कोशीमा एमालेका मन्त्री फिर्ता बोलाउने तयारी, यी हुन् सम्भावित अनुहार

विराटनगर । कोशी सरकारमा एमालेबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने तयारी भएको छ। भदौको पहिलो साता नै मन्त्रीहरू हेरफेरको तयारी भए पनि विविध कारणले रोकिएको थियो ।

मुख्यमन्त्रीनिकट स्रोतका अनुसार ढिलोमा मंसिर पहिलो साताभित्र मन्त्रीहरू हेरफेरको तयारी भइरहेको छ । एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई र अध्यक्ष घनश्याम खतिवडा पार्टी कामको सिलसिलामा विभिन् जिल्लामा व्यस्त भएकाले उनीहरू विराटनगर फर्किएपछि मन्त्री फेरबदलको कामले पूर्णता पाउने बताइएको छ ।

कोशी प्रदेशमा एमालेबाट मुख्यमन्त्रीसहित ५ जना मन्त्री र एक राज्यमन्त्री छन् । जसमा आर्थिक मामिला तथा योजना मन्त्रीमा रामबहादुर थापा मगर, खानेपानी तथा सिँचाइ मन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी छन् ।

यस्तै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा रहने गरी सिर्जना राईलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । मन्त्रीहरू सबैलाई फिर्ता बोलाउन पार्टीले निर्देशन दिइसकेको एमाले स्रोतले बताएको छ । तर, आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाई भने नहटाउने बताइएको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुर लिंथेपले मन्त्रीहरू हेरफेरको तयारी भइरहेको बताए ।

को को बन्दैछन् मन्त्री ?

एमालेबाट नयाँ मन्त्रीको बन्नेहरूको लिस्टमा अग्रपंतिमा छन् झापाका तिलचन्द ( चिन्तन पाठक ) । यसैगरी धनकुटाका निरन राई र इन्द्रमणि पराजुली पनि सूचीमा छन् । सुनसरीका रामप्रसाद महतो र संखुवासभाबाट निर्वाचित विदुर लिंथेपको प्रमुख सम्भावना रहेको स्रोतको भनाइ छ ।

कोशी प्रदेशमा एमाले र कांग्रेसको संयुक्त सरकार छ । कांग्रेसमा पनि फिर्ता बोलाउने तर नयाँ पठाउने तयारी भएपनि पार्टीको आन्तरिक किचलोले रोकिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *