
काठमाडौं । नदीजन्य सामग्री व्यवस्थापनमा अन्तर्राष्ट्रिय अभ्यास र युरोपेली युनियनले अपनाउँदै आएको दीगो खानी उत्खनन् सम्बन्धी मापदण्डको आधारमा नेपालमा नदीजन्य पदार्थको उपयोग सम्बन्धी नीति निर्माण गर्नुपर्ने बताइएको छ ।
काठमाडौंमा आयोजित नदीजन्य निर्माण सामग्रीको उत्खननका लागि दीगो नीति सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले नदीजन्य स्रोत व्यवस्थापन,अनुगमन प्रणाली सुदृढीकरण र स्थानीय तहलाई नीतिगत तहमा समावेश गराउनुपर्ने निर्क्यौल निकालेको छ । सम्मेलनका मुख्यवक्ता राजकपुर शाहले नदीजन्य बालुवा र गिटी उत्खननका कारण जल पर्यावरणमा पर्न सक्ने असर, नदीको मोर्फोलोजिकल स्थायित्व, सेडिमेण्ट्री-बाढी सन्तुलन सम्बन्ध र रिमोट सेन्सिङ प्रविधिको उपयोगद्वारा उत्खनन क्षेत्रको अनुगमन गर्नुपर्ने विचार राखे ।
सम्मेलनका प्रमुख अतिथिमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले सम्मेलनमा प्रस्तुत भएका रिसर्चले प्रदेश सरकारलाई दीगो पोलिसी बनाउन सहज भएको बताए । उनले खेर गैरहेका गिट्टी बालुवाको उपयोग हुने, वातावरणीय प्रभाव मूल्यांकन यथार्थपरक हुने बताए ।
काठमाडौं स्थित हिलसाइड कलेज अफ इन्जिनियरिङ र इङ्ग्ल्याण्ड स्थित लिभरपूल जोन मुरेस युनिभर्सिटीद्वारा संयुक्त रुपमा आयोजित सम्मेलनले स्मार्ट डाटा कलेक्सन, विश्लेषण र उपयोग गर्ने र भू-स्थानिक मोडल प्रयोग गरेर खानी उत्खननका प्रभाव बारेमा पूर्वानुमान गर्ने प्रविधि र डिसिजन सपोर्ट फ्रेमवर्क निर्माण गर्नुपर्ने मार्गचित्र कोरेको हिलसाइड कलेज अफ इन्जिनियरिङका अध्यक्ष जनार्दन नेपालले जानकारी दिए ।
लामो समय अध्ययन अनुसन्धान गरेर रिपोर्टहरु पेस भएकाले खोलाबाट जथाभावी निकालिने बालुवा, गिट्टी नियन्त्रण हुने र अनावश्यक थुप्रो लागेर बसेको गिट्टी बालुवा निकालेर प्रयोग गर्न सक्दा समुचित प्रयोग मात्रै नभएर आय आर्जन तथा राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पर्ने भएकाले यो नीति अविलम्ब निर्माण हुनुपर्ने अध्यक्ष नेपालले बताए ।
सम्मेलनमा विज्ञहरुले ‘इन्भेष्टिगेसन इम्प्याक्ट एण्ड सष्टेनेवल माइनिङ पोलिसी फर रिभर सोर्स्ड कण्ष्ट्रक्सन मेटेरियल्स : स्याण्ड एण्ड ग्राभेल इन नेपाल’ विषयक प्रस्तुतीकरण दिएका थिए । पूर्वान्चल विश्वविद्यालय, इन्जिनियरिङ संकाय डीन प्रा.डा. भोला घिमिरे, इन्जिनियरिङ काउन्सिलका सदस्य शिवहरी सापकोटालगायतका प्रतिक्रियालाई समावेश गरेर सम्मेलनको निर्क्यौल नीति निर्माणकर्तालाई उपलब्ध गराइने बताइएको छ ।

Leave a Reply