा राम्रासँगै कतिपय नराम्रा कुरा पनि हुन्छन्। जसरी आज गिरिजाप्रसाद कोइरालाले चलाएका नातावाद, कृपावादको चर्चा हुँदैन। त्यसरी नै भोलि केपी शर्मा ओलीका ‘व्यक्तिवादी अहंकार’ का गीतहरू गाइरहनु नपर्ने व्यक्तित्व निर्माणका निम्ति आज हातैमा अवसर आएको छ। त्यसलाई सदुपयोग गर्दै पार्टी नेतृत्व अर्को पुस्तालाई वा आफैँले चाहेको उत्तराधिकारीलाई नै सुम्पिए पनि हुन्छ। त्यो गर्नैपर्छ, अनि मात्र नेकपा (एमाले) सग्लो, सुन्दर र सुदृढ रहन्छ।
त्यसो गर्दा असंवैधानिक तवरले संसद्को विघटन गरेको कुरा जनताले बिर्सिन्छन्। र, उहाँले निर्माण गरेका कतिपय सकारात्मक मानक समाजमा स्थापित हुँदै जानेछन्। त्यसैअनुसारको व्यक्तित्व निर्माण हुन्छ र इतिहासले केपी शर्मा ओलीका नाममा गर्व गर्छ। उहाँको देहान्तपछि धर्तीमा बाँचेका अनुयायी, कार्यकर्ता र नेताले बारम्बार उहाँकै नाम लिनेछन्, जसरी आज पुष्पलाल, मदन र मनमोहनको नाम लिन एमालेजनलाई कुनै सङ्कोच छैन।
यस्ता कुरालाई आज ‘चानचुने’ कुरा बनाइयो वा बनाउन खोजियो भने भोलि पूरै एमाले ‘चानचुने पार्टी’ भएर सकिन्छ। त्यसैले जेन–जी आन्दोलनमा भएका धनजनको क्षतिप्रति नैतिक जिम्मेवारी लिँदै आगामी परिस्थिति सुन्दर र सुदृढ बनाउन आजै नेतृत्व हस्तान्तरणमार्फत कमरेड ओलीले सन्देश दिनुपर्छ। नदिने हो भने आफूसँगै सिंगो एमाले अभियान सकिन वा सिध्याउन तयार हुनुपर्छ।
केपी शर्मा ओली पनि त्यस्तै व्यक्तित्वका रूपमा स्थापित हुनुपर्छ भन्ने तमाम एमाले कार्यकर्ता, नेता, समर्थक र शुभचिन्तकको मान्यता हो। त्यसका निम्ति प्राप्त अवसरलाई सदुपयोग गर्दै पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्छ। एमालेको हित र कल्याणका निम्ति योभन्दा अर्को बाटो छैन।
यदि त्यसो भएन भने दुःखका साथ भन्नुपर्छ, केवल केपी शर्मा ओलीको व्यक्तित्व विघटित हुँदैन, सिंगो एमाले र त्यसले धानेको नेपाली कम्युनिस्ट आन्दोलनको एउटा भव्य विरासत विघटित हुन्छ। किनभने, विश्व परिदृश्यमा यस किसिमको भूमिका र कार्यशैलीले कतै पनि कम्युनिस्ट आन्दोलनलाई टिकाएको छैन।
मिखाइल गोर्भाचोभको लहडमा सोभियत सङ्घ मात्र ढलेन, लेनिनको देशमा कम्युनिस्टहरू आज रक्षात्मक स्थितिमा छन्। छिमेकी भारतको पश्चिम बंगालमा यसरी नै ज्योति बसुले आफूपछिको उत्तराधिकारी तयार गर्न नचाहेकै पृष्ठभूमिलाई हेर्न सकिन्छ। उनको देहान्तपछि आन्दोलनलाई धान्ने कोही भएन। त्यहाँका कम्युनिस्ट सखाप भए। समयमै नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको माध्यमबाट नेतृत्व निर्माण गर्दै गएको भए आज पश्चिम बंगालले सिंगो भारतलाई कम्युनिस्ट अखडामा परिणत गर्नसक्ने महान् अवसर थियो। व्यक्तिवादी कार्यशैलीले त्यो अवसर गुम्यो। आज भारतमा ‘कम्युनिस्ट कुन चरोको नाम हो ?’ भन्नुपर्ने स्थिति छ।
नेपालमा त यतिबेला एमालेका निम्ति आइलागेको सङ्कट अझ गम्भीर छ। जेन–जी आन्दोलनका नाममा निहत्था विद्यार्थी दिनदहाडै मारिएका छन्। ‘गोली प्रहरी हान्यो, मैले किन जिम्मा लिने ?’ भनेर सुख पाइने कुरा होइन यो। देशको प्रधानमन्त्री भइसकेपछि चरा र मुसाको अनाहकमा ज्यान लिइयो भने पनि जिम्मा लिनुपर्छ। त्यसमाथि ती कलिला विद्यार्थी थिए, हजार सपना बोकेर हातमा किताब र कलम च्याप्दै स्कुल, कलेजतिर जाँदै थिए। उनीहरू मारिएको जिम्मा लिँदैलिन्नँ भन्नु भनेको आफूमात्रै हैन, आफूसँगै एमाले संस्था सिध्याउनु हो।
मुख्य प्रशासनिक भवन सिंहदरबारसहित संसद्, सर्वोच्च अदालत, निजी क्षेत्रका औद्योगिक प्रतिष्ठान ध्वस्त पारिएका छन्। सबैलाई थाहा छ, केपी शर्मा ओली ढुङ्गामुढा गर्दै, आगोको मुस्लो बोकेर त्यहाँ जानुभएको होइन। त्यसैले त्यो काम उहाँले गर्नुभएन भनेर भन्ने कुरा त केवल स्तुतिगान हो। त्यो हदको घटना हुँदा त्यसलाई नियन्त्रणमा लिन नसकेको र आफ्नो प्रधानमन्त्रीत्वकालमा त्यत्रो विनाश भएकोप्रति अझै पनि नैतिक जिम्मेवारी नलिने हो भने कमरेड ओलीको व्यक्तित्व मात्र होइन, सिंगो एमाले विरासतको विघटन धेरै टाढा नहुनसक्छ।
जेन–जी आन्दोलनपछि नेपाली राजनीतिमा पहिलो पुस्ताका राजनीतिक व्यक्तित्वका निम्ति रूपान्तरणको अवसर उपस्थित भएको छ। उनीहरूले चाहँदा सच्चिने ठाउँहरू छन्। ७५ देखि ८२–८३ वर्ष उमेरका ती व्यक्तिहरू आज सच्चिए भने, रूपान्तरणको कार्यभारअन्तर्गत पुस्तान्तरणतर्फ अग्रसर भए भने इतिहासले उनीहरूलाई सदैव ‘महापुरुष’ र ‘राजनेता’ नै भनेर सम्झिरहनेछ। अन्यथा, ‘खलपात्र’ कै रूपमा जीवन विसर्जित हुन्छ।
त्यसैले यस्ता कुरालाई आज ‘चानचुने’ कुरा बनाइयो वा बनाउन खोजियो भने भोलि पूरै एमाले ‘चानचुने पार्टी’ भएर सकिन्छ। त्यसैले जेन–जी आन्दोलनमा भएका धनजनको क्षतिप्रति नैतिक जिम्मेवारी लिँदै आगामी परिस्थिति सुन्दर र सुदृढ बनाउन आजै नेतृत्व हस्तान्तरणमार्फत कमरेड ओलीले सन्देश दिनुपर्छ। नदिने हो भने आफूसँगै सिंगो एमाले अभियान सकिन वा सिध्याउन तयार हुनुपर्छ।
मार्क्सले भन्नुभएको थियो, ‘कम्युनिस्ट आन्दोलनको प्राण भनेको सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी हो।’ आलोचना र आत्मालोचना कम्युनिस्ट संगठन निर्माणको मेरुदण्ड हो भनेर लेनिनले अगाडि सार्नुभएको मान्यता हो। तर के आज यो पार्टीमा यो प्रणाली जीवित छ त? हिजो पार्टीको विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्नेको सदस्यता समेत खोस्ने जस्ता अराजनीतिक निर्णय तपाईंको अगुवाइमा भयो। यस्तो निर्णय र व्यवहारले पार्टी र आन्दोलन अघि बढ्न सक्छ ?
मार्क्सवाद र लेनिनवादको साइनबोर्डमात्रै झुण्ड्याएर हुँदैन, उनीहरूको आदर्श र प्रेरणालाई निशर्त ग्रहण गर्नुपर्छ । त्यसैले पनि अब कमरेड ओलीसँग ढिलो हिँड्ने छुट छैन। छिटोछिटो कदम चालेर सुदृढ एमाले निर्माणका निम्ति सहयोगी बन्नैपर्छ। आलोचना गर्नेलाई पार्टी जीवनबाट ‘सिध्याइदिने’ शैलीकै कारण दुनियाँमा कम्युनिस्ट आन्दोलन धराशायी भएका उदाहरण छन्। नेपालमा पनि एमालेमार्फत त्यस्तो अभ्यास हुँदैछ। एमाले सकिँदा केपी ओली र उहाँका आसेपासे मात्रै सकिने हैनन्, देशको कम्युनिस्ट आन्दोलन पनि सकिन्छ। जबकि, पार्टी कसैको दाइजो–दहेज होइन।
जनताले चुच्चे नक्साका कुरा सम्झिने, पानी जहाज, रेल, सुरुङ मार्गजस्ता सुन्दर सपनाहरू साकार पार्ने केपी शर्मा ओलीलाई सम्झिने र अहंकारी ओली बिर्सिने व्यक्तित्व निर्माणका निम्ति प्राप्त अवसरको उपयोग गर्नैपर्छ । पार्टीलाई बिर्ता-बपौतीमा पाएजस्तो व्यवहार त्याग्नै पर्छ ।

Leave a Reply