
रुपन्देही । सबैतिर लगानीमा निराशा छाइरहेका बेला बुटवल साढे ३ अर्ब लगानीमा पाँच तारे होटल हायात प्यालेस सञ्चालन भएको छ । यस क्षेत्रको व्यावसायिक घरानामा दर्ज भएका पौडेल र मालपानी दुई परिवारको लगानीमा यो होटल सुरु भएको हो । बुटवलका व्यवसायीको लगानीमा होटल हायातको ब्राण्डसहित त्यही स्ट्याण्डर्टमा यो होटल सञ्चालन भएको हो ।
रुपन्देहीको बुटवलमा अब पर्यटक, उद्योगपति र उच्चस्तरीय सम्मेलनका सहभागीहरूका लागि अन्तर्राष्ट्रिय मापदण्डको पाँचतारे होटलको विकल्प तयार भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरस्थित बुटवल–नारायणगढ सडकखण्डको छेउमै करिब साढे तीन अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न हायात प्यालेस बुटवल शनिवारदेखि सञ्चालनमा आएको छ । होटल सञ्चालक समितिका अध्यक्ष चुन्नप्रसाद पौडेलका अनुसार यसमा ग्लोबल आइएमई बैंकले ६५ प्रतिशत लगानी गरेको छ ।
शनिवार वैदिक परम्पराअनुसार पञ्चकन्याहरू सहित विधिवत् पूजा–अर्चना गरी होटल सञ्चालनको शुभ साइत गरिएको हो । यससँगै होटल सभा–सम्मेलन, बैंक्वेट, र विभिन्न सामाजिक कार्यक्रमका लागि पनि खुला गरिएको छ । सञ्चालकका अनुसार हायात प्यालेस बुटवलको ग्रान्ड ओपनिङ नोभेम्बर २४ मा भव्य रूपमा आयोजना गरिने तयारी छ ।
यो होटल बुटवलकै पहिलो र रुपन्देही जिल्लाको पाँचौँ पाँचतारे होटल हो । यसअघि भैरहवा, तिलोत्तमा र लुम्बिनी क्षेत्रमा पाँचतारे होटल सञ्चालनमा आइसकेका थिए । तर, बुटवलमा पहिलो पटक अन्तर्राष्ट्रिय ब्रान्डको होटल सञ्चालनमा आउनुले यहाँको पर्यटन र व्यावसायिक क्षेत्रका लागि नयाँ युगको सुरुवात भएको सञ्चालकहरूको भनाइ छ ।
सफ्रोन सिके प्रालिमार्फत निर्माण गरिएको होटलको व्यवस्थापन प्रतिष्ठित अन्तर्राष्ट्रिय होटल चेन हायात समूहले लिएको हो । नेपालमा काठमाडौंपछि राजधानी बाहिर पहिलो पटक हायात प्यालेस ब्रान्डको होटल बुटवलमा सञ्चालनमा आएको हो ।
लगानीकर्ताको दृष्टि: बुटवललाई पर्यटन हब बनाउने लक्ष्य
होटलमा रुपन्देहीका स्थापित उद्योगी–व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी, र नितेश मालपानीको लगानी छ । यही समूहले नेपालकै लोकप्रिय करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्स प्रालि र बुटवल हस्पिटल प्रालि पनि सञ्चालन गर्दै आएको छ ।
सफ्रोन सिके प्रालिका अध्यक्ष चुन्नुप्रसाद पौडेलका अनुसार करिब २५ कट्ठा क्षेत्रफलमा फैलिएको यस होटलमा ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ । ‘बुटवलमा स्वास्थ्य, शिक्षा र यातायात पूर्वाधार द्रुत गतिमा विकसित हुँदैछ । अब यो सहरलाई पर्यटन हब बनाउने हाम्रो दीर्घकालीन लक्ष्य हो’ अध्यक्ष पौडेलले भने ।
उनले थपे, ‘देशको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन हो । त्यसैले हायात प्यालेस बुटवललाई हामीले सहरको गहना र प्रदेशको गौरवको रूपमा लिएका छौं ।’
होटल जमिनमुनि दुई तला पार्किङ र जमिनमाथि १० तला रहेको आधुनिक संरचना हो । कुल ५ हजार ७४६ वर्गमिटर क्षेत्रफलमा फैलिएको होटलमा ६ श्रेणीका १०९ कोठा छन्, जहाँ एकै पटक २५० जना पाहुनालाई उच्चस्तरीय सेवा उपलब्ध गराउन सकिने अध्यक्ष पौडेलले जनाए ।
होटलमा आधुनिक रेस्टुरेन्ट, स्विमिङ पुल, ब्याङ्क्वेट हल, ४ वटा सेमिनार हल, स्पा, र क्यासिनो जस्ता विश्वस्तरीय सुविधा छन्। करिब ३६ हजार स्क्वायरफुट क्षेत्रमा फैलिएको क्यासिनो निर्माण अन्तिम चरणमा पुगेको छ ।
होटल पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब ३५० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध हुने अध्यक्ष पौडेलले बताए । ‘हामीले होटलमार्फत रोजगारीका नयाँ अवसर सिर्जना गर्दै स्थानीय युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा प्रशिक्षण दिने योजना बनाएका छौं,’ उनले भने ।
होटलको स्थान बुटवलको केन्द्रीय व्यावसायिक क्षेत्र सुख्खानगरमा रहेको छ । यहाँबाट नेपाल–भारत सीमा बेलहिया २८ किलोमिटर र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २५ किलोमिटर टाढा मात्र छ । होटलको अगाडि नै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल रहेकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनका लागि सहज पहुँच उपलब्ध भएको छ ।
पौडेलका अनुसार यो होटल केवल बसाइको गन्तव्य मात्र होइन, सम्मेलन, सेमिनार र विवाह समारोहदेखि व्यापारिक मेला सञ्चालनसम्मका लागि एउटा पूर्ण गन्तव्य हो ।
कोभिड अघि २०७७ सालमा होटल निर्माण सुरु गरिएको थियो । सुरुवाती योजना अनुसार २०७९ सालभित्रै सञ्चालन गर्ने तयारी थियो तर कोभिड–१९ महामारी र त्यसपछि सुस्त बनेको अर्थतन्त्रका कारण निर्माणमा ढिलाइ भयो र लगानी पनि त्यसै गरी थपियो ।
‘हामीले महामारीको चुनौती पार गर्दै पनि निर्माणलाई निरन्तरता दियौँ’ अध्यक्ष पौडेल भन्छन्, ‘आज यो होटल सञ्चालनमा आउनु देशकै निजी क्षेत्रको दृढ इच्छाशक्तिको प्रतीक हो ।’
होटल सुरु भएपछि यो क्षेत्रको पर्यटन क्षेत्रमा नयाँ उचाइ थपिएको छ । उद्योगीहरूले बुटवल–लुम्बिनी–तानसेन–पोखरा मार्गलाई दक्षिण एसियाको ‘गोल्डेन ट्रायाङ्गल टुरिज्म सर्किट’ बनाउन सकिने सम्भावना देखेका छन् ।
बुटवलबाट लुम्बिनी, रामग्राम, तिलौराकोट र पोखराजस्ता विश्वस्तरीय धार्मिक तथा प्राकृतिक गन्तव्य नजिकै छन् । यसले बुटवललाई ट्रान्जिट होइन, ‘स्टे डेस्टिनेशन’ बनाउन ठूलो भूमिका खेल्ने विश्वास पर्यटन व्यवसायीहरूको छ ।
पर्यटन व्यवसायी भन्छन्, ‘हायात प्यालेस सुरु हुनु बुटवलका सबै होटल व्यवसायीका लागि प्रेरणादायी कदम हो। यसले शहरलाई अन्तर्राष्ट्रिय मापदण्डको पर्यटन केन्द्रका रूपमा उभ्याउनेछ ।’
भारतीय पर्यटक लक्षित योजना
बुटवल भारतको उत्तर प्रदेशसँग नजिक रहेकोले यहाँ भारतीय पर्यटकहरूको आकर्षण बढ्दो छ । अध्यक्ष पौडेलले भने, ‘भारतको उत्तर प्रदेशमा करिब २४ करोड जनसंख्या छ। त्यसको केही प्रतिशत मात्र पर्यटकका रूपमा ल्याउन सकियो भने पनि नेपालको पर्यटन क्षेत्र धानिन्छ ।’ उनका अनुसार, धार्मिक, स्वास्थ्य तथा व्यावसायिक पर्यटनका लागि भारतबाट आउने पर्यटकलाई लक्षित गर्दै होटलले विशेष प्याकेज र सेवा योजना तयार गरेको छ ।
सञ्चालकका अनुसार राजधानी काठमाडौं बाहिर हायात प्यालेस बुटवललाई उत्कृष्ट होटलका रूपमा हेरिएको छ । लुम्बिनीको पवित्र भूमिबाट करिब ३० किलोमिटर दूरीमा रहेको यो होटलले अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सक्ने विश्वास राखिएको छ ।
होटल सुरु भएपछि बुटवल मात्र होइन, सम्पूर्ण लुम्बिनी प्रदेशले पर्यटन क्षेत्रको नयाँ दिशा पाएको छ। अन्तर्राष्ट्रिय ब्रान्ड हायातको व्यवस्थापनमा बुटवलको नाम विश्व नक्सामा थपिने निश्चित छ ।
साढे तीन अर्ब रुपैयाँको लगानीमा बनेको यो हायात प्यालेस बुटवल केवल एक होटल होइन— यो लुम्बिनी प्रदेशको पर्यटन र आर्थिक सम्भावनाको नयाँ संरचना हो ।
होटलका अध्यक्ष पौडेलले बजारमा यो होटलमा केही नेताको लगानी भएको हल्ला चलाउन थालिएको भन्दै यसमा दुई परिवार र बैंकबाहेक कसैको लगानी नभएको प्रष्ट पारेका छन् । ‘हामीले केही हल्ला पनि सुनेका छौं, यस्ता गलत हल्ला छिटो फैलिनसक्छन्, हामी यसमा पौडेल र मालपानी दुई परिवारको लगानी छ, बाँकी ग्लोबल बैंकको लगानी छ, अरू कोही नेताको लगानी छैन, भ्रममा कोही नपर्नुहोला, यस्ता गलत सूचनाले कसैलाई राम्रो गर्दैन ।’ उनले भनेका छन् । सञ्चालकहरूका अनुसार होटल हायातको ब्राण्डले नै यसलाई चलाउन सकिने आधार देखेको जनाएका छन् ।

Leave a Reply