जिहादी प्रतिद्वन्द्वीबीचको भीषण युद्धमा दुईसय जनाको मृत्यु

काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा प्रतिद्वन्द्वी जिहादी समूहहरूबीच भएको भीषण झडपमा करिब २०० जनाको ज्यान गएको बताइएको छ । समाचार एजेन्सी एएफपीले सोमबार जनाएअनुसार अशान्त लेक चाड क्षेत्रमा भएको उक्त रक्तपातपूर्ण सङ्घर्षबारे गुप्तचर निकाय, स्थानीय मिलिसिया र जिहादी स्रोतहरूले जानकारी दिएका हुन् ।

बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका (आइएसडब्लुएपी) बीच चाड तालको किनारमा अवस्थित डोगोन चिकु क्षेत्रमा आइतबारदेखि भीषण युद्ध सुरु भएको थियो । दुवै समूहबीच वैचारिक विभाजनका कारण लामो समयदेखि तनाव रहँदै आएको भए पनि यसपटक क्षेत्रीय नियन्त्रणका लागि लडाइँ चरममा पुगेको बताइएको छ ।

नाइजेरियाली सेनालाई सहयोग गर्ने जिहादीविरोधी मिलिसियाका सदस्य बाबाकुरा कोलाले ने, हामीले प्राप्त गरेको विवरणअनुसार लडाइँमा करिब २०० जना बोको हरामका लडाकू मारिएका छन् ।

त्यसबेलादेखि हिंस्रक गतिविधि त्यागेर यस क्षेत्रमा जिहादीहरूका गतिविधि निगरानी गर्दै आएका बोको हरामका एक पूर्व लडाकू सादिकुले भने, झडपमा करिब २०० जना आइएसडब्लुएपीका लडाकू मारिए र उनीहरूको ठूलो मात्रामा हतियार पनि जफत गरियो ।

सादिकुका अनुसार बोको हरामले यस युद्धमा आफ्ना चार जना लडाकु गुमायो । उले भने, दुई समूहले एकअर्कामाथि प्रत्यक्ष आक्रमण गर्न थालेपछि यो पछिल्ला वर्षहरूको सबैभन्दा भीषण झडप हो । सादिकु हाल बोर्नो राज्यको राजधानी मैदुगुरीमा बसोबास गर्दै आएका छन् । उक्त क्षेत्र लामो समयदेखि इस्लामिक उग्रवादको केन्द्रविन्दु रहँदै आएको छ ।

यसैबीच, नाइजेरियाको एक गुप्तचर स्रोतले पनि झडपमा ‘१५० भन्दा बढीको मृत्यु भएको’ अनुमान गर्दै घटनाको परिणाम नजिकैबाट पछ्याइरहेको बताएको छ । स्रोतले भनेको छ, हामी यो लडाइँबारे सचेत छौँ र यसले दुवै समूहको क्षमतामा ठूलो आघात पुर्‍याएको छ, जुन हाम्रो सुरक्षाका लागि सकारात्मक सङ्केत हो ।

आइएसडब्लुएपीले इस्लामिक स्टेटसँग प्रत्यक्ष सम्बन्ध कायम गर्दै अलग्गिएपछि आइएसडब्लुएपी र बोको हरामबीचको वैचारिक मतभेद सन् २०१६ मा सुरु भएको हो । त्यसयता, दुवै समूहबीच चाड ताल क्षेत्रको नियन्त्रणका लागि अनेकौँ पटक रक्तपातपूर्ण युद्धहरू भएका छन् ।

लेक चाड क्षेत्र नाइजेरिया, नाइजर, चाड र क्यामरुनको सीमामा पर्ने रणनीतिक क्षेत्र हो । यहाँ जिहादीहरूले प्रायः आफ्नो गतिविधि सञ्चालन गर्दै आएका छन् । पछिल्ला केही वर्षयता नाइजेरियाली सेनाले उग्रवादीहरूविरुद्ध कारबाही तीव्र पारेको भए पनि बोको हराम र आइएसडब्लुएपीबीचको आन्तरिक सङ्घर्षले क्षेत्रलाई अझ अस्थिर बनाएको छ ।

स्थानीय बासिन्दाहरूका अनुसार लडाइँपछि धेरै शवहरू अझै पनि क्षेत्रका दलदली भागमा फेला परिरहेका छन् र बाँकी बाँचेकाहरू वरपरका गाउँहरूमा भागेका छन् । सुरक्षाकर्मीहरूले भने अझै पनि युद्धस्थलको नियन्त्रण लिन प्रयास जारी राखेका छन् ।

यो पछिल्लो घटनाले लेक चाड क्षेत्रको अस्थिर सुरक्षास्थितिलाई फेरि उजागर गरेको छ, जहाँ दशकौँदेखि उग्रवादी हिंसाले हजारौँ नागरिकको ज्यान लिइसकेको छ र लाखौँलाई विस्थापित पारेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *