
काठमाडौँ । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान संविधान खारेजीको माग गरेका छन् । मधेश प्रदेशमा मु्ख्यमन्त्री नियुक्ति विषयलाई लिएर उनले वर्तमान संवैधानिक व्यवस्था असफल भएको बताएका छन् । उनले यो व्यवस्था अनैतिक राजनीतिक लुट र भ्रष्टाचारको ओढारमा सीमित भएको तर्क गरेका छन् ।
उनले भनेका छन्, ‘मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिले फेरि एकपटक पुष्टि भयो कि वर्तमान संवैधानिक व्यवस्था असफल मात्र हैन अनैतिक राजनीतिक एवम् लुट–भ्रष्टाचारको ओढार हो ।’ उनले समस्याको मुख्य जडको रूपमा रहेको गलत संवैधानिक प्रावधानलाई छोडेर एक अर्कालाई मात्र दोषारोपण गर्नु फेरि अर्को बेइमानी हुने बताउँदै गलत संवैधानिक व्यवस्थाको विरोध गर्न र नक्कली संविधान निर्मातालाई दण्डित गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘देशवासीसँग विनम्र आग्रह छ, वर्तमान लुटकारी व्यवस्थामाथी पुनर्बिचार गर्नुस् । खासगरी संविधान निर्माताहरूलाई भन्न चाहन्छु, तपाईंहरूले आफनो गल्ती स्वीकार्नुस् र आत्मलोचित भई समयमै संविधान खारेजीको पक्षमा आउनुस् । यसैमा सबैको भलाई छ ।’

Leave a Reply