
बेलायत । बेलायतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी र हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर संस्थाको कार्यसमितिबीच द्विपक्षीय सहकार्य र सहयोगका विषयमा छलफल भएको छ ।
बेलायतमा नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिएको हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर संस्थाका पदाधिकारी तथा सदस्य र कार्यवाहक राजदूत दुवाडीबीच स्कण्डल्याण्डमा छलफल भएको हो ।
सो अवसरमा संस्थाको संरक्षण र विकासका लागि कसरी विदेशमा रहेका नेपालीहरूलाई जोड्न सकिन्छ भन्ने विषयमा छलफल भएको गैर आवासीय नेपाली अभियन्ता शशि शार्कीले जानकारी दिए ।
सो अवसरमा बेलायतमा रहेका अग्रज नेपाली,गैर आवासीय नेपाली संघ आबद्ध व्यक्तित्वहरूले हिमालयन सेन्टर हाम्रो पहिचान, कला–संस्कृति र सामुदायिक कल्याणको प्रमुख आधार रहेको र यसलाई दिगो, सक्षम र समुदाय–केन्द्रित बनाउने मार्ग खोज्न दूतावाससँगको संवाद महत्त्वपूर्ण रहेको बताएका थिए ।
विदेशमा नेपाल र नेपालीको पहिचानको महत्त्वपूर्ण थलो बनेको हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर नामको संस्था रहेको भवन आर्थिक अभावका कारण जर्जर भएको अवस्थामा संस्थाको कार्यसमिति र स्थानीय नेपालीहरुबीच संस्थाको संरक्षण र विकास एवं यसको महत्वलाई सधैँभरी चिरस्थायी बनाउन २ लाख ५० हजार पाउण्ड संकलन गरिने प्रस्ताव पनि गरिएको संस्थाका निर्देशक शशी कार्कीले जानकारी दिए ।
सो अवसरमा गैर आवासीय नेपालीका प्रतिनिधि,स्थानीय समाजसेवी लगायतले संस्थाको संरक्षणको अभिभावकत्व ग्रहण गर्न कार्यवाहक राजदूत दुवाडीलाई आग्रह गरेका थिए । सो अवसरमा दुवाडीले बेलायतमा रहेका नेपालीहरूसँग सहकार्य र समन्वय गरेर दूतावास अघि बढ्ने प्रतिबद्धता जनाए । संस्थाका अध्यक्ष मनिश खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समितिकी निर्देशक कमला श्रेष्ठले गरेकी थिइन् ।
छलफलमा बौद्धिक व्यक्तित्वहरू मोती खरेल, श्याम लिम्बु , सरोज राज जोशी तथा गैर आवासीय नेपाल संघ (एनआरएनए) बेलायतका महासचिव दिवाकर पाण्डे, महिला उपाध्यक्ष कमला श्रेष्ठ, फाईफ कम्युनिटीका पूर्ब अध्यक्ष राम बगाले, एनआरएनए बेलायतका पूर्वसचिव तारानाथ भण्डारी, एनआरएनए स्कट्ल्याण्डका पूर्ब अध्यक्ष काशीराम भण्डारी लगायतले संस्थाको संरक्षणका बारे धारणा राखेका थिए ।

Leave a Reply