चलचित्र विकास बोर्डद्वारा १५ चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार’ प्रदान

काठमाडौँ । संविधान दिवसको अवसरमा चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्‍याएका १५ जनालाई सम्मान गरेको छ।

बोर्डले युवा तथा वरिष्ठ कलाकार, निर्माता क्षेत्रका व्यक्तित्व र प्राविधिकलाई आज ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको हो।

बोर्ड परिसर चाबहिलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल उपस्थित भएका थिए।

कार्यक्रममा कलाकार संघ, निर्माता संघ, प्राविधिक संघ, पत्रकार संघ, तालिम तथा केन्द्रीय छनौट समिति लगायतका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।

सांगीतिक प्रस्तुति, राष्ट्रिय गान, मौनधारण तथा सांस्कृतिक प्रस्तुति सहित कार्यक्रम औपचारिक र सफल रूपमा सम्पन्न गरियो।

कार्यक्रममा बोल्दै मन्त्री खरेलले नेपाली चलचित्र क्षेत्रलाई देशको सांस्कृतिक शक्ति र अन्तर्राष्ट्रिय पहिचानको माध्यमका रूपमा प्रस्तुत गर्दै, बोर्डका अध्यक्ष दिनेश डिसीको नेतृत्व र क्षमतामाथि कुनै शंका नरहेको बताए।

उनले भने,’अध्यक्ष डिसीले उत्कृष्ट काम गरेर चलचित्र क्षेत्रको इतिहास रच्ने अपेक्षा सरकारको छ। उहाँको नेतृत्वमा क्षेत्रले नयाँ मोड लिनेमा म निश्चिन्त छु।’

कार्यक्रममा सम्मानित १५ जना व्यक्तित्वलाई मन्त्री खरेलद्वारा २० हजार नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको थियो। पुरस्कृतहरूमा कलाकार, निर्देशक, सांगीतिक एवं प्राविधिक पक्षका योगदानकर्ता समेटिएका थिए।

सम्मानित व्यक्तिहरूको सूची

शिव श्रेष्ठ (कलाकार)

सबिता गुरुङ (कलाकार)

तीर्थ थापा (निर्देशक)

यस कुमार (संगीतकार/गायक/निर्देशक)

ध्रुव लम्साल (चलचित्र पत्रकार)

रम्यता लिम्बू (चलचित्र महोत्सव व्यवस्थापक)

सम्झना रौनियार (निर्देशक)

युवराज लामा (निर्माता/निर्देशक)

हेमन्त बुढाथोकी (कलाकार)

किशन पोखरेल (निर्माता)

स्व. केशव भट्टराई (कलाकार-मरणोपरान्त)

नाजिर हुसेन (कलाकार)

रिमेश अधिकारी (निर्देशक)

रेनीश फागो (रंग संयोजक/प्राविधिक)

अन्जु पन्त (गायिका)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *