
चितवन । भरतपुर अस्पतालमा ३० वर्षीया गर्भवती संगीता विश्वकर्माको शनिबार राति मृत्यु भएको विषयलाई लिएर बिरामीका आफन्तले सोमबार अस्पतालमा केहीबेर नाराबाजी गरेका छन् ।
गर्भवती संगीताको २० गते नै गर्भमा बच्चाको मृत्यु भएको भएपनि अस्पतालका चिकित्सकले समयमा नै बच्चा ननिकालिदिँदा आमाको मृत्यु भएको भन्दै परिवार तथा आफन्तले नाराबाजी गरेका हुन् ।
उनीहरुले संगीताको शव बुझ्न नमानेर मृत्युको कारण पत्ता लगाई चिकित्सकलाई कारबाही गर्न माग गरेका छन् । संगीताका छिमेकी गोर्खा तामाङले आमाको मृत्युपछि छोराछोरीको बिचल्ली भएको र उनको मृत्युमा अस्पतालको लापरबाही भए पनि जिम्मेवारी नलिएका कारण नाराबाजी गरेको बताए । नाराबाजीको कारण केहीबेर अस्पतालमा तनाब पनि उत्पन्न भएको थियो ।
पीडित परिवारले हिजो प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापन पत्र समेत दिएका थिए । तर, पीडितलाई बेवास्ता गरेको भन्दै नाराबाजी बिहान केहीबेर नाराबाजी पछि अहिले प्रमुख जिल्ला अधिकारीसँग छलफलमा गएका छन् ।
शनिबार राति गर्भवतीको मृत्यु भएपछि धारणा सार्वजनिक नगरेको भरतपुर अस्पतालले केहीबेरअघि विज्ञप्ति निकालेर पेटमा बच्चाको मृत्यु भइसकेपछि प्रोटोकल अनुसार औषधिको ब्याथा लगाई सामान्य प्रसूति गराउने क्रममा मृत्यु भएको बताएका छन् ।
शनिबार रातिसम्म उनको गर्भमा बच्चाको मृत्यु भएको ४८ घण्टा भइसकेको थियो । अस्पतालका प्रवक्ता रामप्रसाद सापकोटाले विज्ञप्तिमा पाठेघरको मुख ५ घर खुलिसकेको अवस्थामा अचानक बेहोस भएपछि कार्डियो पल्मोनरी रिससीटेसन गरेर उपचार गर्दा मुटु र फोक्सो जोड्ने रगतको नसामा रगतको डल्लाले थुनेको कारण मुटुले रगत पम्प गर्न नपाएर मृत्यु भएको जनाएका छन् ।
साढे दुई घण्टासम्म बचाउने प्रयास गर्दा पनि नसकेको विज्ञप्तिमा उल्लेख छ । तर, कालिका नगर अस्पतालले बच्चा जीवित हुँदै आकस्मिक भनेर अस्पताल रेफर गर्दा पनि शल्यक्रिया गरेर बच्चा बाहिर ननिकालेका कारण उनको गर्भको बच्चाको मृत्यु भएको र सोही कारणले गर्भवतीको समेत मृत्यु भएको बिरामीको परिवारको दाबी छ ।

Leave a Reply