जेन-जी आन्दोलन र जवाफदेहिताको चयन

वर्तमान हाम्रो अहिले हो; भूत विगत र भविष्य हाम्रो आगत वा अब आउने समय हो। हामी काँसका कचौरामा केही खान्छौँ, त्यो कचौरा फेरि उपयोग गर्न सकिने हुन्छ। दिगो विकास लक्ष्यहरूले विगतको प्राकृतिक र सांस्कृतिक वैभवलाई भविष्यका लागि हानि-नोक्सानी नहुने गरी उपयोग गर्नुपर्ने अपेक्षा राखेका छन्। त्यसैले जेन्जी आन्दोलनले निम्त्याएको परिवेशलाई पनि दिगो विकासको दृष्टिकोणबाट हेरी उचित व्यवस्थापन गर्न आवश्यक देखिन्छ। विगतको विरासतमा टेकेर जनमैत्री प्रणालीलाई दिगोपन दिँदै समृद्ध बनाउनु अहिलेको मुख्य सरोकार हो।

नेपालमा राजनीतिक प्रणाली परिवर्तनका लागि शान्तिपूर्ण र हिँसात्मक दुवै प्रकारका दबाबका अभ्यास हुँदै आएका छन्। तत्कालीन माओवादी जनयुद्धले मुलुकमा ठूलो जनधनको क्षति निम्त्यायो। यस विद्रोहले चेतना वृद्धि र जनजागरणमा उल्लेखनीय परिणाम दिए पनि सामाजिक मर्यादा र सद्भावमा हठात् विचलन ल्यायो र हिंसात्मक मनोविज्ञानलाई सहजै स्वीकार्ने वातावरण सिर्जना गर्‍यो भन्ने भनाइ छ।

विगतमा सत्तामा पुगेपछि मुलुकको विकासमा अर्जुनदृष्टि राख्नु पर्नेमा संसदीय गणितका लागि मोलाहिजा र विकृतिलाई समेत प्रश्रय दिने अभ्यास बढ्यो। एउटै व्यक्ति सत्तामा रहँदा सबै कुरा ठिक ठान्ने तर सत्ताबाहिर पुग्नेबित्तिकै सबै गलत देख्ने असन्तुलित प्रवृत्ति मौलायो। त्यस्तै, नेताहरू र दलहरू मिलेका बेला सबै राम्रो देख्ने तर नमिल्दा दुत्कार्ने स्वभावले समाजमा विश्वासको वातावरण कमजोर बनायो।

नेपालमा सूचना प्रविधि र सामाजिक सञ्जालको प्रयोग “गोएबल्स शैली”मा फैलियो। एकोहोरो सन्देश प्रवाह र होडबाजीको अभ्यासले सत्य सधैं छायाँमा पर्ने र असत्य स्थापित हुने वातावरण निर्माण गर्‍यो। निर्मला पन्तमाथि भएको अमानवीय घटना र हत्याको निष्पक्ष अनुसन्धानसम्म गर्न नसकिएको अवस्था पनि त्यही प्रवृत्तिको उपज हो। ऐतिहासिक धरहरा पुनर्निर्माणलाई समेत सेतो टावरको नाममा अनावश्यक खर्चको रूपमा प्रचार गरियो। तथ्यविहिन सूचना, लगामविहिन आरोप–प्रत्यारोप र ध्रुवीकरणबाट विकसित अराजकताले आजको अवस्था जर्जर र भ्रमयुक्त बनाएको छ।

आन्दोलनको आह्वान गर्ने पक्षले भावनामा बगेर होइन, वस्तुनिष्ठ रूपमा प्रदर्शनले दिएको सन्देश र देशले भोगेको क्षतिको मूल्याङ्कन गर्नुपर्छ। अघिल्ला सरकार, अग्रज नेता र अगुवालाई गाली गरेर मात्र अपेक्षा पूरा हुन सक्दैन। वर्तमानलाई दिगो विकासको धारमा समालेर लैजान सहिष्णुता र उत्तरदायित्व आवश्यक छ।

विगतका सरकार, राजनीतिक दल र कर्मचारीतन्त्रका काममा शुद्धताको प्रश्न छन्। तर विकृति भित्र्याउने जिम्मेवारी केवल उनीहरूमा मात्र सीमित छैन। शक्तिको आडमा विचौलिया प्रवृत्ति प्रदर्शन गर्ने, भनसुनका भरमा अवसर खोज्ने, र हरेक तहमा चाकडी संस्कृतिलाई बढावा दिने सबै यस विकृतिका हिस्सेदार हुन्। आफ्ना लागि वा सन्ततिका लागि नेताको घर–घर धाउने, राष्ट्रसेवक र व्यवसायीको चाकरी गर्ने, र अवसरको खोजीमा नैतिकता भुल्ने सचेत नागरिक पनि यसका भागीदार हुन्।

सत्य विषय निर्भीकताका साथ उजागर गर्न नचाहने विद्वान, एकपक्षीय सन्देश प्रवाह गर्ने अगुवा सचेतक, र रिश्वतमा तत्काल नतिजा खोज्ने सेवाग्राही — यी सबैले भ्रष्ट प्रणालीलाई बलियो बनाइरहेका छन्। व्यापार व्यवसायमा मुनाफामुखी प्रवृत्ति, सार्वजनिक सवारी साधनमा यात्रुलाई अपमान गर्ने असहिष्णु व्यवहार, र सुविधामुखी मानसिकता पनि यो विकृतिको अंग हुन्।

सरकारी सेवा प्रवाह र योजना कार्यान्वयनमा प्रक्रियामै अल्झिने प्रवृत्तिदेखि काम छल्ने र ढिलासुस्ती गर्ने बानीसम्मका विकृति असन्तोषका प्रमुख कारण हुन्। आम्दानी र पक्षधरता खोज्ने नियोजित पत्रकारिता तथा अल्पज्ञानमा आधारित समाचार प्रवाह त झन् असन्तोषको प्रमुख कारक बनेका छन्। पछिल्ला दिनमा पुराना दल र नेताको विकल्प दिन खोज्ने नाममा प्रयोग भएको मनोगत, अतिरञ्जित र असहिष्णु भाषाशैलीले घृणा र नकारात्मकता फैलाएको छ। परिवारका अगुवा आफैं नकारात्मक विषयमा रमाउने र अरूलाई गाली गरेर सन्तुष्टि लिने प्रवृत्ति पनि जनअसन्तोष बढाउने अर्को कारण हो।

देश धान्ने चिन्तामा श्रम गर्न परदेश जानेदेखि विकसित मुलुकमा पुगेर आफ्नै देशका अगुवाविरुद्ध अतिरञ्जित विवरण प्रसारण गर्ने प्रवृत्ति पनि बढेको छ। सरकारी संरचनाभन्दा बाहिर वैदेशिक सहायता लिने र त्यसको उपभोग गर्दै व्यक्तित्व विकास गर्ने वर्गले समेत सद्भाव बिथोल्ने काम गरेका छन्। उनीहरूले आफू चोखो र अरू सबै बेठिक भन्ने भाष्य बनाएर युवामात्र होइन, नेतृत्वमा समेत घृणाभाव जगाउने भूमिका खेलेका छन्।

जेन्जी आन्दोलनपछि सञ्चारमाध्यम, युट्युब र सामाजिक सञ्जालमा फैलिएका सतही र एकपक्षीय तर्कहरू हेर्दा नेपाल अझै रसातलतर्फ धकेलिँदै गएको आभास हुन्छ। भदौ २३ गतेको नेतृत्वविहीन प्रदर्शनमा आन्दोलनकारीले पालना गर्नुपर्ने आचरण र सावधानीको मूल्यांकन हुन सकेको छैन। सुरक्षाकर्मीले आत्मरक्षा र भीड नियन्त्रणको बाध्यतामा हतियार प्रयोग गर्नुपरेको विषय ओझेलमा पर्नु दुर्भाग्यपूर्ण छ। भिडलाई उक्साउने, दिशाहीन बनाउने र हिंस्रक बनाउने पक्षप्रति गम्भीर खोजी हुनुपर्नेमा त्यसतर्फ बेवास्ता गरिएको छ।

सत्य विषय निर्भीकताका साथ उजागर गर्न नचाहने विद्वान, एकपक्षीय सन्देश प्रवाह गर्ने अगुवा सचेतक, र रिश्वतमा तत्काल नतिजा खोज्ने सेवाग्राही — यी सबैले भ्रष्ट प्रणालीलाई बलियो बनाइरहेका छन्। व्यापार व्यवसायमा मुनाफामुखी प्रवृत्ति, सार्वजनिक सवारी साधनमा यात्रुलाई अपमान गर्ने असहिष्णु व्यवहार, र सुविधामुखी मानसिकता पनि यो विकृतिको अंग हुन्।

गलत शैली र अफवाह फैलाउने प्रवृत्तिलाई केवल तत्कालीन सरकार र नेतृत्वकर्तामा सीमित गरेर दोषारोपण गर्नु समाधान होइन। चरम असहिष्णु गालिको वर्षाले मुलुकलाई सही गन्तव्यमा लैजान सक्दैन भन्ने यथार्थतर्फ विद्वान र नेतृत्वको ध्यान नपुगेको देखिन्छ। यो अनपेक्षित दुर्घटनाबाट भएको क्षतिपूर्ति गर्न ठण्डा दिमागले सोच्न ढिलो भइरहेको छ।

लामो संघर्ष गरेर मुलुकको राजनीतिक प्रणालीमा परिवर्तन ल्याएका नेताहरू आफ्ना अमूल्य निजी कागजातसहित आवासविहिन भएका छन्, उद्योगी व्यवसायीले भौतिक क्षति बेहोरेका छन्। यस्ता कठिन परिस्थितिमा पनि संयमपूर्वक व्यवहार गर्ने अगुवाको सकारात्मक पक्षलाई उपेक्षा गर्न मिल्दैन।

जेन्जी आन्दोलन मुलुकमा सहिष्णुता, सद्भाव र विगतबाट सकारात्मक पाठ सिक्न नसक्ने कमजोरीको परिणाम हो। यसै अवस्थाले अराजक शक्तिलाई खेल्ने अवसर प्रदान गर्‍यो। अब मार्गदर्शनका लागि कसैले आफ्नो कमजोरी ढाकछोप गरेर अरूलाई मात्र दोष दिने सोच त्याग्न जरुरी छ। आन्दोलनको आह्वान गर्ने पक्षले भावनामा बगेर होइन, वस्तुनिष्ठ रूपमा प्रदर्शनले दिएको सन्देश र देशले भोगेको क्षतिको मूल्याङ्कन गर्नुपर्छ। अघिल्ला सरकार, अग्रज नेता र अगुवालाई गाली गरेर मात्र अपेक्षा पूरा हुन सक्दैन। वर्तमानलाई दिगो विकासको धारमा समालेर लैजान सहिष्णुता र उत्तरदायित्व आवश्यक छ।

कुनै पनि सरकारका निर्णय वा कार्यप्रति असहमति हुन सक्छ। असहमतिको अभिव्यक्ति, त्यसको सामाजिकीकरण र सुधारका लागि दवाव सिर्जना गर्ने शान्तिपूर्ण आन्दोलन प्रजातन्त्रको सुन्दर पक्ष हो। सत्तारूढ पक्षले असहमत पक्षको सम्मान गर्न र विपक्षीले वैचारिक खबरदारी गर्दै निर्वाचनको प्रतीक्षा गर्न सक्ने अभ्यास नै स्वस्थ लोकतन्त्रको परिचायक हो। यसका लागि राजनीतिक दलहरूले आन्तरिक शुद्धिकरण गर्दै नयाँ दृष्टिले राजनीतिलाई संस्थागत गर्नुपर्छ।

हाम्रो अघिल्तिर परिणाम जेसुकै आए पनि विकल्प प्रशस्त छन्। तर जडता, तिरस्कार र घृणाको विषवृक्षलाई निरन्तर मलजल गरेमा त्यसको परिणाम पनि उस्तै रहन्छ। त्यसैले — “अवसर नपाउँदासम्म मात्र शुद्ध हो कि, अवसर पाएपछि पनि शुद्ध रहिरहन सकिन्छ?” भन्ने प्रश्न प्रत्येकले आत्ममन्थन गर्नुपर्नेछ। जब प्रश्न आफूतिर फर्काएर जवाफ खोजिन्छ, तभी जवाफदेहिताको असल संस्कार बलियो बन्न सक्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *