
विराटनगर । नेकपा एमालेका पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले अहिलेको सरकार चुनाव गराउने पक्षमा नरहेको बताएका छन् ।
सुरक्षा निकायबाट खोसिएका हतियार, भागेका अपराधी खुलेआम बाहिर राखेर सरकारले कस्तो चुनाव गराउँछ भनेर उनले प्रश्न गरे । प्रेस चौतारीले झापाको दमकमा सोमबार गरेको भेटघाट कार्यक्रममा उनले अहिलेको सरकार नै असंवैधानिक रहेको दाबी गर्दै यस्तो सरकारबाट लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियाको अपेक्षा गर्न नसकिने बताए ।
निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका नेता दाहालले भने, ‘अहिलेको सरकारले गठन गरेको छानबिन आयोगको समेत औचित्य र कानूनी आधार छैन ।’ उनले अलोकतान्त्रिक सरकारबाट भएको प्रतिनिधि सभा विघटनसमेत अलोकतान्त्रिक र असंवैधानिक रहेको बताए । उनले भने, ‘एमाले संसद पुनःस्थापनको मागसहित जनताको बीचमा गएको छ ।’ उनले अहिलेको राजनीतिक र संवैधानिक गतिरोधको अन्त्य संसद पुनःस्थापना बाटै हुने बताए ।
जेन्जीले अघि सारेका मागसमेत संसद पुनःस्थापनापछि गठन हुने सरकारले नै पूरा गर्ने उनको दाबी छ । उनले केपी ओली नेतृत्वको सरकारले सुशासनको पक्षमा दर्बिलो काम गरिरेहेको अवस्थामा जेन्जी आन्दोलनमा घुसपैठ गरेर हिंसाको माध्यमबाट विस्थापन गरिएको बताए ।
भेटमा एमाले केन्द्रीय सदस्य रोमनाथ ओलीले संसद पुनःस्थापनको पक्षमा जिल्लामा सशक्तरुपमा जनपरिचालन भइरहेको जानकारी दिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य होमबहादुर थापा, एमाले झापा उपाध्यक्ष शिव ढुंगेल, सचिव तुलसी कार्की, नगर अध्यक्ष राम पौडेल, अनेमसंघ अध्यक्ष लिला दाहाललगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply