
काठमाडौं । महाधिवेशनको मिति विवादमा अल्झिएको नेपाली कांग्रेसभित्र निवर्तमान प्रतिनिधिसभाका प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्वमा प्रतिनिधिसभा पुनर्स्थापनाका लागि हस्ताक्षर संकलन थालेपछि अर्को किचलोमा फसेको छ ।
घिमिरेले शनिबारबाट सांसदहरूको हस्ताक्षर जुटाउन थालेका थिए । यो अभियानप्रति इतर पक्षका नेता नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापानिकट मात्रै नभई संस्थापन पक्षकै नेताहरूले विरोध जनाइरहेका छन् ।
हस्ताक्षर अभियानको विपक्षीमा उभिएर महामन्त्री थापाले पनि पार्टी चुनावमा जाने बताए । आजै एक भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘फागुन २१ मा चुनाव हुन्छ, नो इफ, नो बट । चुनावमा हामी सबैले भाग लिने हो ।’
जारी केन्द्रीय समिति बैठकमा पनि संसद् पुनर्स्थापनाको पक्षमा लाग्ने कि चुनावको तयारी थाल्ने भन्नेबारे फरक फरक धारणा आइरहेको छ । तर, घिमिरेले बैठकमा बहुमत सदस्य संसद् पुनर्स्थापनाको पक्षमा धारणा राखेको दाबी गरे । केन्द्रीय समिति बैठकले पार्टी संसद् पुनर्स्थापनाको पक्षमा उभिने निर्णय गर्नुपर्ने उनको भनाइ छ ।
घिमिरेसँगको छोटो कुराकानी नेपाल टकमा
– तपाईँले निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन थाल्नुभएछ, किन ?
प्रतिनिधिसभाको पुनर्स्थापनाको लागि हस्ताक्षर थालेका हौँ । अहिलेसम्म ४० भन्दा बढी सांसदहरूले गरिसक्नुभएको छ । अहिले पनि अभियान जारी छ । पार्टीले संसद् विघटन र सरकार गठन प्रक्रियालाई असंवैधानिक र अलोकतान्त्रिक भनिसकेकाले अब ट्र्याकमा ल्याउने विकल्प संसद् पुनर्स्थापना नै हो । जेनजीले उठाएका र नेपाली समाजमा उठेको माग सम्बोधन गर्नको लागि पनि संविधान संशोधन गर्ने र त्यसपछि मात्रै चुनावमा जानुपर्छ भनेर हामीले हस्ताक्षर संकलन थालेका हौँ। पार्टीले चालू बैठकबाटै यो निर्णय गरेर अघि बढोस् भन्ने हाम्रो चाहना हो ।
– यो अभियानले त पार्टीभित्र थप विवाद देखियो नि ?
असन्तुष्टि राख्न सबैले पाइन्छ नि ! विरोध गर्दै असहमति राख्न पनि पाइयो । हामीले पनि आफ्नो विचार राख्न त पाउँछौँ होला ।
– बैठक चलिरहेको यस्तो अभियान चलाउँदा नराम्रो सन्देश गएको तर्क तपाईँकै पार्टी नेताहरूले गरिराख्नुभएको छ ?
पार्टीले नै निर्णय गरोस् भनेर हामीले दबाब दिनको लागि हस्ताक्षर संकलन गरेका हौँ । हामीले यो पार्टीलाई नै बुझाउने तयारी गरेका छौँ ।
– इतर पक्षका सांसदहरूले हस्ताक्षर नगरेको भन्ने पनि छ ?
त्यस्तो छैन, उहाँहरू निकटकै चन्द्र भण्डारी, रामनाथ अधिकारी, दीपक गिरी, लिगबहादुर लिम्बूलगायतले गरिसक्नुभएका छन्, इतर पक्षकाले नगरेको भए उहाँहरू कसको मान्छे हुन् ? त्यसैले त्यस्तो पक्ष विपक्ष भन्ने कोही पनि छैन । सबै पक्षले गरेका छन्, कति शेरबहादुर पक्षकाले पनि गरेका छैनन् ।
– जारी बैठकले के निर्णय लिन्छ ?
बैठकले संसद् पुनर्स्थापनाको पक्षमा निर्णय गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । यो मतलाई पार्टीबाट निर्णय गराउने कोसिस गर्छौँ । संसद् पुनर्स्थापनाकै पक्षमा बहुमत सदस्यले आफ्नो धारणा राखिराख्नुभएको छ ।
– तर कतिपयले कांग्रेस पनि एमालेकै एजेन्डामा हिँड्यो भन्ने आरोप लगाउँछन् नि ?
ओलीले केही कुरा भन्दा हामी त्यसको विरुद्धमा जानैपर्छ भन्ने छैन नि ! कतिपय कुरामा मिल्न पनि सक्छ, कतिपय कुरामा मतभिन्नता हुन्छन् । ओलीले बोले भन्दैमा हामीले विरोध नै गर्नुपर्छ भन्ने छ र ?
– अब हस्ताक्षरसहित अदालत जाने तपाईँहरूको तयारी हो ?
पार्टीले दुईटामध्ये एउटा मार्ग रोज्नुपर्छ । पार्टीले आधिकारिक निर्णय गर्न सक्दैन भने इच्छुक साथीहरूलाई अदालत जान अनुमति दिनुपर्छ भन्ने माग हो ।
– भनेपछि पार्टीले भने अदालत जान तयार हुनुहुन्छ ?
पार्टीले कुनै निर्णय नगरी जाने भए जानुस् भने हामी तयार छौँ, हस्तक्षेप गरेर अघि बढ्छौँ ।

Leave a Reply